शिक्षा मन्त्री सुमनालाई खुल्ला पत्र:
मा. शिक्षा मन्त्री सुमना ज्यु,
नमस्कार, बधाई पनि |
कम्तिमा मेरो घटनाको समाचार बाहिरिएपछी संसदमा कुरा
भयो यसका लागि धन्यबाद | जुनसुकै लैगिक पहिचान भए पनि महिनावारीबारे थाहा नपाएको र
महिनावारीको रगतले न जन्मिएको को थियो र ? हुनत यस्तो घटना पहिलो थिएन| दुइ चार दिन
कुरा भए, पक्ष र बिपक्षमा उभिए, अनि सेलाए | मलाई सांसदहरु कसैको पनि भर लाग्दैन, न पार्टीको
नै | बिना अनुसन्धान, पुर्बग्राही सोच, एकीय दृस्टीकोण, क्षणिक भावनामा बगेर के महिनावारी अभ्यासको जटिल र बहुआयामिक प्रकृति बुझ्न सकिएला ? कालो बादलमा चादीको घेरा भने जस्तो
अलिकति आश तपाईमा देखेर अब म जस्तै पाठेघर लिएर जन्मिएका अरुहरु पनि पल पल मर्न नपरोस
भन्ने धेयले यो पत्र लेख्दैछु, आफैले पत्र पुरै पढ्नुहोला है |
स्कुल स्कुलमा महिनावारी प्याड निशुल्क वितरण गरेको
छ, त्यो मेरै मन्त्रालयको काम त हो भनेर दंग पर्नु भएको त छैन नि ? तपाइको मन्त्रालयले वितरण गरेको महिनावारी प्याड
कौवालाई बेल पाको हर्स न बिस्माद भनेर हामी साथी साथी ठट्टा गर्थेयौ | नरिसाईकन पढ्नुस है, म बिस्तारै बेलिबिस्तार लगाउछु
|
महिनावारी प्याडले मलाई महिनावारी नहुने दिनहरु
(करिब २५ दिन) मा नुहाउने धारा, सधै प्रयोग
गर्ने भाडा, लुगा प्रयोग गर्न दिएन |मलाई स्कुल जान हतार भएका बेला खाना आफै झिकेर
खान दिएन, मलाई तिर्खा लागेका बेला स्कुलको पानीको गाग्रोबाट आफैले पानी झिकेर पिउन
दिएन, मलाई सधै सुत्ने ओच्छ्यानमा सुत्न दिएन, मलाई लुगा सधै झैँ धुन दिएन, धोएको लुगा
सधै झैँ संगै सुकाउन पनि दिएन | के के दिएन दिएन |मन्त्री ज्यु तपाइको मन्त्रालय अन्तगत
बाडिने महिनावारी प्याडले संबिधानको मौलिक हकहरु झन्डै झन्डै केहि पनि दिएन|
हैन हैन, दियो | मनग्यै दियो |
तपाइको मन्त्रालय अन्तगत बाडिने महिनावारी प्याडले
कुहिनको लागि झन्डै २०० -१००० बर्ष लाग्ने पलास्टिक दियो | जलाए हावालाई, गाडे माटोलाई,
पानीमा फाले पानीका जीव जन्तुलाई बिष दियो | पुस्तौ पुस्तालाई बोझ दियो | जलबायु परिबर्तनको
असरलाई बढायो | पहिले पहिले आमा भाउजुहरुले लगाउने लगुटि, कपडाको टालो लगाउनु गलत हो
भन्ने सोच र सस्कार दियो (संसारमा भएका कुनै पनि महिनावारी प्याड सुरक्षित छैनन्,
सबै सावधानीपूर्वक लगाउनुपर्छ )| मन्त्री ज्यु, सरकारको प्याडले सर्प पनि मरेन,
लाठी पनि भाचियो | चीत्त बुझेन ? पोहोर मर्ने बैतडीकि दिदी र मैले सरकारले वितरण गरेको
प्याड लगाएका थियौ, दिदी मरिन म बलात्कारमा परे |
दिदी एकचोटी मरिन, म पटक पटक मारिरहेको छु | दिदी मरेको हो कि मारिएको ? म बलात्कारमा परेको कि पारिएको
?
दिदीलाई राज्यले नै मारेको हो अनि मलाई बलात्कार
|
मन्त्रालयको आदेश भनेर रातारात हामीलाई प्याड बाडियो,
हामी पनि धुन पर्दैन भनेर मख्ख पर्यौ | सरकारलाई धन्यबाद भन्यौ तर सरकारको प्याडले
हामीलाई न मान्छे भएर बाच्न सिकायो न काल वा बलात्कारबाट जोगायो न बाताबरण जोगायो |
दिदीलाई कति बाच्न मन थियो | मेरा आफ्नै सपना थिए | तपाई जस्तो मन्त्री हुन् नसके पनि
मेरै पालिकाको मेयर हुने सपना थियो | राज्यको हेलचक्र्याइ र मौनताका कारण एक पछी अर्को
घटना भैरहेका छन् ?
सरकारले बाडेको प्याडले अन्य (झन्डै १० प्रकारका)
महिनावारी सामग्रीको फाइदा, बेफाइदा पनि सिकाउदैन | बजारमा अझै स्थानीय स्तरमा हाम्रै
आमा, काकीहरुको समुहले पुन प्रयोग गर्न मिल्ने, कुहिने प्याड भ्याई नभ्याई, सकी नसकी
बनाएका छन् तर ती प्याड हामीकहाँ आउदैनन | पालिकाहरु आउने बाताबरण बनाउदैनन् |गएको
महिना मेरै गाउका दिदीहरुले हाम्रो प्रदेशको प्रख्यात धनगढी उपमहानगरपालिकाका प्रमुखलाई
भेटेर पलास्टिक फ्री पालिका भन्दै गर्दा पलास्टिक
भएको महिनावारी प्याडको बिकल्पको बारेमा सोध्दा खरिद एनलाई देखाएर, कर्मचारीलाई जिम्मा
लगाएर भाग्नुभएछ | सबै पालिका उस्तै उस्तै
हुन् रे | म के एन, कस्तो एन केहि जान्दिन, बुझ्दिन | म यति मात्र भन्न सक्छु,
सरकारका नाममा एलर्जी हुने, डेड घन्टामा नै
चुहिने, पलास्टिक र रासायनिक पदार्थ मिसाइएका, आयातित प्याड मात्र स्कुलमा आइपुग्छन
| हामीलाई हतार हतार लाइनमा राखेर प्याड बाडिन्छ तर महिनावारी प्याड लगाउदै गर्दा तिमीले
ओछ्यान छोड्नु पर्दैन, थाल फेर्नु पर्दैन, भोक लागेका बेला, पानी तिर्खा लागेका बेला
कसैलाई कुर्न पर्दैन, झिकेर खाए हुन्छ कसैले भन्दैन |अर्थात महिनावारी नहुने करिब २५
दिनको २४ सै घण्टा गरिएका गतिबिधि गर्न हुन्छ, भनेर कसैले पनि सिकाउदैन |
मन्त्री ज्यु महिनावारीको रगत देखाउदै, चुहाउदै
हिड्न पाउनु पर्छ भन्ने मेरा साथीहरुको माग हैन/छैन| पाठेघर लिएर जन्मिएका (किशोरी,
महिला, पारलिंगी पुरुष, कुईर) व्यक्तिहरुलाई मानब भएर बाच्न पाउने बाताबरणको लागि सहजीकरण
अहिले नै गरिदिनु है भन्ने मेरो आग्रह हो |
मन्त्री ज्यु, म लगायत सबै महिनावारी हुने र नहुने
व्यक्तिहरुमा भयंकर गम्भीर र बृहत `डर’ लुकेर/गडेर बसेको छ | त्यसैले हामीलाई महिनावारी
नभएका दिनमा प्रयोग हुने आफ्नै ओछ्यानमा सुत्न डर लाग्छ, आफ्नै थालमा खान पिरपर्छ,
आफ्नै बारीको फुलमा पानी राख्न हात काप्छ | महिनावारीको रगत पाप, असुद्ध, फोहोर भन्ने
सोचले न्याक्छ अनि हामीले हाम्रा जिन्दगीको सपना मात्रै बिर्संनौ ज्यानै जाने भए पनि
महिनावारी नभएको २५ दिनमा २४ घण्टा गरिने क्रियाकलाप गर्न सक्दैनौ | मैले अहिले बोध गरिरहेको छु कि हामीलाई स्कुलले महिनावारी
भन्ने नै बुझाएन | मैले कक्षा एक देखि दशसम्मको पाठ्यक्रम, अतिरिक्त क्रियाकलाप,
स्कुलका भित्ताहरु कतै पनि महिनावारीको रगत सुद्द, सफा रगत हो , यहि रगतले यो दुनिया
चलेको छ भनेर कतै पनि सुनिन/पढिन | म र मेरा साथीहरु चाहे इलामका हुन् वा रसुवाका वा
काठमाडौँका उनीहरुले महिनावारी भएका बेला हाम्रा आमा बाहरुले धर्म, सस्कारका रुपमा
लादेका विभेदित अभ्यासका बारेमा स्कुलमा छलफल नै गरेको छैन | उल्टो स्कुलका पाठ्यक्रमले
महिनावारी विभेदलाई स्थापित गरेको छ | हाम्रा किताबहरुमा घरि घरि छाउपडी लेखेर हामीलाई
हेपेको छ ? नेवारीमा `मजिउ’ भनेको नछुनु हुनु हो रे अछामी भाषामा महिनावारीलाई छाउपडी
भनेको हो नि | मन्त्री ज्यु, हाम्रो रगत सफा, सुद्द हो भनेर अनेकौ अनुसन्धानले प्रमाणित
गरेपछि पनि हामीले रगत ब्यबस्थापन गर्ने प्याडलाई किन स्यानिटरी प्याड भनेको हो ?
मन्त्री ज्यु, तपाइले हाम्रो स्कुल भरका किताबमा छाउपडी, स्यानिटरी भन्ने शब्द नै निकाल्दिनुस
है | हामीलाई स्कुलमा पाठेघर लिएर नजन्मेका साथीहरुले घर, स्कुल, समुदायमा जिस्काएर
पल पल जिउदै मारिरहन्छन | उनीहरुका लागि महिला, पुरुष, पारलिंगी पुरुष, जो सुकै भए
पनि महिनावारीको रगतले जन्मिएका हुन् भन्ने सत्य कुरा पनि पाठ्यक्रममा समाबेश गरिदिनु
है | स्कुलका भित्ता भित्तामा लेख्न भनिदिनुस
अनि हाम्रो महिनावारीसंग जोडिएको डर भाग्छ | उनीहरुले पाठेघर लिएर जन्मिएका
मा जस्ता व्यक्तिहरुलाई सम्मान गर्न थाल्नेछन, कुनै अमानविय घटना हुनबाट रोक्नेछन्,
भए डटेर बिरोध गर्नेछन | अनि मेरो जस्तो नियति
अरुहरुले भोग्नु पर्दैन |
मन्त्री ज्यु, हाम्रो घर, परिवार, समाजमा शक्ति
र पितृसत्ता निर्माण र सामाजिकीकारणमा मुख्य भूमिका खेल्ने भनेकै देखिने र नदेखिने महिनावारी विभेदको बारेमा कुरा
नै नभएकोले हो | शक्ति र पितृसत्ता निर्माण र सामाजिकीकारणको चक्रलाई तोड्नको लागि
त कक्षा एक देखि बिश्व बिद्यालयसम्म महिनावारी हुनु पुर्ब, महिनावारी हुँदै गर्दा,
महिनावारी सुक्दै गर्दा हुने विभेदलाई सम्बोधन हुने गरि त नर्सिंग, जनस्वास्थ्य तथा
चिकित्सा शास्त्रको पाठयक्रममा नै रहेनछ | फेरी तपाइलाई कुनै पहुचवाला निकायले आएर
भन्ला नि यौन तथा प्रजनन स्वास्थ्य, बृहत यौनिक शिक्षामा छ | छैन मन्त्री ज्यु छैन
| पुरुष र महिला प्रजनन अंगको बारेमा, महिनावारीको प्राबिधिक पक्ष र केहि महिनावारी
ब्यबस्थापनले झन्डै सय भन्दा बढी विभेदित महिनावारी अभ्यासको बारेमा चुईक्क पनि गर्दैनन
|
मन्त्री ज्यु, सुनिरहेको छु, गृह मन्त्रालयको संयोजनमा
मेरा बारेमा अनुसन्धान गर्न समिति बन्दै छ रे , गोठ कहाँ कहाँ बनेका छन् भनेर खोजिदै
छ रे | कृपया उहाहरुलाई बनिसकेका गोठ भत्काउन पर्दैन बैकल्पिक प्रयोग गरे हुन्छ भनेर
भन्दिनु है | मन्त्रीज्यु हामीले चटपटे खाए झैँ गरेर आयोग र मन्त्रालयका प्रतिनिधि
अछाम र बाजुरामा एकै ब्यानरमा बाल बिबाह, महिला हिंसा, बलात्कार, महिनावारी कार्यक्रम
गरेको सुनेको छौ | सदियौदेखि मौनतामा जकडिएको
महिनावारी विभेदले उब्जाएको डर, असन्तुलित शक्ति सम्बन्ध र पितृसत्ता त्यसरी भाग्दैन | उहाहरु पर्यटक, सेलेब्रेटी चाही
बन्नुहुन्छ |सरकारले टोलटोलमा सघन र बहुआयामिक रुपमा सबै सरोकारवालाहरुलाई समेटेर मौरीले
झैँ सबैले महिनावारीको शुद्द, सफा रगतले जन्मिएका हामी भन्न सक्ने बनाउनुपर्छ अनि महिनावारी
भएका बेला हरेक घर स्कुलमा संगसंगै हुने बाताबरण हुनुपर्छ | यसो गर्न सकिएमा छोराहरुले
आफु महिनावारीको रगतले जन्मिएको बोध गर्नेछन र जहाँ सुकै बसे/सुतेकी महिनावारी हुने
व्यक्तिहरुलाई सम्मान गर्न घर, स्कुलबाट नै सिक्नेछन | सबै भन्दा पहिले स्थानीय सरकार
र राजनीति दल/नेताले यसको नेतृत्व गर्नुपर्छ | तपाइको पाटी महिनावारीलाई मर्यादित बनाउने
सबालमा किन मौन छ मन्त्री ज्यु |
लेख्नु पर्ने, सुनाउनु पर्ने धेरै छ तापनि अहिलेलाई
यति नै | जुन जोगी आए पनि कानै चिरेको भन्ने चाही नपार्नुस है मन्त्रीज्यु |
अछामबाट किशोरी |