Wednesday, June 9, 2021

Socialization of Menstrual Discrimination

 

 

महिनाबारी विभेदको सामाजिकीकरण

काठमाडौँमा सरकारी जागिर खाने, रास्ट्रिय पत्रिकामा निरन्तर लेख्ने एक जना पुरुष मित्रले महिनाबारीका बारेमा कुरा गर्दागर्दै भन्नुभयो- मेरो छोरी ३ बर्षकी भईन उनलाई उनकी आमा नछुनी भएको थाहा छ | मैले उनकी आमालाई मनाउन सकेकीछैन | यो प्रतिनिधि घटना मात्र हो | सुन्दा यो जति सामान्य लाग्छ त्यती सामान्य बिल्कुलै छैन | अधिकाम्स शिक्षित महिला, अभियानमा लागेकाहरुमा देखिने यो साझा अभ्यास हो | उनीहरुलाई लाग्छ- सस्कार हो, आराम हुन्छ, आदि आदि |

सामान्यया बच्चाहरुले सिक्ने भनेको उनीहरुको वरपर जस्तो घटना परिघटना घटिरहेका छन् त्यसैबाट जानकारी जुकाले रगत चुसेझैँ चुसिरहेका वा ग्रहण गरिरहेका हुन्छन | आफ्नो शरीर, आफ्नो इच्छा, आफ्नो परिवार, घर आदिसंग जोडिएका तर्क बितर्क आदिका ती घटना परिघटनाहरु सम्झने, बिर्सने, चीत्त दुख्ने, रमाइलो लाग्ने, आत्मबिस्वाश जगाउने, आफ्नो शरीर, आफ्नो परिवार, घर आदिसंग जोडिएका तर्क बितर्क आदिका आधारमा घटनाहरुले मस्तिकमा बास गर्छन | घटनाहरु दोहोरिदै गएपछी बानी पर्छ अर्थात् एडीक्सन हुन्छ | माथि भनिएको छोरीको दिनमा उनकी आमालाई राखेर हेर्दा यदि करिब १३ बर्षमा पहिलोपटक महिनाबारी भएको भए, लगातार अर्थात् १० बर्षमा आमा, हजुरआमा, सानिमा, दिदी, फुपु, छिमेकका आमा, दिदि, फुपुहरु आदिबाट निम्न लिखित कुराहरु अनौपचारिक रुपमा थाहा हुन्छ जस्तो – महिनाबारी भएपछी भान्सामा नजाने, संगै बसेर नखाने (अन्य महिला सदस्य, वा पुरुष वा छिमेकीले आएर खाना बनाइदिने, गाई भैसी दुहुने),दुध दहि खान नहुने, अमिलो फल, खानेकुरा खाने नदिने, घरका सदस्यलाई नछुनी, झुक्किएर छोइएमा सुन पानी छर्कने, छुइने व्यक्तिले नुहाउनु पर्ने वा जनै फेर्ने, फलफुलको बिरुवा नछुने, बिउबिजन नछुने, पुजा नगर्ने, पुजा आजामा नजाने, प्रसाद नखाने, बाहिर बाहिरको काम गर्ने, आफुले प्रयोग गरेका लुगा भाडा छुट्टै राख्ने, राती राती उठेर नुहाउने, लुगा धुने, लुगाहरु छुट्टै सुकाउने, छुट्टै सुत्ने (कोठा वा ओछ्यान), कम्तिमा पनि चार दिनमा आफुले प्रयोग गरेका सबै लुगा धुने, सुतेको ठाउ पोत्ने, पोत्न नमिल्ने भए सुन पानी छर्ने, गहुत छर्ने आदि | यसका अतिरिक्त घरमा पुजा आजा भएको बेला कुनै पनि महिनाबारी भएकी महिलाहरु नआउने वा कसैकोमा पनि नजाने, कसैको बिहे रहेछ भने टाढाबाट लुकेर हेर्न लगाउने, घरमा ठिक्क पारेको श्राद् जस्ता पुजा सार्ने, कोहि जन्मेको वा मरेको ठाउमा जान वा देखिन नपाउने आदि पनि देखि रहेका हुन्छन | उमेर बढ्दै गएपछि कतिपय अबस्थामा उनलाई नै समान वा खानेकुरा ओसारपसार गर्न पनि लगाइन्छ | छरछिमेकमा कोहि न कोहि महिनाबारी भैरहने हुनाले यस्ता यी देख्न, सुन्न, पाइरहने हुन्छ | अझ गाउमा कोहि पहिलो पटक महिनाबारी भएको रहेछ, कुनै छिमेकीकोमा बसेको रहेछ भने महिनाबारीको रगत अशुद्द हो, फोहोरो हो त्यसैले के के गर्न हुन्छ के के गर्न हुदैन, किन गरिदैन वा गर्न हुदैन भनी कुरा सुन्नमा आइरहन्छ | बेला बेला छेडपेच गरेर तिमीलाई पनि यस्तै हुन्छ, जति नै मायाले हुर्काए पनि त्यहि हो ...नछुने नै हो भनेको सुन्न पाइन्छ | अलिक उमेर पुगेपछि अब यसको पालो वा तेरो पालो हो हाम्ले झैँ गर्नुपर्छ, छोरी भएर जन्मेपछि ...भनेर सिकाईन्छ |चाडपर्वहरु बर्षे भरि आउछन, कोहि न कोहि मर्ने जन्मने पनि भैरहन्छ | त्यहा जाने नजाने, जान हुने नहुने अबस्थाका कुरा आइरहदा महिनाबारीको रगत पनि घरिघरि आइरहन्छ | अझै ऋषिपंचमी त महिनाबारीको पाप पखाल्नको लागि हरेक बर्ष आइरहन्छ | ऋषि पंचमी त एकदिन आउछ तर त्यो दिनमा चोखिनको लागि प्रयोग हुने दतिवन त घर, आंगन वा बगैचामा बर्षभरि ढलपल गर्दै हुर्किन्छ र छोरीहरुलाई खबरदारी गरिरहन्छ |

घरमा आमा हजुरआमाहरु कुराकानी गर्दा पनि अब यो फुट्छे, पड्किन्छे वा महिनाबारी हुन्छे, छोरीको जात न हो भनेर कुरा गरेको बेला बेला सुनिरहेका हुन्छन भने कहिले उनीहरुको शरीरको विकासलाई लिएर पुन पुन महिनाबारी हुनुपर्छ, हुन्छे, के के गर्नुपर्छ भन्दै गर्दा जान्ने भएदेखि वा आमाले महिनाबारी भएर भान्सामा नगएदेखीका कुराहरु पुनताजगी भईरहन्छन | महिनाबारी हुनुपर्ने र बार्नुपर्ने छोरीहरुको लागि अनिबार्य शर्त स्थापित भैरहन्छ |

स्कुल जान थालेपछि कम्तिमा पनि उनी महिनाबारी हुनु अघि २-३ बर्ष किताबमा अन्धबिस्वास के के छन् भनेर महिनाबारी बार्ने चलनको कुरा बिभिन्न बहानामा आइरहन्छन तर कसैले पनि यो असत्य हो, हामीले यस्तो चलन हटाउनु पर्छ भन्न सक्दैन | आफुसंगै पढ्ने तर महिनाबारी हुने वा आफु भन्दा ठुलो कक्षा पढ्ने दिदीहरुले पनि महिनाबारी खसकखुसुक मात्रै गर्छन | सकेसम्म उनीहरु बाहेक थाहा हुदैन | महिनाबारी भनेर नै भनिदैन | भनिन्छ त लेडिज प्रोबलम् वा प्रोबलम वा हेडेक यस्तै नाममा लुकाइन्छ | स्कुलको कुनै पनि अतिरिक्त क्रियाकलापमा महिनाबारीको बहस हुदैन | भित्तोमा टाँगीने वा पोतिने जानकारीमा महिनाबारी सम्बन्धि केहि कुरा लेखिएको वा झुन्ड़ाईएको हुदैन | प्याड वितरण गर्ने, प्याड बनाउने तालिम दिने स्कुलका शिक्षकले किशोरीहरुलाई क्यान्टिनमा नआउन सुझाएका हुन्छन | शिक्षिकाहरु महिनाबारी भएका बेला कि आफै स्कुल आउदैनन आए भने छुट्टै बसेर खाने बस्ने गर्छन |

पल्लो घरको काकाले काकीलाई भनेको सुन्छन, जोखान देखाउदा महिनाबारी भएका बेला छुइछाई भएर बिरामी परेको रे ...| पण्डित बा बाटामा भेट्दा पनि कहिले सम्झ्याए झैँ कहिले तर्साए झैँ भन्छन –आजकल महिनाबारी नबारेर यिनीहरुले सबै नाश गरे छ्डूलीहरु | 

ती नानीको आमाको बच्चा बेलाको कुरा गर्ने हो भने १० बर्ष र सालाखाला लिने हो भने ७ बर्षभरी महिनाबारी अशुद्द, फोहोरी रगत हो भनेर सुन्दा सुन्दा यो पक्का हो भन्ने सिकाई ढुंगाको पहाड जस्तो बलियो भैसकेको हुन्छ | उनले महिनाबारी वारेन भने आफुलाई, आफ्नो परिवारको सदस्यलाई हानी हुन्छ त्यसैले बार्नुपर्छ भन्ने सोचको विकास हुन्छ | घर वा कुलको सम्पति वा प्रतिष्ठा जान्छ त्यसैले बिना सर्त बार्नुपर्छ | यदि नबारेर हुने भए हाम्रो धर्मग्रन्थ, हाम्रा पण्डित, हाम्रा बा, हाम्रा पुरुष शिक्षक, हाम्रा पुरुष पत्रकार, हाम्रो  नेता, हाम्रा प्रधानमन्त्री र हाम्रो रास्ट्रपति किन यसलाई प्राथमिकता दिदैनन् वा किन कुरा गर्दैनन् | त्यसैले बार्नुपर्छ | म पनि बार्छु | घर परिवार वा कुलमा अर्घेलाई गर्दिन भन्ने सोचको विकास हुन्छ | महिनाबारी हुनु पूर्व नै उनलाई के के गर्ने, के के नगर्ने, किन नगर्ने सबैकुरा थाहा मात्र हैन कि आत्मसाथ नै गरीसकेको हुन्छिन | कतिपय अबस्थामा यसरी हुर्किएकी उनलाई महिनाबारी भएको दिन शुरुमा नराम्रो, नरमाइलो, दिक्क लागे पनि, रुन मन लागे पनि, रोए पनि कसैले नभनीकनै खुरु खुरु बार्नुपर्ने कुराहरु बार्दै बार्दै जान्छिन |  

यी माथि उल्लेखित घटना परिघटना एउटा जीबन थोरै इतिहास हो | तीनी छोरीको मनोबैज्ञानिक वा भावनात्मक विकासमा प्रभाब पार्न थालिसकेको हुन्छ जसको असर जिबनभर रहन्छ| कहिलेकाही यसको प्रभाब उनको शरीरलाई हेर्ने दृस्टीकोण, शरीरको आकार र कामसम्ममा पुग्ने गर्छ | यहाँ सामाजिक संरचना, घर परिवार वा समाजको अन्तरक्रिया, घर/समाजले गरेको अपेक्षा र दौतरीहरुले भूमिका खेलेको हुन्छ |अझै महत्वपूर्ण कुरा के हो भने उनीहरुले पनि पुरुषलाई `पवित्र’ वा आफु भन्दा माथिको मनकको रुपमा स्थापित गरिसकेका हुन्छन |

छोरीहरुको यो करिब ७ बर्षको उमेर वा महिनाबारी हुनुपूर्वको उमेर उनीहरुको आत्मसम्मान, आत्मबल, बार्गेनिंग क्षमता, कुनै तनावग्रस्त अवस्थाको ब्यबस्थापन गर्नको लागि महत्वपूर्ण उमेर हो | यो समयमा उनीहरुले आफ्नो जन्म घर परिवार वा प्रकृतिको लागि एक अदभुत उपहार हो भन्ने सोच र बाताबरणमा हुर्कन पाए भने उनीहरु मर्यदापुर्बक बाच्न सक्छन अन्यथा उनीहरुलाई यो वा त्यो बहानामा महिनाबारी विभेद (निषेध गर्ने, लाज मान्ने, बार्ने, हिंसा) आफैले निरन्तर गर्छन मात्र हैन कि यसको उपजको रुपमा अन्य हिंसाहरुमा पर्दै जान्छन, सहदै वा चुपचाप रहदै जान्छन | महिनाबारी विभेद हिंसाको कारण र प्रतिउत्पादन दुवै हो | घर परिवार र समाजको नियम चुस्तदुरुस्त राख्न उनीहरुकै जिम्मा लिएका हुन्छन | कसैले हेप्यो, यौनदुर्ब्यबहार गर्यो भने पनि आफ्नै दोष देख्न थाल्छन| आफैले नै सहनु पर्ने वा आहुति दिनुपर्ने अनुभुतीले उनीहरुलाई प्रोत्साहन गरिरहन्छ र जस्तोसुकै असहज परिस्थितीमा पनि सहजको नाटक गर्न थाल्छन | हुदा हुदा उनीहरु अन्तर्मुखी हुने, एकलकाटे बन्ने हुदै उदासीपन, आत्महत्याको शिकार बन्छन | 

मस्तिष्कको विकास गर्भभित्र र बाहिर हुन्छ तर त्यसलाई कसरी फ्रेमिंग गर्ने, कस्तो सामाजिकीकरण गर्ने भन्ने कुरा अत्यन्तै जरुरी छ | उनीहरुको मस्तिस्कमा कसरी स्वतन्त्र, स्व निर्णय गर्न सक्ने सोच, ब्यबहारको सामाजिकीकरण गर्ने, प्रश्न गर्न सक्ने, आलोचक चेत कसरी भर्ने भन्ने महत्वपूर्ण हुन्छ | यहानेर बाबुआमा, स्कुल र बाल बालिकाको क्षेत्रमा काम गर्ने सरोकारवालाहरुले सोच्नुपर्ने देखिन्छ |  यहानेर सरकार वा कसैलाई ठुलो ठुलो स्वरले धाराप्रबाह बोल्न सक्ने बालबालिकालाई राम्रो मान्नु आलोचक चेतको मानक नहुन पनि सक्छ  |

आजको न्यानो सेकेन्डमा चलिरहेको समाजमा सहज चल्नु सजिलो कुरा जो कोहीलाई पनि छैन | मर्यादा विकास गर्ने थुप्रै अबयबहरु छन् कति त सुचनामा ल्याउन पनि सक्ने अबस्था छैन |तथापी तर पनि चाहे बालक होस् वा बालिका हामी (अभिभाबक, स्कुल, सरोकारवाला, र राज्य) यो बिषयमा गम्भीर हुने पर्छ | बालकहरुले यो महिनाबारीका कारण उ जन्मिएको र यो संसारको गति चलायमान रहेको थाहा पाउने बितिकै उसले कुनै पनि महिलालाई हेप्ने सोच्न पनि सकदैन भने बालिकाले उसको वा महिलासंग भएको यो दिब्य शक्ति थाहा पाउने वित्तिकै आफू हीनताबोध भएर हुर्कन्न |

बाल बालिकालाई मर्यादित रुपमा हुर्काउन घरमा कुनै पनि किसिमको महिनाबारी बारिनु हुदैन | एउटा बार्दा दिने अन्तरनिहीत संदेश र दर्जनौ बार्दा दिने संदेश एकै हो–फोहोरी वा अशुद्द | फोहोरसंग जोडिने बितिक्कै आफुले आफुलाई सिमित घेरामा राख्न थाल्छन चाहे त्यो बालक होस् वा बालिका| घरमा सिनेमा, किताब वा कुनै सामग्रीको सहयोगमा महिनाबारीको कुरा सकेसम्म पुरुषले शुरु गर्ने र महिलाले थप्ने गर्यो भने झन् सहज हुन्छ | यो क्रम चलाई रहनुपर्छ वा एकपटक भनेर हुने होइन | त्यसैगरि स्कुलले पनि त्यस सम्बन्धि सामग्रीको देखिने गरी प्रयोग गर्दै अतिरिक्त क्रियाकलापमा समाबेश गर्नुपर्दछ | अझै मानसिक र शारीरिकरुपमा तयारी गर्न कम्तिमा पनि तिन कक्षाबाट मर्यादित महिनाबारीको बारेमा छलफल गराउदै छ कक्षामा सकिसक्नुपर्छ किन कि अधिकाम्स महिनाबारी भैसकेका हुन्छन र उनीहरु सामाजिक भूमिकामा पनि आउन थालिसकेका हुन्छन |

महिनाबारी प्राकृतिक भए तापनि यससंग जोडिएको विभेद जटिल, बहुमुखी र जन्मदेखि मृत्युसम्म छ | घरबाटै, बालबालिका तहदेखि नै मर्यादित महिनाबारीको बारेमा बहस गर्नु भनेको यौन दुर्ब्यबहार कम गर्न, चाडो बिबाह कम गर्न, प्रजनन स्वास्थ्य सुधार गरि लैंगिक समानता र सम्पूर्ण मानब अधिकारको प्रबधन गर्नु हो | महिनाबारीको सघन बहसले समाजमा जकडिएको जातीय ब्यबस्थालाई खुकुलो बनाउँछ | महिनाबारीको दृष्टिकोणले जात जम्मा दुइ हुन्छन महिनाबारी हुने र नहुने | महिनाबारी हुने भन्नाले किशोरी, महिला, ट्रान्स म्यान, क्विर बुझाउछ भने मर्यादित महिनाबारीले जीबनचक्रभर नै महिनाबारी हुनेहरुको मर्यादा वा मानब अधिकारको दाबी गर्छ | तसर्थ मर्यादित महिनाबारीको बहस गर्न ढिलो नगरौ | मर्यदा’ केन्द्रित नगरिएको कुनै पनि महिनाबारीको बहसले माथि अपेक्षा गरिएको नतिजा दिन सक्दैन बरु नकारात्मक वा अमर्यादित संदेश सप्रेषण गरीरहेको हुन्छ |    

(This is published in Jhannaya)   

 

  

Ministry of Health and Population, Nepal invited for facilitated the session on Dignified Menstruation in Jansewa Secondary School, Kirtipur...