Friday, September 24, 2021

The history of Menstrual Discrimination

 

महिनावारी विभेदको नालीबेली

यो पृथिबीमा पाठेघर र अन्डाशय लिएर जन्मिएका व्यक्तिहरु अपवादमा बाहेक सबै महिनावारी हुन्छन जुन जैविक अनिबार्य प्रकिर्या हो | चिम्पान्जीको उदयसंगै वा ४ खर्ब बर्ष देखि महिनावारी बिध्यमान भएको रेकर्डमा देखिन्छ | बिशेषत मानब बिकासको क्रममा कृषियुगको शुरुवात हुँदै गर्दा महिलाहरु महिनावारी भएको देखेपछी डर, आश्चर्य, शंका संगसंगै महिलालाई फरक दृष्टिकोणले हेर्दै भिन्न ब्यबहार जस्तो `फोहोरी’ गर्न थालेको अनुमान गर्न सकिन्छ | यहि परिवेशमा समाजलाई अनुगमन गर्न बनेका नियम वा धर्ममा त्यहि फोहोरी भगवानको पापमा स्थापित हुँदै अन्तत महिलाहरु फोहोरी, अपवित्र भन्ने सोच स्थापित हुँदै गयो | अझ केहि महिलाहरुलाई महिनावारीका कारण देखिने केहि गम्भीर अबस्थाका  कारण महिलाहरु खासमा कमजोर प्राणी हुन् भन्ने कुराले स्थान पाएको देखिन्छ | यसै कारणले महिनावारी भएका बेला के के खान हुन्छ/हुँदैन, के के छुन हुन्छ/हुँदैन, कहाँ कहाँ जान हुन्छ/हुँदैन भन्ने सिमा वा बन्देजहरु निर्माण भए | अभ्यासमा आए | बानी परे वा परम्परा बने | संस्कार बने | महिलालाई कमजोर, शक्तिबिहिन, पापी वा फोहोरी मानिएका कारण उनीहरुको पूर्ण जिबन (जिबनभर) नै कमजोर, परनिर्भर बनाइयो | बिभिन्न नियमहरुको निर्माण गरी महिलालाई नियमन गरियो | जसले गर्दैन उसलाई बहिस्करण गर्ने, होच्याउने वा सजाय दिने  आदि गरेरै भए पनि महिलाहरु पुरुषको मातहतमा राख्ने पद्दति बन्यो | एतिहासिक र संस्कृतिक रुपमा महिलाहरु निम्सरो बनेपछि यसको प्रभाब समाजका अन्य अयबयमा पनि पर्दै गयो अन्तत शक्तिको बाघडोर नै पुरुषमा पुग्यो |

त्यस्तै एउटा परिवारमा शक्ति निर्माण र पितृसत्तात्मक सोचको निर्माण र सामाजिकीकरण कसरी भैरहेको हुन्छ भनेर हेर्नु पनि जरुरी हुन्छ | बच्चा जन्मेपछि करीब ३ बर्षको उमेरमा नै आमा वा बाको गतिविधिमा चासो हुन्छ | केहि समयसम्म स्मरण पनि गर्न सक्ने क्षमता भएकोले मेरो आमा महिनावारीको अभ्यासमा छन् भन्ने थाहा पाएको हुन्छ | तर करीब ६-९ बर्ष देखि आफ्नो जिबनमा जोडेर हेर्न थाल्दछ | छोरीहरुले आफु महिनावारी हुनु पूर्व नै `म ठुली भएपछी महिनावारी हुन्छु, मैले पनि आमाबाले भने झैँ, गरेझै सबै बन्देजहरु गर्नुपर्छ, म फोहोरी, म सानो, म पापी (ठाउँ अनुसार शब्द फरक हुनसक्छ तर मान्यता एकै हो) | यो अवस्था करिब ६ बर्ष ( ७ बर्ष देखि १३ बर्ष सम्म-यदि महिनावारीको १२ बर्षमा भएको मान्ने हो भने)| यो बुझाई यतिसम्म शसक्त हुन्छ कि कुनै पनि व्यक्ति वा निकायले यो सोच बदल्न हम्मेहम्मे पर्छ | धेरैजसो अबस्थामा स्वतस्फुर्त रुपमा किशोरी आफै गर्न थाल्छिन वा महिनावारीका बन्देज अभ्यास गर्छिन | म महिला भएर जन्मनु मेरो भाग्य, मैले प्रश्न गर्न हुदैन, सहनुपर्छ आदि आफुलाई निम्सरो देख्ने बिम्बहरू कति सिक्ने, आफुले अर्थ लगाउने, नया अभ्यास वा नियम पनि निर्माण गर्ने भएर जान्छ | उनलाई आफु, आमा भन्दा भाइ, दाइ वा बाप्रति बिस्वाश र भरोशा /बिस्वाश लाग्न थाल्छ | अर्कोतिर छोराहरु त्यहि उमेरमा म पबित्र, कहिल्यै महिनावारी हुनु नपर्ने, म खास मान्छे भन्ने भावनाको विकास हुन्छ | परिवार र समाजको सदस्य वा उनीहरुको व्यवहारले पनि यहि कुरा पुस्टि गर्दै गएको हुन्छ |  हरेक दिन (समुदायमा) वा हरेक महिना (परिवारमा) कोहि न कोहि महिनावारी हुने हुँदा यो शक्ति निर्माण प्रक्रिया र पोजिशिनिंग पनि स्मरण, पुनः स्मरण हुँदै जाँदा बलियो पनि हुन्छ |  अन्तत सबैतिरबाट छोरीहरु कमजोर र छोराहरु बलिया भन्ने अबधारणा निर्माण र लागु हुन्छ | यसरी महिनावारी विभेदले शक्ति र पितृसत्तात्मक सोच दुबैको संगसंगै निर्माण र सामाजिकीकरण हुन्छ | मार्क्सवाद वा अन्यहरुले पितृसत्तात्मक सोचको निर्माणको ब्याख्या फरक तरिकाले गर्ने/गरेकोले पनि महिनावारीको विभेद बहसमा आउन नसकेको हो | शहर वा बिकशित देशमा पनि महिनावारी विभेद फरक नाम, स्वरुप वा बहानामा अभ्यासमा छ | कतिपय ठाउमा सजिलै देखिन्छ भने कतिपय ठाउमा देखिदैन |अन्य सामाजिक अबस्थाका कारण तरिकाहरु फरक होलान, आयाम फरक हुनसक्छ , धेरै थोरै होलान तर केहि न केहि विभेद जहाँ सुकै छ | इलाम/काठमाडौँ/पोखरामा महिनावारी भएका बेला छुटै कोठा/कुनामा सुत्छन् देखिदैन तर पश्चिम नेपालका केहि भागमा देखिन्छ | सन् २०२१ को जनवरीमा बेलायतमा प्रकाशन गरिएको अध्ययनमा दश जना महिनावारी भएका महिला मध्य ९ जनालाई चिन्ताको महसुस गर्छन | अझै रजनोबृतिको, यौन तथा लैंगिक अल्पसंख्यक, अपांगता भएका, प्रकोप र महामारी भएका समयका कुरा गर्ने हो भने यो अझै डरलाग्दो छ | कोरोनाको मूल मानिने युआन,चीनका महिला स्वास्थ्यकर्मिहरुले महिनाबारी विभेदका कारण लुकेर गर्भ निरोधक औसधि सेबन गर्न बाध्य भएको घटनाले स्पस्ट पार्दछ कि महिनावारी विभेदको जटिल र बहुआयामिक प्रकृति |

हो महिनावारी विभेद एकदम जटिल र बहुआयामिक छ | यो केवल ५ दिन बग्ने पाच पसर वा ८० मिलि रगतको कुरा होईन | महिनावारी विभेदले पेटमा बच्चा आएदेखि मृत्यु प्रयन्तसम्म खास गरी नकारात्मक असर गरेको हुन्छ | लिंग पहिचान गरेर भ्रुणहत्या गर्ने, जन्मेपछि बाकसमा राखेर झाडी वा खोल्सोमा फाल्ने, स्याहार सम्भार कम गर्ने, नपढाउने/सरकारी स्कुल राख्ने, धेरै काम लगाउने आदि कसलाई गरिन्छ ? जबाफ आउछ -छोरीहरुलाई | महिनावारी बार्ने भए स्कुल जान नपाउने, गए पनि विभेदका कारण ४ बजे नै उठेर तयारी गर्नुपर्ने, गृहकार्य गर्नलाई अनुकुल बाताबरण (बस्ने ठाउँ, उज्यालो, कपि किताब आदी) नहुने, स्कुलमा पनि महिनवारीलाई लाज वा निषेध गर्ने/हेर्ने भएकोले भित्तो, कुनोको छेउमा बस्ने, बाक्ला लुगा वा डबल लुगा लगाउने, हेर्दै उज्यालो नदेखिने लुगा लगाउने, पढाई भन्दा रगत देखिन्छ वा बेन्चमा लाग्छ कि भनेर सोच्ने, स्कुलको सरचना महिनावारी मैत्री नहुने आदि कारणले पढाई बिग्रने/असफल हुने र अन्तत भागेर वा परिवारले बिबाह गरिदिने अभ्यास देखिन्छ | यहानेर महिनावारी विभेद एक्लै, सिधा देखिएको छैन | यो कारण र नतिजा दुवै हो |  माथि उल्लेख गरिएका आनीबानी र उल्लेख नगरिएका अदृश्य क्रियाकलापहरु जस्तो, सफा लुगा लगाउने, सधै सुत्ने ओछ्यानमा नसुत्ने,  भोक तिर्खा लाग्दा आफै सधै झैँ झिकेर खान नपाउने आदि कुराहरु सयुक्त रास्ट्रसंघको यौनिक र लैगिक हिंसाको परिभाषा होस् वा नेपालको घरेलु हिंसा कसुर एन २०६६ ले परिभाषित गरेको यौनिक, शारीरिक, भावनात्मक र स्रोत र अबसरबाट बन्चित हिंसा हुन् | नेपालको संबिधानले ग्यारेन्टी गरेका मौलिक अधिकारहरु जस्तो सम्मानपुर्बक जिउन पाउने अधिकार, स्वतन्त्रताको अधिकार, खाना, बासको अधिकार, शिक्षा, स्वास्थ्यको अधिकार, छुवाछुत बिरुदको अधिकार, महिलाको हक आदिको हनन पनि भैरहेको हुन्छ | यसो त महिनावारी विभेदले बिबाह मात्र हैन २४ सै घण्टा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अनबरत असर  पुराईरहेको हुन्छ | तर दृष्टिकोण नै फरक भएकोले महिनावारीका कारण हो भन्ने नै महसुस नभएको अबस्था हो |

अलिकति हाम्रो बिगतलाई नियालेर हेर्ने हो भने सन् १९४८ बाट वा ७३ बर्ष देखि विश्वले मानब अधिकारमा काम गरिरहेको छ | तर माथि उल्लेख गरिएका विभेदले हनन गरेको मानब अधिकारको आबाज बिरलै सुनियो भन्दा अतिशयोक्ति नहोला | त्यसैगरी सन् १९७९ देखि वा ४२ बर्ष देखि महिला माथि हुने सबै खालका विभेद बिरुदको महासन्धि (CEDAW) मा काम भैरहेको छ तर महिनावारी विभेदले पलपल निम्त्याएका विभेद र हिंसाहरुको मानब अधिकारमुखी सुनुवाई भएको देखिदैन | पछिल्लो समय संसारभर बढी चर्चामा भएको नीति भनेको लैगिकता र समाबेशी नीति हो जसलाई जेसी नीति वा जेसी बिज्ञ वा लैंगिक उत्तरदायी बजेटका नामले सरकार र गैरसरकारी निकायमा प्रशस्त सुनिन्छ | तर ती नीति वा बिज्ञले महिनावारी विभेदको उच्चारण पनि गरेको देखिदैन | समस्या नै पहिचान नभएको अबस्थामा सम्बोधन (मर्यादित महिनावारी) हुन्छ भनेर बिस्वाश गर्नु भ्रम मात्र हो | मर्यादित महिनावारी महिनावारी विभेद न्यूनीकरण गर्ने रणनीति वा रोड म्याप हो |

केहि बिज्ञहरुलाई लाग्न सक्छ कि मैले/हामीले बिगत २७ बर्षदेखी अर्थात् सन् १९९४ कायरो सम्मेलनदेखि म/हामीले प्रजनन अधिकारमा काम गरेको छु/छौ  | झट्ट हेर्दा हो जस्तो पनि लाग्छ तर मर्यादित महिनावारीमा काम गरेको भनेर भन्न गाह्रो छ | किनभने नेपालमा प्रजनन स्वास्थ्यमा काम गर्न थालेपछि लाज, निषेध, विभेदका बीच नै महिनावारी शरीर बिकासको एक चरण, सामान्य लक्षण हुँदै सुरक्षित मातृत्वमा केन्द्रित रह्यो (जुन केहि हदसम्म सफल पनि छ) | तर महिनावारी र यो संग जोडिएको विभेद यसको व्यक्ति (किशोरी, महिला, क्विर, ट्रान्स म्यान)को जिबनचक्रसंगै सामाजिक, आर्थिक, राजनीतिक, पर्यबरनीय आदि पक्षलाई विश्लेषण गरिएन अर्थात् महिनावारी विभेदले बहसका लागि प्राथमिकता पाएन |

अर्कोथरी विज्ञहरुको मत हुन्छ कि हामीले मर्यादित महिनावारीमा काम गरेका छौ किनभने प्याड बाडछौ, चर्पी बनाउछौ वा पानीको ब्यबस्था गर्छौ | झट्ट सुन्दा हो कि झैँ लाग्छ | तर यो महिनावारी  सरसफाईमा काम गरेको हो | तपाइले बाड्नु भएको प्याड, बनाउनु भएको चर्पी, वा सहयोग गर्नु भएको स्कुल मर्यादित महिनावारी मैत्री छन् कि छैनन् भन्ने कुरा महत्वपूर्ण हुन्छ | आप रोपेर ओखर नफले झैँ मर्यादित महिनावारीको लागि विभेद छ कि छैन भन्ने कसी लगाउनु पर्छ | यो आफैमा गाह्रो पनि छ | व्यक्ति धेरै पढेको वा विदेश पढेको हुनसक्छ वा संस्था धनी हुनसक्छ तर मर्यादित महिनावारी मैत्री व्यक्ति/संस्था नहुन सक्छ | मर्यादित महिनावारी व्यक्ति, परिवार, संस्था,स्कुल, सार्बजनिक/नीजी कार्यालय सबैतिर २४ सै घण्टा हुनुपर्छ | जसको सामान्य आधार भनेको बहस खुल्ला गर्ने, विभेद नगर्ने, आचार सहिंता बनाएर लागु गर्ने, आदि कुराहरु पर्दछन | अर्थात् महिनावारी हुनुपुर्ब, भैसकेको, हुँदैगरेको, सुक्दै गरेको, सुकेको (रजनोबृति) सबै तफ्तालाइ मर्यादित बाताबरण हुनुपर्दछ | अर्थात् महिनावारिकै कारण लज्जित हुनुपर्ने, जागिरमा खटपट हुने, सम्बन्धमा दरार आउने, अमर्यादित, हीनताबोध हुने आदि अवस्था निस्तेज हुनु पर्दछ |त्यसैले मर्यादित महिनावारी नीतिगत तहमा आई मुलप्रबाहीकरण हुनु आजको आबश्यकता हो |

तर अफसोच नै मान्नुपर्छ कि हामीहरु अधिकाम्सले सबै तह र तफ्तामा महिनावारी विभेदलाई बुझ्न नै खोजिरहेका छैनौ | कसैका लागि नारिबादिको ठेक्का, कसको लागि विकासे एजेन्डा वा डलरबादि, कसैको लागि महिलाको मामला, कसैको लागि गरीब/अशिक्षितहरु सबाल, कसैको लागि सेलिब्रिटी बन्ने माध्यम, कसैको लागि सस्कृति आदिको रुपमा हेरिएको छ |

हामी बदलिन बाध्य छौ | बदलिरहेक छौ | सिक्दैछौ | सिक्दै रहनुपर्छ वा सच्चिन तयार हुनुपर्छ | आज सिकेका, ठिक भनेका मानकहरु अनुसन्धान र अनुभवले भोलि बेठिक भन्छन/भन्न सक्छन | आज पनि धेरैलाई आफुले महिनावारिका कारणले सधै गर्ने क्रियाकलापबाट छुटिएको वा महिनावारी भएका बेला गरिरहेका आनीबानी फरक हुन् भन्ने स्वीकार गर्न गाह्रो लाग्न सक्छ | अग्लो सफा घरमा, धनी परिवारमा, इन्टरनेट र टेलिभिजन सहित फरक क्रियाकलाप महिनावारी बार्ने अभ्यास वा विभेदको स्वरूप हो भन्ने लागेको छैन | त्यसैगरी भाषाले केवल संचारको मात्र काम गरेको हुँदैन यसले सोच निर्माण गर्न पनि उत्तिकै भूमिका खेलेको हुन्छ | समाजले हिजो अस्ति देखेका, बोलेका भाषाको मर्म खोजेको छ ? मानबता छ कि छैन बिस्लेष्ण गरेको छ | अनि गरेको छ मर्यादा | किनभने समाजले यसकै लागि वा लोकतन्त्रका खातिर लडेको छ | व्यक्ति होचो-अग्लो, गहुँगोरो -गोरो, धनी-गरीब, गाउ- शहर आदि  सबै फरक फरक हुन्छन तर साझा कुरा मर्यादा हुनुपर्छ | मर्यादा शिथिल भएर वा थिचिएर समाज अग्रगमन हुन् सक्तैन |यसका लागि फेरी पनि पल पल नै लोकतान्त्रिक अभ्यास हुन् जरुरी छ | सुन्न जरुरी छ | भोग्नेको आबाज सुन्न जरुरी छ |महिनावारी विभेद दृश्य महिनावारिले निर्माण गर्ने अदृश्य  शक्ति निर्माण गर्ने राजनीतिक सबाल हो | मर्यादित महिनावारीलाई राजनीतिक अधिकारका रुपमा सम्बोधन गरेमा मात्र महिनावारी विभेद र यसले सृजना गर्ने तमाम विभेदको न्यूनीकरण सम्भब छ |  

 

        

 

 

Ministry of Health and Population, Nepal invited for facilitated the session on Dignified Menstruation in Jansewa Secondary School, Kirtipur...