सम्पूर्ण आदरणीय नेपाली आमाहरु, आमाको भूमिका निर्वाह गर्ने व्यक्तित्वहरुमा
सादर अभिवादन |
दशैँ, तिहार, छठ आए तर पहिले पहिले झैँ उर्जा दिएर, रिचार्ज गरेर जान सकेनन |
किन ?
मैले भनिरहन पर्दैन |
म जैविक आमा होइन | मेरो नजिकको बच्चा जेन जी आन्दोलनमा सहादत वा घाइते भएको
छैनन | त्यसो भन्दैमा सहादत/घाइते भएका, जेनजी छोराछोरीका बारेमा कुरै गर्न नपाउने
भन्ने हुँदैन | उन्नत लोकतन्त्रमा म जस्ता व्यक्तिहरुको लागि जति `स्थान’ हुन्
जरुरी छ त्यति नै `जिम्मेबारी’ लीन पनि आवश्यक ठान्दै, यो अपील अघि बढाउने अनुमति
माग्दछु |
किनभने,
अब यो देश बचाउन आमाहरुले मात्र सक्नुहुन्छ | मात्र तपाई आमाहरुले |
देश अहिले टाउको निस्कन पर्नेमा, हात निस्किएर लामो व्यथाले इन्तु न चिन्तु
परेकोजस्तो थलिएको छ | समयमा नै शल्यक्रिया गर्न सके आमा र बच्चा दुबैलाई बचाउन
सकिन्छ | शल्यक्रियाको प्रकृया शुरु गरिएन वा गर्न ढिलो गरियो भने केहि घन्टामा
आमा र बच्चा दुवै भन्न सकिन्न | यस्तो अबस्थामा श्रीमान, सासुससुरालाइ दोष लगाउने,
धामी झाक्री बोलाउने, बेथाले थिलथिलिएका आमा बच्चालाइ गाली गर्ने, बिगतमा भएका
मनमुटाबको फुर्को समातेर गाली गर्ने आदि गरेर समय खेरा फाल्नु भनेको बाँस पनि
नराख्नु, बासुरी पनि नबज्नु सरह हो | यस्तो अवस्था, तपाई, तपाइलाई माया गर्ने/तपाइले
माया गर्ने जो कोहिको पनि लक्ष्य होइन | हुनै सक्दैन |
त्यसो हो भने, दिनदिनै आइरहेका आन्दोलनका उर्दिहरु, हानथाप गर्दै आएका `कन्स्पेरेंसी
थियौरी’का आयाम, अल्गोरिदमले सिंचित गर्ने विषाक्त सोचका रिल वा सामाजिक संजालका
कन्टेन्टबाट तपाईका छोराछोरीलाई कोभिड महामारी भन्दा पनि छिटो सक्रमित भैरहेको
वर्तमान समयमा तपाईहरु उठ्नुपर्ने छ |
आमाहरु उठ्नुस |
उठ्नलाई तपाईले न कम्पुटर जान्नुपर्छ, न राजनीतिशास्त्र पढ्नुपर्छ | मात्र
तपाईहरुले आफ्नो घरमा आफ्ना सन्तानसंग संबाद अर्थात् कुरा गरे पुग्छ | कुरा गर्नुस
| तपाई कम्तीमा पनि दिनमा एक पटक आफ्ना
सन्तानसंग विधुतीय नै सही संवाद गर्नुस | संगै हुनुहुन्छ- धान काट्दै, मल छर्दै,
घाँस सोर्दै, जहाँ जहाँ हुनुहुन्छ, त्यहि त्यहीबाट कुरा गर्नुस | अपील गर्नुस |
आमाहरुको अपील र नेतृत्वले लाइबेरियामा १४ बर्ष लामो युद्ध अन्त्य मात्र भएन
सन् २०११ को नोबेल शान्ति पुरस्कार पनि प्राप्त गर्यो | दुई फरक धर्ममा संग्लन
महिलाहरुले एकबद्ध भएर आफ्ना श्रीमानहरुलाई `सेक्स स्ट्राइक’ वा `यौनसम्बन्ध
हड्ताल’ गरेर आफ्ना श्रीमानहरुलाई हतियार बिसाउन बाध्य पारे | बार्ता गराउन सफल भए
| चुनाव गराए र जीते पनि |
त्यसैले आमा, अब तपाईहरु रमिते बन्ने हैन | कसैको राजनीतिक रोटी सेक्न आफ्ना
सन्तानको बली दिने हैन |
धेरै पछाडी जानु पर्दैन | तपाईहरुले गएको आठ महिनामा को मर्यो, को घाइते भयो, कसको
स्वार्थ पुरा भयो, कसको इगोको जीत भयो, सबै देख्नुभएको छ | जसले जीते भने उनीहरुले
तपाईका काख रित्ताए, तपाईका आशुको होली खेले, तपाईका सन्तानलाइ अपाङ्ग बनाए |
तपाइले नुन, चीनी किन्दा तिरेको करबाट, तपाईका नातिनातिनाका लागि बनेका/बनाइएका
सम्पदा जलाए | उनीहरुले जीते भनिरहँदा तपाईहरुले हारिरहनु भयो | देशले हार्यो |
आमा! तपाइले भान्सामा पकाएको भात पाक्न पनि कति धेरै प्रकृया पुरा गर्नुपर्छ |
चामल, पानी, इन्धन, भाडो, पन्यु, ढकन, खाने मान्छे, तीनका भोक आदि |
आमा, तपाइले एक कक्षामा भर्ना भएको बिद्यार्थीलाई `क’ लेख्न सिकाउन कति संघर्ष
गर्नुपर्यो | चाहे तपाई शल्यक्रिया गर्ने डाक्टर वा पाइलट वा कलाकार वा साहित्यकार
वा जो कोहि भए पनि हरेक क्षेत्रमा प्रक्रिया हुन्छ|त्यो प्रक्रिया स्वीकार्नु
पर्छ| समय लाग्न सक्छ | कहिले सजिलै हुन्छ| कहिले दुख त कहिले ठिकै पनि | तपाई
मात्र वा तपाइको संस्था वा तपाईको साथी मात्र राम्रो हुँदैमा तपाई लक्ष्यमा
पुग्नसक्नु हुन्छ भन्ने हुँदैन | सोचेको जस्तै नतिजा प्राप्त गर्न सबै तारतम्य
मिल्न जरुरी छ | १० बर्ष लगाएर लेखेको संबिधान तपाई, म जस्ता केहि समुहको लागि
पूर्ण न्यायिक नभएतापनि धेरैका लागि अनुकुल थियो/छ | प्रतिकुलताहरु मिलाउदै जान
सकिने सम्भावना खुला छन्, समय पनि आउदै थियो | हतास नै हुने बेला भैसकेको थिएन
भन्दा पक्कै पनि रिसानी हुँदैन भन्ने बिश्वास गरेको छु |
हामी अरु कसैको लहै लहैमा लागेर हतास भयौ कि, प्रकिर्या नै बिर्सियौ वा नजर
अन्दाज गर्यौ वा अल्गोरिदमको दास भयौ | हामीले धैरता टुटायौ, आफ्नै घरभित्र,
आफैले, आफ्नै सन्तान जलाएर उत्सब मनायौ | तर यो उत्सब अस्थायी थियो र अहिले ग्लानी,
भय, अन्योलताले घोलिएको छ भन्ने मैले महसुस गरेको छु |
अब जे नहुनु थियो, भैसक्यो | अब चिहान नै सही, आफ्नो भएको त्यही नै छ,
त्यहीबाट उठ्यौ |सहादत प्राप्त गरेका, घाइते भएका, आन्दोलित भैरहेका सन्तानको सपना
साकार पार्न उठ्यौ |
बिन्ती, उठ्यौ आमाहरु |
हत्याको बदला हत्या नै हुन् सक्दैन | आखिर उनीहरु पनि कसैका सन्तान हुन् | ती
आमाहरु रुन हुन्न अब | ती हत्या, तोडफोड, आगजनी गर्नेहरुको एक- एक अनुसन्धान गर्दै
कानुनी दायारामा ल्याउन एक हुनुहोस आमाहरु | सरकारलाइ खबरदारी गर्नुहोस |त्यो
सम्पदा पनि तपाई जस्तै आमाहरुको पसिना र रगतले सिंचेको थियो अनि तपाईका सन्तानकै
औलाहरुले हाम्रा लागि बनाइएका थिए |
तपाईहरु बिभिन्न समूहहरु जस्तो महिला किसान समूह, महिला सहकारी, आमा समुह
आदिमा हुनुहुन्छ |अनि तपाईका सन्तान बिभिन्न राजनीति, ब्यबसाय, संघ संस्थामा
हुनुहुन्छ, उहाहरुलाई सुसुचित गराउनुस, खबरदारी गर्नुस- तपाइको सन्तान तपाई जस्तै
अर्को आमालाई रुवाउने सन्तान हुने छैनन | जुनसुकै पहिचान भए पनि तपाईका श्रीमान,
भाई-बहिनी, भतिजा-भतिजी कोहि पनि देशलाई हार्ने काममा सहभागी हुनबाट बचाउनुस | जो
जहाँ हुनुहुन्छ, जे जे गर्न सक्नु हुन्छ त्यहीबाट गरौ आमा | अहिले नै उठ्यौ |
आदरणीय आमाहरु,
तपाईहरु नालापानीमा लड्नु भएको थियो| योगमाया संगै लड्नु भएको थियो| तपाईहरु
२००७ साल वा ४६ साल वा ६२/६३ सालमा लड्नु भयो | अब तपाईहरुले आफ्नै नेतृत्वमा
घरदेखि सडक अनि संसदसम्म प्रश्नसंगै फेरि उठ्नु पर्नेछ | विना बिलम्ब उठ्नुपर्ने छ
|
तपाइ जन्मदै जन्मिएको दल वा नेता, टेलिभिजनको पर्दामा देखि देखि हुर्किएको
कलाकार, स्कुलदेखि नै पढ्दै आएको लेखक, मेरो जात, मेरो नाता आदि इत्यादीको नाम वा
बहानामा तपाइलाई गल्ती गर्ने छुट छैन आमाहरु |मैले भनिरहन पर्दैन | तर म के भन्न
सक्छु भने जति तपाईहरुको सन्तानको हत्या गर्ने
अपराधी हो त्यति नै निजी/सार्बजनिक सम्पति जलाउने पनि | यी दुई दिन, दुई
घटना जति फरक छन् त्यति नै अपराधिक पनि | तपाईहरुले कुनै, कसैको बहानामा चुनौती
दिनुहोस, अनुसन्धानका लागि खबरदारी गर्नुहोस अनि आफ्नै रगत वा दल वा पेशा आदिको भए
पनि कानुनी दायरामा ल्याउन नेतृत्व गर्नुहोस | कमर्चारी होस् वा नेता, रातारात धनी
भएको साक्षी हो तपाईहरु | भ्रष्टाचार गरेर ल्याएका एक एक सिक्का, सार्बजनिक गर्दै,
राष्ट्रियकरण गर्न तपाईहरुको नेतृत्व चाहिएको छ आमाहरु | नियम र कानुनलाई
लत्याउनेहरुलाई कत्लेआम गर्न सामर्थ र प्रमाण दुवै छ तपाईहरुसंग |
आमाहरु, तपाईहरुको घरमा समबेशिता, शान्ति र लोकतन्त्रको स्थापना गर्न उत्तम
बिकल्प उन्नत लोकतन्त्र हो जुन चुनाव विना सम्भब छैन | नयाँ राजनीतिक दल दर्ता
गर्ने भन्दा पनि तपाईहरुले बिश्वास गर्ने दलहरु सम्भबत सबै नै छन् होला | तिनै
दलहरुलाई रुपान्तरण गर्न, दलभित्रको लोकतन्त्र स्थापित गर्दै तेश्रो र चौथो तहको
नेताहरुको संयोजकत्वमा चुनावमा होमिन सहजीकरण गर्नुहोला|
आमाहरु, तपाईहरुले आफुलाई पनि प्रश्न गर्नुहोला | भाडामा मान्छे उतारेर,
बन्दुकको नाल तेर्स्याएर, धम्क्याएर, कसैको लाभको भर्यांग बनेर तपाईका सन्तानको
भविष्य र तपाई आफ्नै भविष्य सुन्दर बन्न सक्ला ? ऋण तिर्दीन, मान्छे मार्छु, जेल
जान्न, बलात्कार गर्न पाउनुपर्छ, बिद्यालय बन्द गर्न पाउनुपर्छ, बिद्यार्थी
आन्दोलनमा जान पाउनुपर्छ, आफ्नो भन्दा फरक नाक/आँखा भएकै कारण, फरक धर्म मानेकै कारण, फरक भूमिमा जन्मेका कारण, मान्छे
बन्न, नेपाली बन्न नपाउने अबस्थालाई टुलु टुलु हेरेर बसेर तपाईहरुका सन्तानको रगत
र ज्यानको मूल्य रहला ? के तिनीहरु पनि तपाई जस्तै आमाहरुका सन्तान होइनन र ? त्यसैले
आमाहरु घर-घरबाट, आमाहरुकै एक्लो र सिंगो ब्यानर `उन्नत लोकतन्त्र’ को अभियानमा
होमिन हार्दिक अपील गर्दछु |
(नोट: मलाई थाहा छ, धेरै आमाहरु यो अपीलको पहुचमा हुनुहुने छैन, सामाजिक संजाल मार्फत सम्पूर्ण आमाहरुकोमा पुराउन मद्दत गर्न पनि अपील गर्दछु |
यो लेख करीब एक महिना अघि कान्तिपुर पठाएको थिए, छापियो कि छापिएन थाहा छैन, तर मैले यहाँ टासे |)