Thursday, November 28, 2019

Cat's Ear- Story


बिरालोको कान
खानै मान्दैनन बिरालोको कान |

तर पनि भान्सा उम्काउन पनि आफूले त मेसो गर्नेपर्यो नि | उनले नखाए पनि अरुले त खान्छन | हैन, खानै पर्यो नि ?


घर फकेपछी मैले बिरालोलाई नजिकबाट हेर्न खोजे | बिरालोको कान कसरी खाने होला ? यती सानो बिरालोको दुइ थान कानबाट ५-८ जनाको परिवारलाई तरकारी कसरी पुग्छ होला ? के एकभन्दा बढी बिरालोको कान पो काट्ने हो कि ? दुवै थान कानमा झोल हालेर मसलाको झोल झैँ सबैलाई पुराउने हो कि ? टौवाको भुइमा सुतिरहेको बिरालोलाई हेर्दै मेरो मनमा प्रश्नहरु साउनको नारायणीको भेल झैँ उर्लीरहे |

फेरी मनमा अर्को कौतलता आयो | बिरालो यती छुचो छ, नजिकै पर्दैन |पटक्कै नजिक पर्दैन | भागी रहन्छ | चोरेर खान पाए मात्र खुशी हुन्छ, दिएर खाने, नजिक आएर खेल्ने केहि पनि गर्दैन, त्यसको कान कसरी पाउने होला |हिडिरहेको, बलियो बिरालोको कान पाउन सकिन्छ त ? कि बिरालोको कान हामीले थुकले टासेर कागजको घडी नाडीमा टासे झैँ  टासेको पो हुन्छ कि |

मैले बिहानै नै सोध्नु पर्थ्यो, त्यही सोध्न सकिन अहिले यतिका प्रश्न र खुल्दुलीले आफुलाई नै थिचेर दिक्क लाग्यो |
बिहानै मैले आमालाई सोधे ?

आमा .....आमा... कुकुर बान्नु भएको छ ? तिर्खा लाग्यो, पानी खान आउछु है |
पानी खान खासै मन लागेको थिएन अर्थात् घाम चर्कदै थियो | उहाहरुको घरमा भोटे कुकुर थियो | कालो, मोटो भुत्ले कुकुर | उसको स्वर नै काफि थियो तर्सिन र तर्साउन | खोर भित्रबाट त सातो लिन्थ्यो भने बाहिरको के कुरा |
जबाफ कुरिन |

म आए है, कुकुर बान्नु | मलाई डर लाग्छ | पानी खाएर भागिहाल्छु | बाख्रा हेरिदिने कोहि छैन |
पानीको धारा पनि साह्रो थियो, दुइ तिन पटक घिचिक घिचिक गरेपछि मात्र तुरुक्क.. तुरुक्क पानी आउथ्यो | मलाई पानी खानु त बहाना मात्र न थियो |

मैले पानी खाएर फर्किहाल्ने प्रतिज्ञा गरे पनि प्रतिज्ञा पुरा नगरी घरतिर बिस्तारै केहि खोजेजस्तो, पर्खिएजस्तो गरेर उभिए |

आमाले भित्रबाट निस्कदै सोध्नु भयो - आज एक्लै आएकी ? मैले टाउको हल्लाएर छिटो हो भन्ने जबाफ दिदै अलिक हतार हतार र आतिएको भावमा सोधे आ...आमा तपाइँहरु बिरालोको कान कसरी खानु हुन्छ ? तपाईहरुलाई डर लाग्दैन ? बिरालोको कान काट्न ? के बिरालोको कान मिठो हुन्छ ? मैले एक्कैचोटि आकाशबाट मुशलधारे पानी बर्सिए झैँ बर्साईदिए |

आमाले केहि नबुझे झैँ मलाई एकोहोरो हेरिरहनु भयो ? सोध्नु भयो के भनेकी नानी, मैले त केहि बुझिन |फेरी भनत |

मैले लामो सास त फेरे तर धैर्यता गुमाइन | प्रश्न मिलाएर सोध्ने प्रयास गरे |
हिजो म यहाँ पानी खादा आउदा तपाई र कल्पनाको आमा कुरा गरिरहनु भएको थियो र भन्नु भएको थियो सरले त खानै मान्नु हुन्न बिरालाका कान |

अनारदाना झैँ लहर परेका दात दिल खोलेर देखाउदै आमा बेस्सरी हास्नु भयो| यती बिध्नै हास्नु भयो कि आखाबाट आशु तरर चुहियो, नथाहा पाउनेलाई बेस्सरी रोएजस्तो |उभिरहेको ठाउमा नै थचक्क बस्नु भयो, एकछिन बोल्नै सक्नु भएन, हसिलो, उज्यालो अनुहार अचानक निलो, कालो र आशुले पोतियो र म अपराधी झैँ उभिरहे | गल्ति पो गरेछु, सोध्नु हुदैनथ्यो कि भन्ने भावले म भित्रैभित्र अतालिए | भागु कि बसु, हगु कि मुतु जस्तो पो भो |

एकछिनपछी आमा बहुरिएर उठ्नु भयो, आगनको एक छेउ जहाँ राम्रोसित घाम लाग्थ्यो, त्यहाँ दुइतीन वटा गुन्द्री मिलाएर, फराकिलो पारेर मुलाका चाना सुकाईएको थियो, त्यही गएर, मुलाका चाना हातमा लिदै बोल्न थाल्नु भो | यी हेरत - यो चानापछी राम्रोसित सुकिसकेपछी चाउरिन्छ, बिचमा अलिकति कालो कालो पनि देखिन्छ, चाम्रो पनि हुन्छ त्यसैले तिम्रो सरले बिरालोको कान जस्तो लागेर घिन लागेर खान्न भन्नु हुन्छ | तर सधै तरकारी हुदैन, पैसाले पुराउन सकिदैन, भान्सेलाई त छाक टार्न हुन्छ भनेर बनाएको | सरलाई केहि छुटै तरकारी बनाएर हामीले त खान हुन्छ नि भनेर कुरा गरेको हो लाटी, झन्डै मरिन हासेर |

मैले विचार पो नगरेको पो रहेछु | हिउदमा सबैले तरकारी, अचार खाएर बाकि बसेको मुला जुनलाई रोप्न छुटै बारी पनि नचाहिने रहेछ, काटेर सुकाउने र हिउदमा खाने गर्नु हुदोरहेछ | हाम्रोमा पनि कति धेरै मुलाको चाना |माटोको घैटो, चुहिने कसौडी, कुनै हाबा नपस्ने, चिसो नपस्ने बट्टा वा झोला भरिभरि |

मलाई फेरी मुलाका चाना, काउलीका चाना परैबाट बसाउने, मिठो लाग्ने | बिहानको पढाई भएको बेला मुलाको चाना र आलुको झोलमा मोही हालेर खादा कति स्वादिलो, रसिलो हुन्छ भात | मलाई त दोस्रो दिन सुकाउदै गरेको चाना पनि मन पर्छ - चुइगम जस्तो लचक लचक अनि गुलियो पनि | ताजा भन्दा अर्कै गुलियो |
मैले मेरो घरमा पनि थाहा पाए कि प्रायशः चानाको तरकारी बिहान पाक्थ्यो अर्थात् बा नभएका बेला |दुध बेचेर फर्कदा झन्डै २-३ बज्ने र बालाई छुटै खाना पाक्ने हुनाले मैले थाहा नपाएको रहेछु | बास्तबमा मेरो बा पनि चाना खाने द्यंग पर्नु हुदोरहेनछ |

दाउरा घास गर्दै जादा थाहा लाग्दै गयो धेरै केटा मानिसहरु चानाको तरकारी नखाने वा रिसाउने वा जुठो मात्रै राखेर छोड्ने गर्दा रहेछन |बाउहरुको हुंकार देखेर साना छोराहरुले पनि चानाको तरकारी पकाएको बेला झगडा गर्ने, किचलो गर्ने, खाना नै नखाईदिने अवस्था घर घरमा पो रहेछ | कसै कसैको त यतिका कारण ठुलै झगडा पनि हुदो रहेछ |

समाजले केटीले कपाल पाल्नु पर्छ, केटाले काट्नु पर्छ, भनेर नियम बनाए जस्तै खानेकुरामा पनि भाग लगाएको रहेछ वा विभेद गरेको रहेछ | मलाई चित्त दुखेर आयो | फेरी पनि केटि मान्छे भएर जन्मेकोमा दिक्क मात्र लागेन पापी भएर पो जन्मेको जस्तो लाग्यो |


समय बित्दै गयो, मलाई नर्सिंग क्याम्पस पढ्ने शौभाग्य मिल्यो |मैले पोषण पाठ पढ्दै गर्दा पो थाहा पाए हाम्री आमाहरु, हजुरआमाहरु कति धेरै बैज्ञानिक, कतिधेरै बिबेकी | बेमौसमी तरकारीको स्वादका लागि, खडेरी परेर हरियो तरकारी उत्पादन गर्न नसक्ने अवस्थाका लागि, किनेर खानु पर्ने समस्या समधानका लागि चाना त उपहार नै रहेछ | खानेकुरा जोगाउने र भण्डारण गर्ने परम्परागत महत्वपूर्ण बिधि पो रहेछ | आमाहरुलाई, हजुरआमाहरुलाई कक्षा कोठाबाट मनमनै मैले शिर निहुराहे |

लिंगका आधारमा केटा र केटि विभेद गर्ने चलनले झट्ट हेर्दा महिलाहरुलाई सास्ती भएको, हेपेको जस्तो लागे पनि, हेपिए पनि  पुरुषहरुलाइ कति धेरै घाटा भएको रहेछ, पुरुषत्वको अहंकारले यो समाजलाई धमिराले खाए झैँ खाइरहेको रहेछ | पत्र पत्रमा, पलपलमा पुरुस्त्वले महिलालाई मात्रै हैन पुरुषहरुलाई घाटा परिरहेको छ |

      

#Election2026, Tangal, Handigaun, Mahendra Bhawan Sano Gaucharan, ward no 5, Election Observation, #NepalPolitics, #DignifiedMenstruation

Sudha Gurung and myself visisted three centers of ward no 5, Kathmandu Metro Municipality for election observation silently. We visisted elc...