Tuesday, May 16, 2023

Key note Speech_Festival for Alternative Ideas, Chitwan


चितौने कचहरी

१.    राम राम, प्रणाम, सलाम आलेखम, नमस्कार

२.   गुनासाहरुको बाबजुद पनि भिडभन्दा बाहिरको व्यक्ति बोलाइ साँचो  अर्थमा परिणाममुखी अबधारणा अबलम्बन गर्दै  बैकल्पिक बिचारको महोत्सवको आयोजना गरेर नेपाली साहित्याकाशमा पृथक बन्न सफल हुनुभएकोमा आयोजकलाइ बिशेष बधाई दिदै हार्दिक धन्यवाद र आभार |

३.   धनी र गरिब वा ऋणी र साहु बीच एक अर्कालाई भर दिए झैँ म मात्र आइन, तपाईहरु पनि भौतिक र विधुतीय माध्यम मार्फत ५२ बर्ष अघि (बिक्रम सम्बत २०२२) रामपुर चितवनमा आयोजित साहित्य सेमिनारको इतिहासमा अर्को इट थपेको यो सम्मानित `चित्तौन कचेहेरी’ मा आइदिनु भयो यहाहरुलाई बैकल्पिक नमन, आभार बढाई |

४.   चितवनको माटो जहाँ मैले पहिलोपटक रुने अहोभाग्य पाए त्यही माटोबाट करिब ६२ बर्ष लामो साहित्यको बिरासत बोकेको कला मन्दिरको यस पाबन प्राङ्गणबाट यो  एतिहसिक, सम्मानित कचेहेरिमा यो जिम्मेबारीमा उपस्थित हुँदै गर्दा जति गौरबान्दित छु त्यति नै दुबिधामा पनि परेको छु | के म साच्चिक्कै बैकल्पिक बिचारको हुलाकी हुँ ? पहरेदार  हुँ |

५.  बैकल्पिक बिचारको प्रवर्तक, वा माध्यम वा आब्हानकर्ता वा कुनै, केहि नामकरण गर्ने जिम्मा यहाँहरुलाई सुम्पिदै मेरो प्रस्तुति - विश्व नै एक गाउ बनिरहेको पृष्ठभूमिमा वा चितवन र बाँकि दुनियासँगको सम्बन्ध अनि खासगरी चित्तौनमा देखिरहेको परिबर्तनभित्र छुटाईएका, छुटेका, झिनो मसिनो ठानिएका, हेपिएका, सबालहरुलाई लिएर केहि किताब भन्दा बाहिर, गुगलमा नभेटिने,  मेरो आंशिक प्रश्नहरु र अपेक्षाहरु यहाहरुसंग साझा गर्न चाहन्छु | यदि कतै कसैलाई नराम्रो लाग्यो भने आयोजकलाई पृष्ठपोषण गर्नुहुन अनुरोध गर्दै अघि बढ्न अनुमति माग्दछु |

६.  इतिहासको कालखण्ड जस्तो प्रागएतिहसिक कालमा बिदेय राज्य, प्राचीनकालमा लिच्छवी वंशको अधिन, मध्यकालको पुर्बार्धमा तिरहुत राज्य, मध्यकालमा सेनबंशी राजाको अधिन, आधुनिक कालमा मर्ज्यांगपुर्, राणा शासनमा चिसापानीगढी हुँदै बिक्रम सम्बत २०१८ मा चितवनको नामकरण पाएको यो मातृभूमिमा शुरुवाती दिनदेखि नै सिमानाको पहरेदार,आजको चितवनको आधारशिला शदियौदेखि योगदान गरेका सम्पूर्ण थारुहरु, अग्रजहरु, अभियन्ताहरुलाई स्मरण गर्दै उच्च सम्मान प्रकट गर्दछु |  

७.  चितवनमा के छैन ? यो अवसरको शहर हो | कर्णाली र सुदूरपश्चिमको  आँखाले हेर्दा हो समृदिको मानक हो | कहिँ कतै यो देशकै राजधानी बन्ने सम्भावनाको शहर हो | यो अस्पतालहरुको शहर हो | यो नेपालमा एक सपनाको शहर हो |  यसमा खोट लगाउनु पर्ने नै केछ र किन छ ?

८.   हैन, यी गगनचुम्बी भवन भित्र सुशासन, समानता र सामाजिक न्याय बन्धक भएको छ | आम पिधका मान्छे उकुसमुकुसमा बाचिरहेका छन् | चिप्ला सलल बग्ने बाटोहरुमा न्याय किचिएको छ | मान्छे मान्छे भएर बाच्न पाउने हिसाबको बहिर्खाता मेटिएको छ | मानबता हरिएको छ | म, तपाई, हामी आम मान्छे अनि हरतरहले पिधमा पारिएका मान्छेहरुको मानब भएर बाच्न पाउने अधिकारको अडिट गर्न अपिल गरिरहेको छ यो प्रस्तुतिले | 

९.   अर्जुन गुनरत्नेका अनुसार १९ औ शताब्दीको शुरुका दशकमा झन्डै ९० प्रतिशत जनसंख्या भएको भूमिपुत्र थारु सन् १९५० मा आइपुग्दा उनीहरु सिमान्तिकृत मात्रै भएनन्, उनीहरुको जमिन, पर्यावरणीय ज्ञान, सिप पनि हराउन थालेको, हराएको हराएकै छ | हराउने क्रम बढिरहेकै छ | इतिहासका बिभिन्न चरण जस्तो जंगबहादुर राणाको मुलुकी एन, मलेरिया उन्मुलन, भूमण्डलीकरण, प्रबिधि, जलबायु परिबर्तनसंगै थारु समुदाय, यो स्थितिमा आइपुग्नुका कारणको जबाफ हामीसित छ त ? के हामी यो अवस्था ल्याईपुराउनका लागि परोक्ष/अपरोक्ष जिम्मेबार छौ ? के हामी अर्थपूर्ण तरिकाले आदिबासीहरुको मुलप्रबाहीकरण गर्न भोग चलन गर्दै आएको शक्ति र अवसरहरुको बैकल्पिक उपाय वा रुपान्तरण गर्न तयार छौ ?

१०.                 इसापुर्ब ७५० (सिताराम तामांग) तिर काठमाडौँ उपत्यकालाई माटोको भाडा बनाउन सिकाउने र नेवारहरुको व्यापारलाई तिरहुत, मंगत, कोषल, काशीसम्म विस्तार गर्न सहयोग गर्ने कुमाल, दराईहरु आज टर्च बालेर खोज्नु पर्ने अबस्थामा पुग्दा हामीले इतिहासबाट सिक्न किन बिलम्ब गर्ने ?   

११.                  हाम्रा चितवने बोटेहरु खै ? उनीहरुको पुस्तैनी पेशाका लागि अनुकुलित र बैकल्पिक बाताबरण खै ?

१२.                 पृथिबीनारायण शाहको पालादेखि पहिचान बनाईराख्न सफल चेपांग समुदाय, २०२६ सालमा भूमिहीन हुँदै २०३४ सालमा प्रजा मात्र बनेनन् उनीहरुको पेशा मात्र हैन जाती नै संकटमा परेको कुरा बिभिन्न अनुसन्धान साझी छन् | अझै इमान्दारीका साथ भन्ने हो भने उनीहरुको शसक्तिकरणका लागि आएका विकासका काम किन दिगो हुन् सकेनन, उनीहरुमा देखिरहेको आस्थाको  (christian-डी आर पोख्रेल) बिचलनको अन्तर्निहित कारण के होलान गम्भीरताका साथ घोत्लिन ढिलो भैसक्यो भन्ने लाग्छ |

१३.                 बिक्रम सम्बत २०१६ सालमा कलानाथ अधिकारीद्वारा लिखित जितिया पावनी’ प्रकाशित गरेको चितवनले रैथाने भाषा वा सस्कारको लेखन र प्रकाशनमा खरायो र कछुवाको दौडमा खरायोले थकाई मारेको घटना झैँ  भान हुन्छ | थारु, बोटे, चेपांग, गुरुङ, तामांग, मगर, सन्यासी आदि सिमान्तिकृत जातिको अल्पकालिन र दीर्घकालीन योजना सहित अध्ययन, अनुसन्धान र शसक्तिकरण गर्न स्थानीय सरकारले नेतृत्वदायी भूमिका सहित नागरिक समाज चुक्नु हुदैन भन्ने मेरो आग्रह हो |

१४.                 रास्ट्रिय निकुन्ज/मध्यवर्ती क्षेत्र वरपर बसोबास गर्ने बिसेषगरि आदिबासी तथा न्यून आर्थिक अवस्था भएका मानिसहरु आज पनि संजोगले बाचिरहेका छन् | उनीहरुको बाच्न पाउने अधिकारको आबाज राज्यले आलटाल गरिरहको अबस्था हाम्रासामु घाम झैँ छलंग छ | उनीहरुमा पर्यावरणीय बिचलन, राष्ट्रिय निकुन्ज र जलबायु परिबर्तनले परेको प्रभाबका दिर्घकालिन उपायहरुको खोजी र कार्यन्वयनमा तिब्रता ल्याउन, राजनीतिदलहरुलाई जबाफदेही बनाउन स्रस्टा र सिर्जनाले खबरदारी किन नगर्ने ?

१५.                 चितवनको लेखन यात्रा नै बिक्रम सम्बत २०१४ सालमा कृष्णबम मल्ल र जनकलाल शर्मा ले `राप्ती उपत्यका’  प्रकाशित गर्दै शुरु भएको पृष्ठभूमिमा चितवनले ५० वर्ष देखि रास्ट्रिय निकुन्ज/मध्यवर्ती क्षेत्र वरपर भएका समुदायलाई मात्र जिम्मेबारी ठानी ढुक्कले बस्नु म बसेको डुंगाको भाग ओभानो नै छ भन्ने भाब प्रतित हुन्छ भन्दा त्यती अतिशयोक्ति हुदैन होला | हुनत बिक्रम सम्बत २०४० मा प्रकाशित `सुकुम्बासी’शिर्षकमा लेखिएको लोक गीत, बिक्रम सम्बत २०६५ मा प्रकाशित `पाटेबाघको संरक्षण गरयौ’,  र बिक्रम सम्बत २०६८ मा प्रकाशित  `सेभ द राइनो’ जस्ता पुस्तकले राष्ट्रिय निकुन्ज र यसले प्रभावित पारेको समुदायलाई थोरै संकेत गरेको तर्क गर्न सकिएला तथापी यसले रास्ट्रिय निकुन्ज र मध्यवर्ती क्षेत्र वरपर बस्ने/रहने समुदायले दिनदिनै भोगिरहेको समस्या र त्यसको दिर्घकालिन प्रभाबका साथै  उनीहरुको बृहत्तर अधिकारलाई सम्बोधन गर्न सकेको छैन | आजको दिनमा झन्डै ३०० जनाको हाराहारीमा रहेका सक्रिय साहित्यकार तथा लेखकहरु भएको चितवनले रास्ट्रिय निकुन्ज र मध्यवर्ती क्षेत्र वरपर भएका समुदायको मात्र जिम्मेबारी ठानेर ढोका ढक्पाएर बस्न मिल्ला र ?

१६.                 पर्यावरण र जलवायु परिबर्तनको असर न, ढक्पाएको ढोका न तेल हालेको कानले रोक्न/छेक्न सक्छ न  कुनै पद वा धन राशीले | धनी मुलुकहरुको अत्यधिक प्राकृतिक स्रोत दोहन र उधोगिकरण कारण आज चितवनको तापक्रम हाम्रै आधा शताब्दीको जिबनकालमा सहन हम्मे हम्मे परिरहेको परिबेशमा रास्ट्रिय निकुन्जको अंगालोमा रहेका स्रस्टाहरुले चुप लागेर बस्न सुहाउदैन | दुइ हप्ता अघि मात्रै प्रकाशित पुस्तक `नुन र तेल’ जलबायु परिबर्तनको असरलाई उजागर गरेर मुटु नै चस्काउने पुस्तक हो | तथापी कथा, कविता, उपन्यास, निबन्ध आदिमा अक्षरहरुलाइ मात्र संयोजन गरेर जलबायु परिबर्तनको असरलाई सम्बोधन गर्न सकिदैन तसर्थ साहित्यकर्मीहरुले लेख्नु, बोल्नुका साथै हरपल, हरक्षण, निजि र सार्बजनिक जिबनमा नमुना भएर देखाउन सक्नुपर्छ | राज्य तथा सरोकारवालाहरुलाई खबरदारी गरिरहनु पर्छ | चित्तौन कचेहेरीले प्लास्टिकरहित फेल्क्स ब्यानरको प्रयोग नगरी अलिकति महँगो नै भए पनि कपडाको त्यो पनि कम संख्यामा ब्यानर प्रयोग गरेर राम्रो उदाहरण प्रस्तुत गरेको छ | यसका लागि आयोजकलाई धन्यबाद छ | यसको सिको गर्ने प्रेरेणा र साहस यहाहरु सबैलाई मिलोस | 

१७.                मलाई कहिलेकाही, हामीले आफ्नो खुट्टामा आफैले बन्चरो त हानिरहेका छैनौ भन्ने प्रश्नले सताउछ ? पछिल्लो जनगणना अनुसार १० बर्ष देखि ४९ बर्ष समुहका महिलाहरुको संख्या २४६,३३६ (दुइ लाख, छयालीस हजार तिन सय छतीस छ ) | यो समुह महिनावारी हुने उमेर हो | अहिले बजारमा पाइने वा विद्यालय मार्फत स्थानीय सरकारले बितरण गर्ने महिनावारी प्याडमा दर्जन भन्दा बढी क्यान्सरजन्य रासायनिक पदार्थ राखिएको हुन्छ,| जलायो भने प्लास्टिकबाट सबैभन्दा खराब धुँवा निकाल्छ, पानीमा फाल्यो पानी नै प्रदुषण गर्छ, माटोमा गाड्यो वा जंगलमा फाल्यो भने कुहिनको लागि कम्तिमा पनि २०० -१००० बर्ष लाग्छ | पर्यावरण, जलबायु न्याय र स्वस्थ अधिकारलाइ गम्भीर असर पार्ने सबालमा स्थानीय सरकारलाई खबरदारी गर्न कसैको आदेश कुरिरहनु पर्छ र ? चितवनमा  केरा खेती सफल खेती मानिन्छ केराको बोटबाट जैविक महिनावारी प्याड बनाउन सके एउटा ढुंगोले धेरै चरा उडाए झैँ पर्यावरण, जलबायु न्याय, स्वस्थ, रोजगारको अधिकार प्राप्तिमा सहजीकरण गर्न सकिदैन र ?

१८.                 चितवनले बिक्रम सम्बत २०१२/२०१३ देखि नै छिमेकी जिल्लाहरु तथा चितवन भित्रैकै  प्राकृतिक प्रकोपबाट विस्तापितहरुलाई आश्रय दिइरहेको सत्य जगजाहेर नै छ | यसका अतिरिक्त अब्यबस्थित शहरीकरण, जग्गाको खण्डीकरण, जथाभाबी प्लास्टिक र विषादीको प्रयोग, नदीको दोहन आदि मानब निर्मित समस्याले चितवन दिन दुगुना रात चौगुनाको दरमा प्रदुषित हुदैछ | यी समस्याहरु सर्जकका बिषय नहोलान, ठिकै छ तर आफ्नो सन्तान दरसन्तानको बाच्न पाउने अधिकार ठुलो धनराशीले सुनिश्चित होला र ? प्रकृतिको संरक्षण र बैज्ञानिक उपयोग गर्दै यसको अभियान छेड्न `कोलोनाइज्ड् माइन्ड सेट ’ र `कम्फर्ट जोन’ बाट बाहिर आउनै पर्छ | साउनमा हरियो बस्त्र लगाएर, कंक्रिटका रुखमा रंग पोतेर बाताबरण संरक्षणका पक्षमा उभिन्छु भन्नु आफु अडेको हाँगो आफैले काट्नु सरह हो |

१९.                 सिर्जना पैदा गर्नु आफैमा अभियानको बिगुल फुक्नु हो | समाज रुपान्तरणमा महत्वपूर्ण योगदान गर्नु हो | विशेषगरी समाजका बेथिति, अन्याय, पिधमा परेको/पारिएको समुदायको कितामा उभिनु हो | सिर्जना र स्रस्टा समाजको भित्रि र बाहिरी दुवैको प्रतिनिधित्व गर्नसक्ने सस्था हुन् | समाजलाई अग्रगमनको बाटोमा गति दिन बिसम परिस्थिहरुमा पनि  सिर्जना र स्रस्टाहरुले डोराएको इतिहास छ र त्यहि अपेक्षा गर्नु महत्वाकांक्षी बन्नु होईन भन्ने मेरो बिश्वाश  हो  |

२०.                 राज्यको स्रोत र साधनमा अधिक पहुच तथा आदिपत्य रहेको समुदायसंग धर्म र भाषा एकै भएर पनि पिधमा परेको समुदाय दलित समुदाय जुन चितवनको माटोमा करिब ९ % (२०६८) हिस्सा ओगटेको छ | बर्ण व्यवस्थाका सूत्राधारहरुले तोकिदिएको सहिंताका आधारमा उनीहरु शक्ति, शासन, र समानता बाहिर छन् | अपबदामा बाहेक आफैले सिर्जना  गरेका कला, गला, र समृद्धिबाट आफै बन्चितिमा परेका छन् अनि विभेद, हिंसा, बलात्कार, हत्या, गरिबीका पर्याय बनेका छन् | लाग्छ यो समुदाय सयौ बर्षदेखी एक्लै लडिरहेको छ | मानसिक रुपले हरपल मरेको छ | यस्ता व्यक्ति र समुदायको कथा, व्यथा, संघर्ष, फाटफुट्ट बाहेक कसैको सिर्जनाको बिषय बन्दैनन | मान्छेलाई मान्छे बन्न नदिने यस्तो संस्कार र विधि वा पद्दति बिरुद लेख्न र बोल्न नसके के स्रस्टा, के सिर्जना जस्तो लाग्छ | अब सिर्जनाले दलित उत्थान र सशक्तिकरण गर्न समस्याको उजागार भन्दा पनि अग्रगमनको अभियानमा हरेक दृस्टीकोणले साथ दिन कसैको मुख ताक्नु हुँदैन |

२१.                 आजको दिनमा आएर पनि दलितले प्रेम गर्न, डेरा खोज्न, पानीको धारा छुन, मन्दिर छिर्न, काजक्रिया गर्न पाएनन् भनेर समाचार पढदा लाजले पनि लजाउछ | नेपालको कुल जनसंख्याको करिब १३ प्रतिशत दलितको जनसंख्या छ जहाँ सबै भन्दा धेरै विभेद र हिंसा हुन्छ, जसले सबैभन्दा धेरै औपचारिक र अनौपचारीक न्याय पाउदैनन, जो पिधको पनि पिधमा छ, जलबायु परिबर्तन, पितृसत्ताको शिकार हुन्छ | के तपाई, म गैर-दलितमा जन्म लिन पाउ भनेर छनोट गरेर जन्मिएको हो ? हैन | तसर्थ  यो एतिहसिक र सम्मानित चितौन कचेहेरीलाई साझी राखेर म प्राज्ञहरु, धार्मिक गुरुहरु, सर्जकहरुलाई अपिल गर्न चाहन्छु –तपाईहरु यी विभेद र हिंसा बिरुद सबै भन्दा पहिले बोलिदिनुस/लेखिदिनुस, अनि हाम्रा पुराणहरु पुनलेखन गर्न नेतृत्व गरिदिनुस |        

२२.                पितृसत्ता  कहाँ सुनिदैन ? रेडियो सुन्यो पितृसत्ता, किताब पढ्यो पितृसत्ता, नेताको भासन सुन्न गयो पितृसत्ता | विश्व बिद्यालयमा पितृसत्ता | विज्ञहरुका अनुसार नेपालको हकमा ४००० बर्ष अघि पितृसत्ताको थालनी भएको हो भन्ने कुरा सत्य मान्ने हो भने लोकतन्त वा स्वतन्त्रता वा मर्यादा वा मानब अधिकार जे भने पनि, जसरी भनेपनि पाठेघर लिएर जन्मिएका व्यक्तिहरुलाई पिधमा पुराएको छ पितृसत्ताले | पाठेघर लिएर जन्मिएका व्यक्ति भन्नाले किशोरी, महिला, ट्रान्सम्यान , क्किर पर्छन | उनीहरु अपांगता भएका पनि हुन् सक्छन महामारीमा पनि हुनसक्छन बाढी, पहिरो आदि गएका बेला हुनसक्छन | दलित जनजाती, आदिबासी पनि हुनसक्छन | अनि जलबायु परिबर्तन वा प्रविधिको शिकार पनि हुन् सक्छन | एक मिनेटमात्रै त्यो समुदाय भएर कल्पना गर्नु भएको छ कहिल्यै ? छैन भने अहिले नै सोच्नुहोस |

२३.                 परिणाम देखिनु पुर्ब छाम्न नमिल्ने, देख्न नमिल्ने पितृसत्तालाई कतिन्जेल दोष लगाएर उम्कने हो हामीहरु ? यसलाई छाम्न मिल्ने, देख्न मिल्ने गरी पुन परिभाषित गर्न ढिलो भएको छ भन्ने लाग्छ | पितृसत्ताले लैगिक विभेद निर्माण भनिरहेको हाम्रो मस्तिष्कलाई बैकल्पिक विचार सिकाउनु छ | पितृसत्ताको निर्माण र सामाजिकीकरण देखिने र नदेखिने गरि हामीहरुको मन मनमा रहेको महिनावारीप्रतिको विभेदित सोच र धारणाका कारणले हो भनेर बुझ्नु र बुझाउनु छ | महिनावारी विभेद लैगिक हिंसाको स्वरूप, मानब अधिकारको हनन अनि झन्डै दर्जन भन्दा बढी संविधान प्रदत मौलिक अधिकार हनन गरिरहेको तथ्य हाम्रो सामु प्रमाण हुँदा हुँदै पाठेघर लिएर जन्मिएकाहरु माथि हुने हिंसाहरुको एक कारण र प्रभाब हो भनेर वकालत गर्न किन हिच्किचाउनु पर्छ र ? रोग लाग्नु भन्दा रोग लाग्न नदिनु नै उत्तम उपाय हो भन्ने जान्दाजान्दै पनि यौनिक र लैगिक हिंसाहरुको मूल कारण महिनावारी विभेदको चट्टान फोड्न किन मौनता ? कतै तपाई आफै जन्मिएको रगतप्रति अनादर त गरिरहनु भएको छैन |

२४.                पछिल्लो जनगणनामा  चितवनको जनसंख्यामा ०-१९ बर्षको उमेरका छोरीहरुको संख्या छोराहरुको भन्दा कम छ | शिक्षित र शहरी क्षेत्रमा यसरी छोरीहरुको संख्या कम हुनुमा लिंग पहिचान गरेर भ्रुण हत्या गरिएको कारणले गर्दा पनि हो | गर्भ भित्र र बाहिर छोरीहरुलाई हेला, होचो किन गरिन्छ ? समानताका सिर्जना गर्दै गर्दा नारायणी नदि झैँ गहिरिएर कहिल्यै सोच्नु भएको छ ? छैन भने आउनुस संगै सोचम- छोरीहरु महिनावारी हुन्छन, अशुद्द हुन्छन, कमजोरी छन्, फोहोरी हुन्, निम्सरा हुन्छन भन्ने मनोविज्ञान र सामाजिकीकरण भएका कारण यस्तो हुन् गएको हो | महिलाहरुले समान कामको, समान ज्याला नपाउनुको  एक  मुख्य कारण पनि यहि नै हो | चाहे त्यो धनी देशकै सन्दर्भमा किन नहोस | गर्भमा आएदेखि मृत्यु प्रयन्त पाठेघर लिएर जन्मिएकाहरुको अस्तित्व पाठेघर हुने र नहुने, दुबैले नस्वीकार्नुको अन्तर्निहित कारण र मनोविज्ञान नै पाठेघर हुनु वा महिनावारी हुनु हो | पाठेघर लिएर जन्मिएका व्यक्तिहरु बिना हामीले कुनै पनि क्षेत्र वा दुनियाको परिकल्पना पनि गर्न नसकिने भएकोले वर्तमान शक्ति असन्तुलन र पितृसत्ताको जग फोर्नलाई तपाईहरु सबैको मन मनमा, घरघरमा अभ्यासमा रहेको महिनावारी हुनेहरु माथि जिन्दगीभर प्रणालीगत र लाक्षणिक रुपमा गरिने  महिनावारी विभेदको विरुदमा हाम्रा सर्जकका कलमहरु बिना शर्त कुद्नु जरुरी छ | चितवनका स्कुलका भिता भित्तामा महिनावारीको रगत शुद्द हो र यहि रगतले यो जगत अस्तित्वमा छ भन्ने जस्ता सन्देशहरु लेखिनु पर्छ | तब मात्र चितवन सामाजिक न्यायको कित्तामा उभिन लायक हुन्छ | महिनावारी विभेदको समुल अन्त्य गर्नु नै मर्यादित महिनावारी अबधारणाले देखेको दुरदृस्टी हो | यो अबधारणा करिब ७ दशक लामो मानब अधिकार, विकासबाद र नारिबादमा नविनतम वा बैकल्पिक अबधारणा हो जुन सन् २०१९ देखि बिधिबत रुपमा विश्व यात्रामा निस्केको छ | यो अबधारणाको संस्थापक नै चितवनको माटोको भएकोले स्रस्टाहरुले मर्यादित महिनावारी मैत्री चितवनका लागि हात कमाउनु भनेको पुर्बग्राही हुनु हो भन्ने लाग्छ  |

२५.                आज म, मेरो ३ बर्ष अघिको व्यक्तिगत घटनाको खुलासा गर्दैछु | मेरो घर भरतपुर महानगरपालिकाको वडा न ८,गौरीगन्ज भन्ने ठाउमा  , यहाबाट करिब ४ किलोमिटर दक्षिणमा पर्छ तर मैले मेरो ८४ बर्षको बालाई ३ बर्ष देखि भेटेको छैन | म राजनैतिक, सामाजिक, प्राज्ञिक दृष्टिकोणले प्रबुद व्यक्तिहरुले घेरिएको थिए /छु अर्थात् मेरा इस्टमित्र, छिमेकी र साथीसंगी सार्बजनिक छबी कमाएका व्यक्तिहरु थिए | जब मैले छोरा सरह छोरीले अंश पाउनुपर्छ भन्ने प्रस्ताब राखे म अधिकारको नाममा घर बिगार्ने छोरी भए, अपराधी भए, मानब अधिकारको हनन गर्ने पतित सन्तान भए | मेरो परिवार मैले समान अंश पाउनु पर्छ भन्ने पक्ष , र बिहे नगरेकोले एक मुखको लागि समान अंश पाउन हुदैन भनेर विपक्ष, वा दुइ कित्तामा विभाजित भयो | म हिलोमा फक्रेको कमल हैन नाक थुन्न पर्ने, थुक्न लायक हिलो भए | मलाई ठिक गरिस भन्ने भन्दा बेठिक गरिस मात्रै भनेनन् हरेक तहले बहिष्करणमा पारे |

२६.                यो घटना समुन्द्रमा जमेको बरफको टुप्पो मात्र हो | मेरो त यो हालत छ भने अरुहरुको कस्तो होला सहजै जो कोहिले अनुमान गर्न सक्नु हुन्छ  | श्रोतादीर्घामा रहनु भएका पुरुषहरु यदि तपाई आफ्ना छोरीहरुलाई छोरा सरह समान अवसर दिएर हुर्काउनु हुदैन, आफ्ना बहिनि दिदिहरुलाई असमान ब्यबहार गरेको टुलुटुलु हेरेर बस्नुहुन्छ, दिदी बहिनीहरुलाई अंश दिने बेलामा के गर्ने बृद्ध आमाबाको कुरो काट्न सकिएन भन्नु हुन्छ, महिलाहरु, तपाईहरु  आफ्नो अधिकारको लागि भैहाल्यो, किन चित्त दुखाउने भन्ने सोच्नुहुन्छ भने तपाईहरुलाई मेरो कुरा सुन्ने हक पनि छैन | संविधानमा लेखिएका अक्षरहरुलाई न्यायको अनुभूतिमा बदल्न तपाई हरेक व्यक्ति मर्यादित बाताबरण सिर्जना गर्न र गराउन जिम्मेबार हुनुहुन्छ | यति गर्न यदि तपाई चुक्नु भएको छ भने कृपया नारी पिडा, कुरीति, नारीको आबाज, आक्रोश, महिला शसक्तिकरण आदि नामका कथा, कविता, उपन्यास, गीत आदि लेखेर हामीलाई नझुक्काउनुस |

२७.                विश्व बिद्यालय वा प्राज्ञिक क्षेत्रमा मानब अधिकारको वकालत गर्दै सर्भाइभर नेता हुन्, प्रेरेणाका स्रोत हुन्, उनीहरु केन्द्रित न्याय प्रणाली अबलम्बन गर्नुपर्छ भनेर पढ़ाउदैमा, कार्यपत्र लेख्दैमा सामाजिक न्याय स्थापित हुदैन | मैले आज सोध्नै पर्छ – लेखक तथा साहित्यकार सरिता तिवारीले मलाई यौन हिंसा भयो भनेर सामाजिक संजालमा सार्बजनिक  गर्दैगर्दा एक सहकार्य गरिरहेको स्रस्टाका नाताले चितवनको बौद्धिक बर्ग वा सर्जकहरु कस कसले सरितालाई बिस्वाश गर्नुभयो ? अनुसन्धान र बार्तामा कस कसले सघाउनु भयो ? तपाईहरु आफैलाई पछाडी फर्केर सोध्नुहोस –को को कलमको निम फुकालेर बस्नुभयो वा इन्टरनेट डीसकनेक्ट गरेर वा कतै त्यो नै त्यस्तै हो भनेर कुरा काटेर बस्नुभयो | चितवन यसरी, बेला बेला चुक्छ | आधा भन्दा बढी जनसंख्या भएको समुहको लागि मौनता साध्छ | त्यतिखेर मेरो चितवन बासी हुनुको साख झुक्यो | तर त्यो साख झुकिरहेन, उठ्यो | केहि आशा र आत्म बिस्वाश लिएर उठ्यो | आज यो सम्मानित चितौन कचेहेरीको निर्देशकको रुपमा सरिता तिवारीलाई नेतृत्व सुम्प्यो | सर्भाइभरलाई बिस्वाश गर्यौ | प्रिय आयोजक, तपाइले यो बिश्वास सधै सधै जोगाएर राख्नु शुभकामना छ |  

२८.                यहाँ राधा, सरिता वा अन्य सेलीब्रेटीसंग जोडिएका हिंसाका घटना  प्रतिनिधि पात्र मात्र हुन् | अन्याय, अपराध  जो सुकैले गरोस त्यसमा नाता, माया वा प्रतिष्ठा वा विचारको लेपन लगाएर छोपिनु हुदैन | सार्वजनिकरुपमा जिएर यदि तपाई यसरी छोपिरहनु हुन्छ वा छोप्न उद्दत हुनुहुन्छ भने तपाइ मतियार हुनुहुन्छ वा तपाइले पनि त्यस्तो अपराध  गर्नु भएको छ भनेर  बुझ्दा तपाई माथि अन्याय गरेको हुँदैन भन्ने मेरो दाबी छ |   

२९.                यसरी पाठेघर लिएर जन्मिएकाहरु, घर, स्कुल, पार्क, यातायात, बिश्व बिद्यालय, अनौपचारीक क्षेत्र वा कुनै पनि कार्यक्षेत्र, कहिँ कतै पनि सुरक्षित छैनन् | मर्यादित जिबन जिउन पाएका छैनन् | यस्तो किन भैरहेको छ ? अझै हाम्रो सबै भन्दा सुरक्षित  र मर्यादित हुनुपर्ने घर किन असुरक्षित र अमर्यादित छ ? राष्ट्रिय महिला आयोगको सन् २०२० को तथ्यांक अनुसार घरमा किन  ९३% हिंसा मा, ८३ प्रतिशत परिवारकै पुरुष सदस्य वा परिवार जस्तै बिस्वाश गरेको पुरुष व्यक्तिले गर्छ | के यी तथ्यांक तपाईहरुलाई झुटो लाग्छ ? मजाक लाग्छ ?

३०.                 हैन भने तपाईहरु सर्भाइभरलाई किन बिस्वाश गर्नु हुदैन |  सर्भाइभरको मनोबल उच्च राख्ने बाताबरण किन सिर्जना गर्नुहुदैन | न्यायको लागि तपाइले अगुवाई गर्न किन चुक्नु हुन्छ ? कि तपाईहरु सर्भाइभरले आत्महत्या गरुन, बिभिन्न बहानामा आत्मसमर्पण गरुन, बयान फेरुन भन्ने सोच्नु हुन्छ ? सुन्दा नमिठो लाग्न सक्छ तर सर्जकहरुले सोच र भाष्य फेर्न अत्याबश्यक भैसकेको छ | सर्जकहरुको मौनताले धेरै अर्थ बोकेको हुन्छ | समय बदलिएको छ बैकल्पिक इतिहासहरु लेख्न थालिसकिएको यो परिबेशमा, तपाइलाई क्षम्य हुने छैन भन्ने भद्र स्मरण गराउन चाहन्छु |

३१.                 यदि तपाइले सर्भाइभरको पक्षमा केहि कोरिदिएको/सोचिदिएको भए चितवनमा ५१ % जनसंख्या रहेको महिलाहरुमा करीब २२ प्रतिशत नारी हस्ताक्षरमा सिमित हुदैनथ्यो होला (चितवन दर्पण,२०७८ बि स) भन्ने लाग्छ तर यो एक उदाहरण मात्र हो | महिलाहरुको उपस्थिति निर्णायक तहमा सबै क्षेत्रमा उस्तै उस्तै छ | politically compromised गरिएर निर्णयाक पदमा पुगेका महिलाहरुले पिधमा परेका/पारिएका महिलाहरुको उत्थानमा खास अर्थ नराखेको राष्ट्रिय स्तरमा नै देखिएको तितो यथार्थ हामी सबैलाई बिधितै छ | जसरी जहाँ जहाँ तपाई पाठेघर लिएर जन्मिएकाहरु बिना यो समाज कल्पना पनि गर्न सक्नुहुन्न त्यहाँ त्यहा उनीहरुको निर्णायक सहभागिता अपरिहार्य छ | जसका लागि सिर्जनाहरुले हस्तक्षेपकारी निर्णयका लागि बिगुल फुक्नु पर्छ |   

३२.                 बिक्रम सम्बत २००७ देखि चितवनको राजनीतिले रास्ट्रिय राजनीतिमा प्रभाब राख्थ्यो र राखिरहेको छ तथापी पिधमा पारिएका बर्ग, लिंग, समुदायका लागि भनाइ र गराईमा आकाश जमिनको खाडल छ | राजनैतिक संरक्षणको पराकाष्ठ अगणित छ | पिधका मानिसहरुलाई खोज्दै खोज्दै आउनुपर्ने लोकतन्त्रको विकास कुनै नेताको पुच्छर समाएर दर्जनौ फोन, भेटघाट र केहि भेटि चढाएपछी वा पहुँचवालाको लागि मात्र भएको छ | प्रमाणहरुले चितवन उच्च जातीय पुरुषहरुको, झुण्डको वरपर बाद र बिचारको सिन्डिकेट बनाएर जम्न चाहन्छ | पितृसत्ताको चुरो फुटाउन लागिपरेका, फरक विचार र चिन्तन अबलम्बन गरेको व्यक्ति बिशेष गरी महिला, दलित, आदिबासीहरुलाई  किनारामा लगाउन बिभीन्न प्रपन्च बुन्छ भन्दा अतिशयोक्ति नहोला  |

३३.                झन्डै ६२ बर्षको चितवनको इतिहासमा नारायणीमा कति पानी बग्यो हिसाब छैन तर माडीबासी,आदिबासी, दलित, लैगिक तथा यौनिक अल्पसंख्यक, अपांगता भएका व्यक्तिहरुका  विभेद हिंसा,बलात्कार  पर्यावरण, जलबायु परिबर्तनको सबाल कहिल्यै चितवनको राजनीतिले प्राथमिकतामा पर्दैन | पिधम पारिएका/परेका समुदाय हरेक तह र क्षेत्रमा झैँ साहित्यिक सस्थाहरुमा उनीहरुको अर्थपूर्ण सहभागिताको लागि कुन आन्दोलन कुरेर बसिरहेका छौ ? बिक्रम सम्बत २०७८ सालमा प्रकाशित `चितवन दर्पण’ यसको एउटा सानो तर ज्वलन्त उदाहरण हो | ९ वटा शिर्षकमा विभाजित यो पुस्तकमा महिला, दलित, आदिबासी सर्जकहरु छैनन् अनि उनीहरुको सबाल पनि | `कसैलाई पनि पछी नपारौ’ भनेर नारा कार्यान्बयन गर्न संयुक राष्ट्रसंग बाचा गर्ने, विदेशीसँग ऋण लिइरहने अनि १२ बर्ष कुकुरको पुच्छर ढुङ्ग्रोमा राख्यो जस्ताको तस्तै भने झैँ आफुहरु नै नसुध्रने मात्रै हो भने चितवनले अर्को आन्दोलनको नेतृत्व गर्न बाध्य हुन्छ |  

३४.               चितवनको विकास र साहित्यको कुरा गरिरहदा गैर आबासिय नेपालीहरुको योगदानलाई बिर्सनु हुँदैन भन्ने लाग्छ | गैर आबासिय नेपालीहरुले पिधमा पारिएका/परेका समुदाय माथि भैरहेको ज्यादती, प्रशंसाको सिंहासनबाट टुलुटुलु हेरेर नबसोस | उनीहरुका सिर्जना र सामर्थ पिधमा ढिडोको माउरी झैँ टासिएका व्यक्ति र समुदायलाई उकास्न क्याटलिस्ट (उत्प्रेरक) झैँ प्रयोग होस् |  

३५.                चितवनको लेखन तथा साहित्यलाई एकपक्षीय रहन/बनाउन चितवनका पत्रकारिताको पनि उत्तिकै हात छ | १२२ बर्ष लामो नेपाली मिडियाको जगमा, चितवनमा करिब  ४ दर्जन अनलाइन पोर्टल, करिब आधा दर्जन टेलिभिजन, करिब २ दर्जन एफ एम/पत्रपत्रिका संचालन गर्नु आफैमा चानचुने काम होईन तर अपबादमा बाहेक पिधमा पारिएका/परेका  वा सर्भाइभरका सबाल उठान गर्न आन्दोलन नै गर्नुपर्ने, हत्या नै हुनुपर्ने वा कसैको भनसुन नै कुर्नुपर्ने अबस्था देख्दा पत्रकारिताको धेय आबाज बिहिनहरुको आबाज माथि नै शंका उत्पन्न हुन्छ |   

३६.                सिक्काको दुइ पाटा भए झैँ ट्रमाले वा हेपाइले दिक्दारिपन मात्र ल्याउदैन, कहिलेकाही सकरात्मक सोच र सिर्जनालाई उकास्न पनि सहयोग गर्छ | त्यसैले चितवनको साहित्यले अब पिधमा पारिएका/परेका बर्ग, लिंग, समुदाय माथि न्यायोचित, मैत्रीपूर्ण र परिणाममुखी समाधान खोज्नुपर्छ | पिधमा पारिएका व्यक्ति र समुदायको नेतृत्वलाई स्वीकार गरेर, उनीहरुकै संघर्षलाई सिर्जना केन्द्रित गर्दै, यसको ब्यापकिकरण गर्नुपर्छ

३७.                `काशी जाने कुत्तीको बाटो’ मेरो स्वर्गीय आमाले धेरै प्रयोग गर्ने उखानहरु मध्य एक हो | चितवनको अबको साहित्यको गोरेटो  मेरी आमाको उखान जस्तो नहोस | लोकतन्त्र, सामाजिक न्याय, मानब अधिकार जस्ता अबधारणालाइ परिणाममा मापन गर्न आफैले आफैलाई चुनौती दिन ढिला गरिनु हुँदैन अब |

३८.                चितवनले मोफसलबाट सिर्जनाहरुलाई अझ पृथक,र शसक्त बनाउन  अनुसन्धान, अनुगमनसंगै सिन्डिकेट वा सिमा तोडेर खुल्ला र स्वस्थ बहस गरोस |  इतिहासमा दर्ज हुने र जन मानसमा पुगिहाल्ने सबालगत सिर्जनाहरुमा बर्गिकरण गरोस | प्रसिद्धि, ब्यबसयिकताका लागि तयार गरिएका सिर्जना हुन् भन्दैमा पिधमा पारिएको समुदायको मर्यादामा चोट नपुराइयोस | सिर्जनालाई सिमलको भुवां झैँ बेलगाम छोडीदिनुपर्छ भन्ने भाष्य परिबर्तन होस् |

३९.                 चितवनले प्रविधिको अत्यधिक उपयोग गर्न इन्टरनेट कै जस्तै गति लिओस तर प्रविधिकै प्रयोग गरेर बिशेष गरेर सर्भाइभरहरु माथि गरिएको ज्यादती, र आक्रमणलाई निरुत्साही गर्न चितवन नचुकोस |

४०.                अन्तमा, यो चित्तौन कचेहेरीले अन्तार्पुस्ता, अन्तरलिंग, अन्तरजात, अन्तरबर्ग बीच बढिरहेको दुरीलाई कम गर्न तत्पर रहोस ? `मार्जिन अफ द मार्जिन’ हरुलाई केन्द्रमा राखेर स्थानीय सरकार, सरोकारवाला सबैले काम गरुन | राजनीति र विकासे संस्था र अभियन्ता जस्तै साहित्यिक संस्थाहरुमा दशकौसम्म मिलाई मिलाई, एताको उता, उताको यता गरेर निर्णायक पद ओगटेर नबसोस  | युवापुस्तालाई अनुकुलन बाताबरण निर्माण गरोस | पिधमा पारिएका/परेका समुहको लागि थप स्रोत साधन बिशेषगरेर समय, र बजेट च्यानालाइज गरोस | हस्तक्षेपकारी संयन्त्र निर्माण गरी पिधमा पारिएका युवा पुस्तालाई लगानी गर्न कन्जुस नगरोस |

४१.                 आजको यो मेरो उपस्थिति नै बैकल्पिक बिचारको उत्सबको ज्वलन्त उदाहरण हो | आयोजकले मोफसलबाट नेपाली बौदिक इतिहासमा नयाँ युगको पारम्भ गरेको छ | यो चित्तौन कचेहेरी नथाकिकन, बाधा अड्चनको जंगारहरु  छिचोल्दै, अनवरत बार्ता, बहस, शोध र परिणाममुखी कार्यन्वयन गर्दै कर्णाली नदि झैँ सागर भेट्ने यात्रामा हिडोस | कान्जिरोवा हिमाल केहि थान पर्यटक र फोटो नहुदैमा हरेस नखाई सदैब ठडीरहे झैँ ठडीरहोस  |अहिले झैँ  सत्ता, शासन, ग्रुपिजम र आफैलाई चुनौती दिन सफलता मिलोस |

४२.                अबसर दिनु भयो, सुनिदिनु भयो यसका लागि, धन्यबाद बढाई |

४३.                ल जाय लाग | नमस्कार |

 

 

World Social Forum 2024, Kathmandu- Dignified Menstruation: Decolonized Menstrual Movement and Reimagination of Feminism

 Inaugural Speech, 16 February, World Social Forum Dear Friends,