Tuesday, January 31, 2023

Thank you CoVID

 

कोभिड्लाई धन्यबाद

कोभिड् १९ महामारीको लामो समय पछी स्कुल खोलेको थियो | कोभिड पुर्ब मेरा नातिनीहरू र उनीहरु जस्ता बालबालिकाहरुलाई मोबाइल वा ल्यापटप छुन पाउनु पनि हम्मे हम्मे थियो चाहे उनीहरु जस्तो सुकै आर्थिक अबस्था भएको होस् | कतिको घरमा ल्यापटप हुदैनथ्यो | कतिको घरमा केटाकेटीहरुका नाममा किनिदिए पनि ल्यापटप चलाएर बिग्रने पो हुन् कि , नराम्रो कुरा पो सिक्ने हुन् भन्ने भय थियो | कतिको घरमा भए पनि आमा वाको कार्यालयको काम हुन्थ्यो | कार्यालयको ल्यापटप चलाउने कुरा पनि हुदैनथ्यो | हैन, बन्देज थियो | कार्यालयको कुनै पनि सामग्री निधारित व्यक्ति बाहेक अरुहरुले चलाउनु एक प्रकारको भ्रष्टाचार मानिन्थ्यो |

कहिलेकाही त सानी नातिनी अनिशाले घरको हो कि कार्यालयको सामग्री हो झुक्किएर सोथ्थिन- यो कलमले लेख्न हुन्छ ? जबसम्म जबाफ आउदैनथ्यो तबसम्म उनको प्रश्न झन् झन् चर्को अनि झिन्झिएको आवाजमा आइरहन्थ्यो - यो कलमले लेख्न हुन्छ कि हुदैन भनेको ?

यो कलम कसको हो ? बुवा, तिम्रो हो कि तिम्रो कार्यालयको ? मेरो छोरीको घरमा आफु भन्दा ठुला व्यक्तिहरुलाई तिमी भनेर बोलाउने चलन छ | सबैले सबैलाई तिमी भन्दा बराबर भएको, साथी जस्तो बाताबरण बन्न सक्छ भन्ने आशय हो रे | आज भोलि त मलाई पनि बानी पर्यो | पहिले पहिले अलिक अप्ठ्यारो नै नलागेको त् हैन | छर छिमेकमा अनि आउनेजाने आफन्तले पनि के सिकाएको हो यस्तो ठुलो, पाको मानिसलाई पनि तिमी भन्ने | सुहाएन है | राम्रो भएन है भने | तर आज भोली यहि नै राम्रो | यसैले सुहायो |

यो मोबाइल कसको हो आमु ? तिम्रो हो कि तिम्रो कार्यालयको ?

कसरी जानिन खै, उनले आमालाई आमु भन्न थालेकी छन् | मामुबाट आमु बनाएको जस्तो सुनिने | मेरा छोरी ज्वाईले बिज्ञानसंग  नबाझिने संस्कार वा चलन जस्ताको तस्तै राख्ने कोसिश गरिरहेका छन् | त्यसकै उदाहरण हो बुवा, आमा भनेर बोलाउने अभ्यास पनि |

अनलाइन काम वा बैठक कहिलेकाही पो रमाइलो र ब्यबहारिक हुँदोरहेछ | सधै त बयस्क मानिसहरुलाई पनि गाह्रो र झन्झटिलो हुने रहेछ  | पहिले पहिले, कहिलेकाही महिनावारी भएको बेला अलिक असजिलो भयो भने छोरी घरबाट नै काम गर्थिन |

ज्वाई आफ्नो कार्यालय जाने | नातिनीहरू आफ्नो- आफ्नो बिद्यालय जाने अनि उनि एक्लै, स्वतन्त्र भएर काम गर्न पाउथिन | मैले मिठो मिठो पकाएर खान दिने गर्थे | बेला बेला आमा छोरी पनि एक्लै वा आमा छोरी बिचको निजि गफ गर्न पाउदा छोरीलाई पनि घरबाट काम गर्न रमाइलो मलाई पनि छोरी आखै अघि देख्न पाएर दंग  | उनी कुर्सीमा बस्दा बस्दा ढाड दुखेर, वा पट्यार लागेका बेला वा फोनमा कुरा गर्नु परेका बेला एकैछिन ढल्किन पनि पाइने भएकोले पनि सजिलो र रमाइलो भएको हुनुपर्छ |

तर कोभिड आइसकेपछि एकदिन हैन दुइ दिन हैन सधै सधै घरमा | सबै सबै घरमा | म पनि पहिले जस्तो बलियो छैन | झन् कोभिडले झन्डै लगेको थियो |  मैले खासमा केहि सहयोग गर्न सक्ने छैन | नातिनिहरुलाई अनलाइन पढ्न सहयोग गर, उनीहरुको गृहकार्य गराऊ, गृहकार्य फोटो खिचेर म्याडम/सरलाई पठाऊ, उनीहरु भोकाए भनेर पकाएर खुवाउ, दिक्क भए भनेर उनीहरु सित खेल, सिनेमा हेर, कार्टुन हेर, बिरामी परेका इस्टमित्रलाई भेट्न जाउ, खाना पकाएर पठाऊ  आदि काम गर्दा गर्दा छोरीको अनुहार मलिन बनिसक्छ कार्यालयको काम छुन पनि भ्याएको हैन | कार्यालयका मानिसहरु फोन गरेको गर्यौ गर्छन, त्यो रिपोर्ट पठाऊ वा यो रिपोर्ट हेरिदेउ भनेको मै अनपढा बुढी मान्छेले पनि बुझ्छु | बुझेर के गर्नु ? न भान्सा हेर्न सक्छु न नातिनीहरू थेग्न | त्यहि सानी सानै छ | ठुली अमिता ठुली भै | सबै कुराले ठुली | उमेर, ज्यान, रुची, कक्षा, गृहकार्य |  ज्वाई पनि बसेर नै सहयोग नगरेका होइनन तर कार्यालयको प्रकृति अर्कै, ठुलो पद अर्थात् धेरै पैसा | जतिखेर नी कम्प्युटर कि मोबाइलमा झुन्डिएको झुन्डयै | कहिलेकाही पैसोले गरेको हो कि जस्तो लाग्छ | कहिलेकाही कस्तो मन नरसाएको हो, पैसा नै थोरै आए पनि काम त् दिनभर मरी मरी गर्नु पर्छ वा श्रीमतीलाइ गाह्रो भयो भन्ने किन मनमा आउन्न होला भन्नेकुरा पनि मनमा नआएको हैन | अति नै भएर होला नि छोरी कहिलेकाही गनगन गर्छिन |

अनलाइन पढाई वा काम उकुसमुकुसको बिषय बनिसकेको थियो | सबैतिर कहिले चहलपहल होला भनेर कुरेर बसिरहेका थिएं नै | नातिनीहरू पनि घर छोडेर हिड्न पाइने दिनको प्रतिक्षामा थिए | अनिशाले सुत्ने अघि भन्ने कथा, हास्यव्यंग कतै नै कतै बिधायलयमा नै गएर पढिरहेको कुरा सुनाउथिन | निशा म्याडमले अन्सु भन भन भन्नु हुन्छ रे | सिस्टरले नमस्ते भनेर लिन आउनुहुन्छ रे | कपालको आकार र रंग बदलेर उनले आफ्ना म्याडमहरुको नाम भनेर सकाउथिन अर्थात् उनले स्कुल खुबै जान मन गरेकी छन् | साथीहरुको जन्मदिबस जुममा मनाउदा ठिकै ठिकै रमाएकी थिइन् तर आफ्नो जन्म दिन मनाउने दिनमा उनि खास खुशी भईनन | चकलेट लगायत हरेक खानेकुरा साथीहरु र म्याडमहरुका लागि छुटाएर राखिन | बिद्यालयमा नाचेको, गाएको, खाएको, साथीहरुले फरक फरक पैन्टिंग गरेर ल्याएको चित्र वा गिफ्ट सम्झिएर झन्डै आशु नै खसालिन | जब उनको कोर्डिनेटर म्याडमले अन्सुलाई जन्म दिनको उपहार भएर चित्र बनाएर कम्पुटरबाट देखाउनु भयो तब उनी भक्कानियेकी थिइन् | एकछिन समालियेर भनिन –यो कोभिड कहिल्यै सकिएन भने हामी पनि कहिल्यै स्कुल नजाने हो हजुरआमा |

उनले सोचे जस्तो भयो भन्नु पर्यो |  कोभिडको संक्रमण हुने दर, मृत्यु दर बिस्तारै घट्दै गयो | सडकमा यातायातका साधनहरु प्या ..पु ..गरेर कराउन थाले |कोभिड भन्दा पहिले सधैको जामले दिक्क बनाउने बस, मोटरसाइकल अब बाटोमा देख्दा चिनेको मान्छे, आफ्नो मान्छे भेट जस्तो मनै फुरुंग भएर आउन थाल्यो | छाती तातो भएर आए जस्तो, भुलुक्क भए जस्तो अनुभूति हुन् थाल्यो | म उमेर खाएकी मान्छेको त यो हालत छ भने बच्चाबच्चीको के हालत ? समय ठुलो हो भनेको यसै होइन रहेछ | हामी बसेको समाजमा कस्तो बाताबरण छ, त्यसले हाम्रो चालचलन, बानी व्यहोरा, अनि सस्कारको निर्माण गर्दो रहेछ | तर हामीले यहि कुरा बुझ्न धेरै जस्तो कपाल फुलाउन पर्ने, छाला चाउरी पार्नु पर्ने रहेछ | यहि कुरा म यी नातिनीहरु जत्री हुँदा पताउदीन थे अहिले मैले भनेको अरुहरुको के कुरो मेरै नातिनीहरू हासेर उडाउछन् | के के बहाना गरेर टार्छन |

जे होस् बिद्यालय खुल्यो | नातिनीहरू एकदम रमाए | आफै बिहानै उठ्न थाले | आफै तयारी हुन् थाले | बेलुका फर्कदा पनि उत्तिकै जोश, जागरका साथ फर्कन थाले | गृहकार्य पनि गर भनेर सम्झाउन नपर्ने भो | मानौ उनीहरु अहिले नै बिधालय जान चाहन्छन यदि जान पाए | वा उही बस्न चाहन्छन उही बस्न पाए | साथी संगीका कुरा सकिएका नै छैनन् | सुन्नु उत्ति बाकि अनि सुनाउन पनि |

कोभिडले बिनाश मात्र गरेन निर्माण पनि गर्यो भनेर हामी अर्थात् छोरी ज्वाई र म बेलुकाको खाना खाँदा गफिन्थेयौ | बिहानको खाना मान्छे अनुसार खाइन्थ्यो | कोहि कसैसंग बोल्ने फुर्सत हुदैनथ्यो | बेलुका जब नातिनीहरुले खाएर खेल्न थाले पछी  हामी खाना खान बस्थ्यौ | म दिनभरका कुरा सुनाउथे | के के भयो, कस कसले फोन गरे , नातिनिहरुले के के खाए के के गरे यस्तै यस्तै | अनि उनीहरु कार्यालयका सुनाउन मिल्ने कुरा गर्थे | केहि साथीका कुरा, केहि हाकिमका कुरा अनि केहि नातिनिहरुका कुरा | हुन् त कामको कुरो काममा नै छोड्नु पर्छ भन्थे तर पनि केहि न टासिएर संगै आउथ्यो | म काम  बुझ्दिनथे | कार्यलय देख्दिनथे तर मानिस मानिस बीच हुने इर्श्या, रिस, डाह, घमन्ड देख्थे जुन मलाई मेरी नातिनीहरूको उनीहरुको अनि मेरा साथीहरुको उस्तै उस्तै लाग्थ्यो | हुन् त   इर्श्या, रिस, डाह, घमन्ड वा महत्वाकांक्षा भएन भने मान्छे मान्छे भएर बाच्न पनि कहाँ सक्छ र ? इर्श्या, रिस, डाह, घमन्ड वा  महत्वाकांक्षामा विभेद हुनु भएन, हिंसा घुस्नु भएन अनि कसैले गरेको क्रियाकलापले कसैको चित्त दुख्नु भएन अनि अपमान महसुस गर्न हुनु भएन |

 चित्त दुख्नु, अपमान महसुस गर्नु, विभेद हुनु कुरा बुझाउन र बुझ्न साह्रै गाह्रो छ कि हामीले गाह्रो बनाएको हो भन्ने प्रश्न मनमा बारम्बार आइरहन्छ | यसलाई निमिट्यान्न पार्न खोज्यो सकिदैन कि झैँ लाग्छ तर खबरदारी भने गरिरहनु पर्छ | भनिरहनु पर्छ | सम्झाई रहनुपर्छ जस्तो लाग्छ |  कहिलेकाही लाग्छ मेरो छोरीलाई जस्तो माया त कसैका छोरीका श्रीमानले पनि गर्दैनन् अनि फेरी छोरी र ज्वाईमा पनि विभेद भएको मैले नै महसुस गरेको हुन्छु | उसको चित्त दुखेको आँखा पढेको हुन्छु | उनीहरु बीच पनि प्रतिस्पर्धा भएको महसुस गर्छु | तर कहिले छोरीले भन्छिन, कहिले ज्वाईले व्यक्त गर्छन | कहिले ज्वाईले माफी माग्छिन त कहिले छोरीले माग्छिन | त्यस्ता काम, कुरा नदोहोराउने बाचा हुन्छ | दोहोरिएको पनि मैले सुने, देखेकी छैन | एकछिनमा कालो बादल हावा हुण्डरी लिएर आउछ सफा पारेर जान्छ कहिले धर्ति रुन्छ अनि आकाश निश्चल, सफा भएर देखिन्छ त कहिले कयौ टाढा टाढाका हिमालले डाडा माथिबाट खिसिक्क हासेर सहमति पठाऊछन् |

विभेद, हिंसा वा चित्त दुखाई महसुस गर्नु, गराउनु जति गाह्रो कुरा त हुदै हो | त्यती नै त्यो  विभेद, हिंसा वा चित्त दुखाई सुनाउन सक्ने, सुन्न सक्ने सस्कार निर्माण गर्नु गाह्रो  | कहिलेकाही सस्कार नै भए पनि सुनाउन नसकिने हुनसक्छ | घटना गम्भीर भएर वा लाज लागेर वा अरुहरुले के भन्लान भनेर वा मेरो नै गल्ति हो  भन्ने सोचेर त्यस्ता कुराहरु सुनाउन सक्दैनन् | आफ्नै घरका, माया गर्ने भए पनि मनमा एक किसिमको भय निर्माण हुन्छ | कुनै कुरा वा घटना घट्नु अघिको मस्तिष्क र पछिको मस्तिष्कमा आउने संवेग नै बदलाब हुन्छ | एकाएक बिजुलीको तार चुडिएको जस्तो वा टेलिफोनको नेटवर्क नलागे जस्तो हुन्छ | यस्ता कुराहरुलाई मह्सुसिकरण गर्न उमेर, अनुभब मात्र भएर हुदैन सोच पनि हुनुपर्छ | झन् साना नानीहरुलाई सिकाउन, आत्मसाथ गराउन कम्ता गाह्रो हुदैन भन्या | जब नातिनीहरू सहमतिबाट टाढिन थाल्छन तब मैले एउटा प्रश्न गर्छु – तिमी उसको ठाउमा भएको भए के हुन्थ्यो ? शुरुमा त उनीहरुले कुरा बुझेनन् अनि मैले एउटीको जुत्ता खोलेर अर्कीलाई लगाउन भने | अनि मेरो जुत्ता खोलेर तिमीहरु  लगाउ भने | बल्ल बल्ल कुरा बुझ्न थाले | एउटा साइज सबैलाई कहाँ ठिक हुन्छ अनि चोट परेको मान्छेको अनुभूति गर्न सोचले कसरी प्रभाब पार्दछ | तर सधै सजिलो कहाँ हुन्छ र ?

मैले अनिशाको फुरफुर अलिक बिलाएको वा हराएको महसुस गरे | एकमनले सोचे हैन अब स्कुल कोभिड पहिले झैँ सामान्य भएछ | साथीहरु, म्याडम, सिस्टर सबै खास लाग्न छोडेछन् |  तर अर्को मनले फेरी सोध्यो –कतै केहि घटना त भएन | फेरी जान्ने भएर आफैले जबाफ दिए – गेटमा बस्ने पाले बाहेक सबै महिला छन् | नामै त मंतेश्वोरी शिशु बिधालय | गेट भित्र बस्ने भनेको साना साना बालिका, बालक, म्याडम अनि सिस्टरहरु | सबै तालिम प्राप्त, नाम चलेको शिशु बिद्यालय | मैले कहिँ, कसैको केहि कसुर भेटाउन सकिन | तर मनमा एक किसिमको बादलले ढाकेको, के के अप्ठ्यारो भएको महसुस भैरह्यो | कोभिड आए देखि यिनीहरुसंग बस्न थालेकी थिए म | सबैका आ आफ्नै बैठक र काम हुने भएकोले अन्सुलाई जुम क्लासमा सहयोग गर्ने, गृहकार्य गराउने, खुवाउने जिम्मा मेरोमा आएको थियो | उनलाई मन परेका बेला त म संगै हो सुत्ने पनि | दिदीको पालोमा पानी के के बहाना र सर्त राखेर आफै सुत्ने | मलाई निन्द्रा लागेर हैरान हुँदा पनि के के कथा भनेर सुत्न नदिने नातिनी हो कान्छी नातिनी | मलाई उसका सबै म्याडम र साथीका नाम, कपालको स्टाइल, उनीहरुलाई मन पर्ने कलर आदि उनले गर्दा मोटामोटी थाहा छ | यस्तो नातिनीको अनुहार आज फुंग उडेको थियो | उनि मौन थिइन् |

गफै गफले खान पनि बिर्सने, खाना चिसो बनाउने नातिनी आज नबोली नबोली प्लेटमा हेरेर अलिकति मात्र खाइन | उनलाई मनपर्ने चामलको पिठोको पुवा बनाई दिएको थिए तर मन पराए झैँ खाइनन | पुवालाई चम्चाले प्लेटमा यता उता गरेर के के लेखे झैँ गरिन | के के बनाए झैँ गरिन |

दिदीले खाएर गैसके पछी मैले एक्लै पारेर सोधे| त्यति निडर बच्चा आफु अपमानित भएको घटना सुनाउदा झन्डै रोईन | उनलाई मैले हेर्न सकिन | पिसाब आएको बहानामा चर्पी गए अनि थामिएर आए | मलाई नै भक्कानो छोडेर रुन मन लाग्यो | भोलि कोर्डिनेटर म्याडमलाई भन्ने सर्तमा खाजा खुवाए | अनुहारमा अलिकति भए पनि चमक आयो | दुइजना फेरी एकछिन गफ गर्यौ | मैले आफुले सानो हुँदाको केहि कुरा सुनाए | किन हामी बोल्नु पर्छ,किन आफुले बिस्वाश गरेको व्यक्तिलाइ भन्नु पर्छ किन घटनाहरु लुकाउनु हुदैन भन्ने बारेमा कथा जस्तो गरेर सुनाए | उनले मलाई बिस्वाश गरेकोमा, भनेकोमा धन्यवाद दिए | माया गरे | अंगालो मारे | अनि सधै झैँ गृहकार्य र खेल खेल्ने काम भयो | मैले बिल्कुल उनले थाहा नपाउने गरी उनलाई धेरै समय दिए | उनीसंगै रहे |

बेलुका खाना खाने बेला सधै झैँ मैले मेरो पालो कुरिन | मैले पहिले कुरा शुरु गरे | प्ले ग्रुपका बिद्यार्थीहरुका लागि छुटै चर्पी रहेछ | पिसाब फेर्ने युरिनल सबै अर्थात् बालिका र बालक सबलाई एकै रहेछ | कोभिड़का कारणले नया बिद्यार्थी नभएका र पुराना बिद्यार्थी मात्रै भएकोले होला सिस्टरहरुले स्वतन्त्र किसिमले छोडिदिएको होला सायद | केटाकेटी संगै खेल्ने, पढ्ने र चर्पी जाने चलन रहेछ | एकजना केटा बच्चा जसको नाम महेश्वोर थियो, उसले पिसाब फेर्ने बेलामा अनिशालाई पिसाब फेर्दा यता उता पारेर दुख दिएछ | अनिशाले यो त खराब बानी भयो, मलाई नराम्रो लाग्यो भनिछन | तर उसले झन् हासेर उडाएछ | त्यति मात्रै कहाँ हो र ? लौ मैले झैँ गरेर देखा भनेर पो भनेछ | उसले मैले तैले झैँ पिसाब फेर्न सक्छु र भनेर झन् ठुलो स्वर गरेको रहेछ |

महँगो स्कुल | नाम चलेको स्कुल | तर लैगिक विभेदको परकास्ठा | छोरी ज्वाई कोहि बोल्न नै सकेनन | स्कुलको गेट, आकार, नाम, बस हेरेर मात्र स्कुल कहाँ स्कुल हुने रहेछ र ? सबैका गास अड्किए | छोरीले आफ्नो बच्चा बेलाको अनुभूति सुनाइन | ज्वाईले ग्लानी महसुस गरे | उनले पनि एकाध पटक स्कुलमा नभएर आफ्नै घरमा बहिनिलाइ गरेको कुरा | माहोल झन् गम्भीर बन्यो |

भोलि स्कुल जाने, त्यो स्कुलमा नपढाउने, के के उपायहरू आए | तर मलाई चित्त बुझिरहेको थिएन | नातिनीले सपना नै नराम्रो देख्लिन, वा निदाउन नै नसक्ने हुन् कि भन्ने भय मनमा थियो | मैले प्रस्ताब राखे – अहिले कोर्डिनेटर म्याडमलाइ फोन गर्न मिल्दैन ?

 छोरी र ज्वाई दुबैले कोर्डिनेटर म्याडमसंग मिलेर कुरा गरे | म्याडमले नजानेर स्कुल प्रशासनबाट भबन निर्माणमा भएको गल्ति महसुस गरिन र प्रतिज्ञा गरिन – भोलि बिहान मैले अनिशाको अगाडी यो कुरा सोधेर माफ माग्न लगाउछु, एक हप्ता भित्रमा बालकहरुको लागि छुटै चर्पी बनाउछु र नियम पनि बनाउछु जसले गर्दा यो कुरा अब कहिल्यै नदोहोरियोस |

भोलि भयो | तर नातिनी स्कुलबाट फर्कने समय कुर्न मलाई साह्रै गाह्रो भयो | छट्पट भयो | सबै भन्दा पहिले त बुझ्ने भए देखि आज सम्म पिसाब मात्र गर्ने बहानामा कहाँ कहाँ, कसरी कसरी, को को बाट अपहेलित भए , विभेदमा परे सिनेमाको रिल झैँ आए | सिउड़ीले झैँ घोचेर गए | कतै आखा अलिक भिजाएर गए | कुनैले चिमोटेर गए | यी सबै चोट लिएर जिन्दगि भर जिउदा कति गाह्रो भयो होला, हुन्छ होला भन्ने बुझ्ने को होला ? यी पुरुषहरु साना हुन् वा ठुला यिनीहरु किन  यति हिंस्रक हुन्छन होला ? के यिनीहरु जन्मदै हिंस्रक होलान त पक्कै होइनन | भएको भए मेरा वा किन त्यस्ता छैनन् अनि मेरै ज्वाई पनि |

बल्ल बल्ल ४ बज्यो | स्कुल बसले चोकमा आएर हर्न लगाएपछी गेटमा जाने मान्छे, मैले नै चोकमा गएर हेरिरहेकी थिए | झन्डै ५ मिनेट मात्र हो बस आउन ढिलो भएको तर मलाई ५ घण्टा कुर्नु भन्दा गाह्रो भो | नातिनी हजुरआमा गुड निउज भन्दै प्रफुल्ल मुद्रामा ओर्लिन र कान तानेर खुसुक्क भनिन – उसले कोर्डिनेटर म्याडमको अघि माफ माग्यो |  मैले मनमनै कोभिड्लाई धन्यबाद दिए –कोभिड नभएको भए म यहाँ सायदै बस्थे होला अनि यति बिध्नै मित्रता नातिनिसंग हुन्थ्यो होला ?       

      

Note: this article is written for school Magazine (Valmiki Shiksha Sadan, Bharatpur, Chitwan)  

 Tuka Chhetri Sandwell, her son James Sandwell were here in Nepal and visited Bhaktapur, Sipaghaat, Parasi (Tihar celebration), Gorkha Kalik...