Sunday, May 19, 2019

Aaushi ki Maaiju, Memoir from Mother's day 2019


औशीकी माइजु
माईजु ........माईली माईजु ..........
दर्शन गरे |
जबाफ नै नकुरी भान्जी बोलिरहिन, कस्तो हुनुहुन्छ ? मुख हेर्न आएकी |
खैरो भट्टमास जस्तो रंग भएको खुलामंच जत्रो निधार कतै तन्कियो र कतै खुम्चियो . पानी, हिउ झर्दै गर्दा खुलेको माछापुछ्रे जस्तै बाक्लो कपालसंगै चमक्क चम्कियो | तर एक्कैछिन |







स्यालको बिहे हुने झैँ उत्तिनखेरै नयनका डिलबाट अलिकति सिमसिमायो पनि |

खै सुधाले देखिन कि देखिनन् |उनीसंगै गएका ठाकू र अलिशाले के गरे तर मैले अनायासै हेरेको .. सेतो भुइमा जलकुम्भी झैँ फैलिएका, जेलिएका काला तान्त्रंगतुन्द्रुंग लहराहरुलाइ सेतै मलमलको खोल राखेको घलेकको छातिनेरको भाग पत्तै नपाई आए, हत्तपत्त, चोर्दै आखाका कोष ओभानो, जस्ताकोतस्तै बनाए र नेपथ्यमा हराए|
धेरै थाहा थिएन | थाहा यती मात्र थियो कि जन्मदातालाइ सम्झने दिबस थियो | मारवाडीको मात्रै देखेको थिए अलिक ब्यबस्थित मिठाई पसल | देखेका सबै कुरा न सधै सत्य हुन् सक्छन न सबै भीडहरुमा रमाउछन् | पोखराको गुरुंग लाठे सेनामा भर्ती त भएन भएन, बार र डिजेमा हैन रमाएको शुद शाहाकारी मिठाई पसलमा |
ओ माइ गड |

लेकसाइडमा फूड फेहर गरे जस्तो भीड | गहु गोरो एक अदबैस पुरुष सिडीमा बसेर मुस्कुराईरहेको छ अर्थात् भन्न खोजेको छ कतै आमालाई मुख हेर्न प्रसाद लान त बिर्सनु भएको छैन ?

हामी त जानै भनेर, खानै भनेर गएको, खोजी खोजी गएको | न मिठाई खान पाइयो न समोसा न चिया नै | भिर महले लठिए झैँ लठिएकि सुधाले न मह पाइन् न चिनी कि स्वाद |

उनी मेनु फेर्दै जान्छिन | गुरुङ साहुजी माफ माग्दै जान्छन | खाएर भ्याउने समय लाइनमा बसिन, फेरी खाएर भ्याउने समय टेबलमा बसिन तर कुपनको रोल नम्बर आउदै आएन  | क्षतिपूर्ति त पाइयो न हिजोलाइ काम लाग्यो न आजलाई | न चिया, न समोसा न  चर्पी केहि पनि थिएन बाकी |

मानिसहरु हतारमा थिए | एकदम हतारमा |सधै रित्तै वा एकादुई हुने ग्राहकलाई बोनस दिई दिई राख्ने पसल आज काउन्टर देखि मेंन रोडसम्म रानोलाई घेरे झैँ भुन भुनौउदै थिए |कोहि हेलमेटमा नै थिए कोहि ठुसुक्क थिए | कोहि गमक्क परेर टमक्क झोला कसेर हिडेका थिए |

मिठाईका शरीरभर नरिबल, काजु, सुकुमेल, ल्वांग, च्वास्सचुस्स, झ्वास्स्झुस्स खरबारीमा खर टुसाए झैँ देखिन्थे| फेरी राता, पहेला, हरिया, बैजनी रंगहरु फूलबारीका फुल झैँ प्रभुल्ल मुद्रामा पनि थिए |शुभकामनाका संदेश लेखिएका बाकस र खोल मिठाई भन्दा स्वादिला र स्वस्थ्य देखिन्थे |बाहिर माहोल एकदम रमाइलो थियो| चहलपहल थियो| केहि ठुलो उत्सबको सुबास मिल्थ्यो |


यो संसारलाई नै धान्ने, चन्द्रमा पुराउने होस् कि सगरमाथा टेक्ने होस्, मेडम क्युरी होस् कि माया अन्जालो वा जो सुकै होस् सबैलाई जन्माउने माध्यम महिनाबारी |जैबिक अनिबार्य शर्तको भाग पाएकी आमा |हरेक पल पुज्दा पनि कमी हुने आमालाइ वर्षमा एकदिन,एकछिन, एक मिनेट, एक कलमा टुंगो लगाईदिएको छ | तिर्ने नसकिने ऋण बोकेका छोराछोरीहरुले मिठाईका बाकस, कपडा र गहनाका पोका र पार्सलसंग बार्टर गरिरहेका छन् | यसैलाई भन्ने होला गोलाकार पृथ्बीमा हामी गतिशील ग्राहकहरु |

फगत ग्राहकहरु |

के ले मन पर्छ, के ले पर्दैन थाहा छैन | कहिले मन पर्छ कहिले मन पर्दैन, थाहा छैन | शुर र ताल परेका बेला मिठास लाग्ने संगीतहरु |त्यसैले त भेल उर्लन्छ अनि कवाप्प पार्छन, मधुमेह, उच्च रक्तचाप आदिका गोटीसंगै गुलिया, भुलिया मिठाईहरु |

सबैका आखाहरू जुधाउन नसके पनि मैले मनमनै पढे | पालैपालो पढे | महिला पुरुष| पुरुष पुरुष | महिला महिला |पुरुष महिला | लैंगिक अल्पसंख्यक छुटाउन गारो भो | सबै झन्डै उस्तै लाग्ने कुचो काटेका जस्ता| एकै नाशका|खुशी थिए| गौराबंधित थिए | आमाका सन्तानहरु |सन्तानका आमाहरु | जन्म दिने आमाहरु | कर्म दिने आमाहरु | जन्मन सहयोग गर्ने आमाहरु | पुरष आमाहरु |सबै सबै आमाहरु | बियासरी बिषहरु बिर्सने हो भने,झुक्किएर झंकार दिनेहरु, रंगमन्चमा रंगिएर ल्याइदिने आमाहरु घटाउएर, बाकी सबै आमाहरुलाई नमन छ |
सखारै, पहिलो हुने जुधाईमा ढोग गरेकी हुन् सुधाले |

भाग्यमानी भए नानी, धेरै बाचे, निरोगी भए, सुक सुकाउदै जबाफ मोबाइलको आवाज बाकसमा ठोकिएर हावाको झोक्कासंगै आएको स्पर्स गरेकी थिए मैले| सुधाका पनि परेली ओभाना रहेनन् | आकाशसंग गुहार माग्दै नरोए जस्तै गरेर बोलिन बिचरा माइली माइजु, कस्तो माया लाग्छ तर मेरो वशमा छैन |

बल्ल बल्ल ठाकू भाइ भेटिए | छोटो छ पोखरा र कर्मी डाँडाको बाटो |जम्माजम्मी  २५ किलोमिटर तर बाटो २५ से छैन| मुलबाटो छोडेपछि खाल्डाखुल्डी, उकालो ओरालो मारुती ट्याक्सीलाई सकस भयो |पैसाले हैन मायाले केहि आशाले ठाकू आए र ल्याए | आमाको मुखै नहेरी आए |पोखराको डेरा, रोगि आमा छोरा | बिहान बेलुकाको ठिमुराको जोहो गर्न सबेरै हिडेको | थाहा छैन | मेरो मर्म आमाले बुझ्छिन कि आशुमा छन् |उसको आफ्नै लामो फेहरिस्त छ |

काम थियो, गाडी पनि थिएन आउन सक्दिन कि भनेर फोन गरे तर मनले मानेन | अर्को बर्ष के हो, के हो भनेर हिडेको | फुर्सत नभएर ट्याक्सीमा नै खाएको म म पनि | तात्तातो चिकेन म म थालमा राख्दै स्पस्टिकरण दिईन सुधाले |अस्ति मात्र आएर गएका छोरा र तिमी, जति बसे पनि अघाइने हैन, सधै बस्न पाइने हैन, ........बोल्नै सकिनन् माइली माइजु | म मको डल्लो झन् गाठो पर्यो, किक्क किक्क आयो |

चर्किएको पिलो जस्तै हो, भल्किएको मन र अड्किएको गला | बिस्तारै फुकाएन भने बित्यास पार्छ |
ओ हो कति राम्रो बच्चा आमा यो | हसिलो, पोटिलो, सफिलो काखमा लिदै बाढी आउनबाट रोके |
रुन्चेबाट सन्चो हासोको फोहोरा फुट्यो | ज्ञानी छ बाबु यो नानी | अहिलेसम्म एउटा ठिमुरो पनि खुवाउन परो छैन | यो मात्रै हैन, कुनैलाइ पनि| हेलेन, रोशन, बबिता, साजन .....नाम लिदै गर्दा पल्लो घरको भुइँ तलबाट बच्चाहरु पालै पालो निस्कदै आए |शनिबारको दिन भएकोले भेटिएका नानीहरु |आउदै गर्दा नमस्ते मात्र गरेनन खुटा छोएर ढोग्ने हाउभाउमा आए तर छुन पाएनन् | जम्मा जम्मी ११ जना बच्चा त्यो पनि मगरका अर्थात् कुनै रगत वा कुल कतै नमिसिएका |

झट्ट हेर्दा ११-१२ बर्षको देखिने बाबुलाई देखाउदै माईली माईजु बोल्नु भयो - यो नानी दुइ महिनाको थियो यहाँ आउदा, एक महिनाको बच्चा रुखमा पछौराको झोलुग्गो बनाएर दाउरा खोज्न गएकी रहिछन यिनकी आमा | सामुदायिक बनको अनुगमनमा तिम्रा माईला बा जादा बच्चा रोएको सुनेर पछाउदै जादा यो परिबार भेटियो | यहि आए स-परिबार, बस्छन, खान्छन, मलाई पनि खुवाउछन, खेतीबारी कमाउछन्, पढ्न पनि टाठा छन् रे बाबु | भाग्यले पाएका |माईला बाका नासो |

फेरी अलिक भाबुक भईन माइली आमा | मलाई माइजु भन्न कस्तो कस्तो गारो भो, आमा भन्न सजिलो लाग्यो | आमा नै भने |

माइला बा सुधाको माईला मामा हुन् भने सुधाका श्रीमानको माईला बा हुन् | गुरुङहरुमा मामाचेलो, फुपु चेलोमा बिहे हुने हुदा नाता पनि सजिलो, माया पनि कसिलो, सम्पति पनि कहाँ पोखियो घ्यु, आफ्नै थालमा भने जस्तो | ठाकुले आउदै गर्दा भन्दै थिए, यस्तो चलन पनि पातलिदै छरे, गाउघरतिर घर र मान्छे पातलिए जस्तै |फाट्टफुट्ट घरहरु थिए, घरहरु चिटिक्क पारिएका थिए| रातो माटो र कमेरो जस्तै लाग्ने तर नजिकै गएर हेर्यो भने सेतो चुना र गेरु |मान्छेहरु दुबिधामा छ, छोड्न पनि सकेको छैन, समाउन पनि सकेको छैन | बिकाशको पनि सक्रमणकाल |ज्ञानको पनि संक्रमणकाल |

आमाले हामीलाई झन्डै ८ वर्ष जस्तो लाग्ने अनिशालाइ काखमा राख्दै भन्नु भयो - यसको बाबा प्रदेश गएको बेला आमा यिनी र यिनको दाजु छोडेर अर्को बिहे गर्यो, यिनीहरुकि ठूलीआमा सित खान्छन तर मसित बस्छन |आकाशतिर देखाउदै,माथि भगवानले पठाएका |

मायाले अनुहार पनि बनाउछ, जिनलाइ माथ गर्छ |ती बच्चाहरु केहि न केहि आमासंग मिल्छन | कसैको रंग मिल्छ, कसैको निधार, कसैसंग नाक| रगत र बिहेले हैन मान्छेलाई जोड्ने, माया र बिस्वाशले हो मनहरु जोड्ने, जसलाई महाभारतमा मित लगाउने भनिएको छ |

असि नाघेकी बिधवा आमाले मुतेले भिजेको सुरुवाल कुरा गर्दागर्दै सर्लक्क निकालेर कट्टू लगाइदिनु भो, अघि धेरै भयो भनेर राखेको मम र मिठाई सबैलाई बाड्नु भयो, मैले हेरिरहे र मनमनै सोधे -आमा साच्चिक्कै धेरै भएको थियो त ? जबाफ मैले नै दिए - थिएन, मायाले अड्काएको थियो, सिर्फ एकसरो मायाले |  

आफैले जन्माउन सकिनन् | बैसमा कति दुख भयो होला, कस कसले के के कुरा काटे होलान | त्यसको फेहरिस्त माइली आमा बाहेक कल्लाई थाहा होला र ?साथी संगीका बच्चा बोकेको पेट देख्दा होस् या छोराछोरी आगन भरि खेल्दा होस् बजारमा सजिएका बच्चाहरुका लुगा लत्ता वा खेलौना होस् माईली आमामा रहर टुसायो होला, सपना देखिन होला, भाकल गरिन होला, बैद्यलाई देखाए होलान, लुकिछिपी कालो बोको र रातो भाले चडाए होलान ? पल्टनमा माइला बाले को कोलाई सोधे होलान हिसाब किताब सबै न देखियो न देखाइयो |
यी दुबैको मातृत्व सधैब फुल्यो, फल्यो, झांगियो र झाँगिदै छ |

माइली आमा गौरबले बोल्नु भयो - नानी आज त राती देखि नै फोन बजेको बज्यै छ | अझै सचिनले गरेको छैन |सन्चो भएनछ कि -अलिकति उदास हुदै फेरी फुल्नु भयो |सबै भन्दा पहिले राधाले गरि अस्ट्रेलियाबाट, उज्यालो हुदै गर्दा काठमाडौँ,पोखराबाट, स्यांजा, बाग्लुंग, तनहु | केटाकेटीले जिस्काए पनि खाना खानै नपाएर .......
भोलिपर्सि हामी पनि बजुलाई फोन गर्ने हो, बजुको धेरै माया लाग्छ फुपु, अनिशा बिचमै बोली | म त सबैले भन्दा पहिले ढोग गर्ने हो, भिडियो कल गरेर मुख हेर्ने हो |गाउ गाउ भन्छन, मानिसहरु हेप्छन, हेला गर्छन तर गाउ स्वर्ग छ | प्रबिधि छ, प्रकृति छ, माया छ, सदभाब छ, सबथोक छ |

माइली आमा फेरी बोल्नु भयो -जब जब दिन ढल्दै गयो फोन आउने क्रम बढिरह्यो |बेलायत अनि अमेरिकाबाट |   
माईला बा बिते देखि म धेरै बस्दिन नानी यहाँ | कसो कसो बाको याद आउछ | काठमाडौँ भदैनी छ, गाली गर्छ, लिन आउछे | पोहोर पनि दुइ महिना बसेर आको अहिले पनि जाने हो | भदा भदैनीले प्यारो गर्छन, आफ्नै काखमा हुर्किए, पखेटा लागे कता कता पुगे |तिनकै मायाले बाचेको छु |यिनीहरु भुतुक्कै गर्छन, प्रदेश छन् भन्ने बितिक्कै, माया लाए पनि के गर्न सक्छन र ? यिनको पनि माया कम्ता लाग्दैन | फेरी भाबुक भईन आमा |

एकछिन अघि आउदा सुधाले माइला बाको देह त्याग गरेको ठाउँ देखाईएकि थिइन् | पोखरा गएर पेन्सन बुझेर, दुबैको वृद् भत्ता बुझ्न यो बाटो आउनु भएछ, यहि खोल्सो फड्कन्छु भन्दा लड्नु भएछ |अनि लडेको लड़यै हुनु भएछ |एक वर्ष अघिको हो यो कथा वा जिन्दगि | बिर्से जस्तै गर्नु पर्ने दुनियाको नियति | हामीलाई त सपना जस्तो लाग्छ उहालाई कस्तो लाग्दो हो, मेरा मनमा कुरा कुदिरहे|

माईली आमाले सुन्तला, जुनार, अम्बा भोगटे संग पनि प्रेम गर्न जानेकी | सुन्तला, जुनारसंग बसन्तको बतासले हामीलाई पनि मित र मोहनी लगाउदै थिए| माइली आमा घर वरपर सुरक्षा गार्ड झैँ उभिएका रुखहरु चिनाउदै थिइन् म भने आफै संग प्रश्न गरिरहेकी थिए | प्रश्न ......|

माइली आमा यो आमा भन्ने शब्द र नाता नहुदो हो त यो संसार नै निरस, नरमाइलो हुन्थ्यो | त्यही छ र त तिमी हासिरहेकी छौ, नाचिरहेकी छौ | माईला बा हुदा जस्तै, नहुदा नि उस्तै |सायद खुनसियौ होला यदि माइला बाका कारणले तिम्ले आफैले पेट बोक्न नपाएका कारण, छातीमा टासेर मुइ खान नपाएका कारण |यदि तिमीले त्यो अवसर पाएका भए तिम्रा माया यसरी संसार भरि इन्टरनेटसरी फैल्लन्थ्यो|आमा तिमी एकमुठी अभिजात मानिसहरुको हुलेले तिमीलाई महान छौ भनी दिन्थे, कविता लेखिदिन्थे, वा वा गरिदिन्थे तर तिमी स्वार्थी हुन्थ्यौ आमा | तिमी हरेक पटक संसारलाई हेरेर गर्ने निर्णय आफ्ना एक दुइ थान छोरा छोरीको मुख हेरेर दुनियाको घाटी च्याप्न परे पनि तिमी तयार हुन्थ्यौ आमा | स्वार्थी आमाहरु बहुमत छ, मलाई मौरीको गोलो झैँ खेडीन्छन आमा तर मैले उद्घोष गरिदिए कि तिमी जस्ता आमाहरुको माया र ममताले यो दुनिया हासेको छ आमा | पेटमा बोक्दैमा मातृत्व थाहा पाउने भए सौतेनी छोराछोरीहरु किन भेलिनथे आमा कर्णालीमा| नक्कली अनाथालायहरु किन जन्मिन्थे आमा, पशुपति, बुद्ध र मोहम्दका नाममा |

माइली आमा तिमी हरेक पल हेर्नु पर्ने आमा हौ | आमाको मुख हेर्ने औशी कुर्नु पर्दैन आमा तिम्रो मुहार हेर्नलाई | काठमाडौँमा भएका भए, दुइ चार aक्षर पढेकी भए तिमीलाई खादा ओडाउने को भीड हुन्थ्यो आमा | भीडहरुबाट निस्किएर हरेक दिन सम्झनामा तिम्रो मुख हेर्ने छु आमा| तिमी साच्चिक्कै प्रेरेणा खानी हौ, ममताकी मूल हौ मलाई पनि सिंचित गरिरहे |

ठाकुले चिचाउदै बोलाए अहिले ढिलो भयो भन्न पाइन्न है |   

मेरो जन्म दिने आमा बितेको दशक भयो तर मलाई बितेको जस्तो अनुभूति नै हुदैन | सायद आमाको सपनाको बाटोमा हिडेकोले होला |

मैले शिर निहुराएर बिदा मागे -उनै आमा बोलिरहन-आटे ताकेको पुगोस, कतै ठेस नलागोस, नाम चल्दै चल्दै जानु, धेरै किताब लेख्नु, मेरो आशिर्बाद छ नानी, छोरी |


   





World Social Forum 2024, Kathmandu- Dignified Menstruation: Decolonized Menstrual Movement and Reimagination of Feminism

 Inaugural Speech, 16 February, World Social Forum Dear Friends,