Tuesday, September 14, 2021

The men is the cause for violence against girls and women

 

 हिंसाको जड पुरुष  |

राधा पौडेल [1]

सबै भन्दा सुरक्षित स्थान कुन हो ? भनेर कसैलाई सोध्ने हो भने `घर’ सबैको साझा जबाफ आउने कुरामा दुइ मत छैन | चाहे जुन सुकै पृष्ठभूमिको होस्, घर प्यारो, राम्रो र सुरक्षित लाग्छ | घर प्रति आस्था, प्रेम र संस्कार छ तर यो बास्तबिकता हैन | बिगत लामो समय देखि देखिएका लैंगिक हिंसाहरुको तथ्यांक हेर्ने हो भने घर सुरक्षित ठाउँ हैन | छैन | सन् २०२० मा राष्ट्रिय महिला आयोगको तथ्यांक अनुसार ९३ प्रतिशत हिंसा घरमा घटेका छन् भने त्यसमा ८२ प्रतिशत घटनाहरु घरका पुरुष सदस्य जस्तो हजुरबा, बा, दाई, भाइ, काका, मामा वा घरमा काम गर्न आइरहने व्यक्ति जस्तो टिउशन पढाउन आउने शिक्षक |

हालसालै गरिएको अध्ययन अनुसार १० बर्ष मुनिका बालिकाहरु हिंसामा परेको र १० बर्ष मुनिका बालकहरु हिंसा गर्ने तथ्यांक देखाउछ | यसले पनि हाम्रो घरको सामाजिकीकरण माथि प्रश्न उठाएको छ | हाम्रो घर सुरक्षित छैन भन्ने तथ्यलाई प्रमाणित गर्दछ | यसको लागि जिम्मेबार को हो त ? घरमा शक्ति कसको छ ? कसले नेतृत्व गरेको छ ? त्यो नेतृत्वले ठिक गरिरहेको छ ? छैन भने किन छैन ? के गर्यो भने, के भयो भने घरलाई सुरक्षित र मर्यादित बनाउन सकिन्छ यो आजको नेपालको मात्र नभएर विश्वभर सामाजिक न्यायमा बिश्वास गर्नेहरुको लागि चुनौती हो | प्रश्न हो |    

हिंसा भन्ने बितिक्कै हाम्रो दिमागमा कुटपिट भएको अवस्था, हात खुट्टा भाचिएको, चोट लागेर देखिने खालको वा रगत आएको, बलात्कार भएको आदि घटनाहरु मात्र हिंसा हुन् भन्ने मात्र आउछ | बास्तबमा यस्ता घटनाहरु अपवादमा बाहेक एकैदिन वा एकैछिन वा आवेगमा आएर घट्ने होइनन | हिंस्रकले लामो समयदेखि पिडितको सामाजिक,आर्थिक, पारिवारिक आदि सबै पृष्ठभूमिको बिस्लेषण गरिरहेको हुन्छ वा हेपिरहेको हुन्छ | यसरी उसले हेप्ने प्रकिर्या उसको मात्र नभएर पिडित बाचेको परिस्थितीमा सबैले सबै मानेमा हेपिरहेको वा विभेद गरिरहेको हुन्छ | अर्थात् ती पिडित (माथिको तथ्यांकअनुसार किशोरी वा महिला) को मुल्य हुँदैन | घर, छिमेक, कार्यक्षेत्र सबैतिर हेपिरहेको अवस्था हुन्छ | यो हेपिने, महिला भन्ने लिंग प्रति हेप्ने मनस्थिति कसरी बन्छ, किन बन्छ , कुन तत्वले टेवा दिएको हुन्छ त्यो महत्व हुन्छ | महिलाको लिंग हो भन्ने बुझ्ने बितिक्कै गर्भदेखि नै लिंग पहिचान गरि गरि गर्भपतन गराउने, जन्मेपछि बाकसमा हालेर खोला वा झाडीमा फाल्ने, पठनपाठन, हुर्काइमा हेला होचो गर्ने, चाडोबिबाह गरिदिने, उपचारमा पनि कम ध्यान दिने, मरे पछी पनि काजक्रिया पनि विभेद पूर्ण तरिकाले गर्ने आदि सबैकुराहरु विभेद हुन् | जहाँ धरधरी रगत बगिरहेको हुँदैन |हात भाचिएको हुँदैन | बलात्कार भएको हुदैन तर विभेदको खात हुन्छ खात | यो पलपलमा विभेदका कारण देखिने हिंसा हुन्छन | यसरी नदेखिने विभेद वा हिंसाका बारेमा कुनै पनि सम्बोधन हुन् सकिरहेको अवस्था छैन | ती विभेदको चांग ल्याउने कारक भनेको महिनावारी विभेद हो अर्थात् महिनावारीलाई अपवित्र वा अशुद रगत मानिएको कारणले हो |  

हाम्रा पुस्तक, औपचारीक, अनौपचारीक सबै छलफलहरुमा यस्ता विभेद र हिंसाको कारक तत्व पितृसत्तात्मक सोच वा पितृसत्ताले गर्दा भयो भनेर सोलोडोलो जबाफ आउछ | यो केहि हदसम्म ठिक पनि हो फेरी ठिक पनि हैन | हामीले  पितृसत्तात्मक सोच भनेर करिब ४ दशक बिताइसकेका छौ | यो नदेखिने पितृसत्तात्मक सोच वा प्रणाली भित्र के छ, कहिल्यै खोजेका सोचेका पनि छैनौ अनि एकोहोरो दोष मात्र लगाएका छौ | के यसले हामीलाई पार लगाउला | हामीले हाम्रो घरलाई सुरक्षित र मर्यादित बनाउन सकौला ? बिगत हेरेर शंका गर्ने ठाउँ प्रशस्त छन् र भन्नु पर्ने हुन्छ –सकिदैन | त्यसोभए केहो हो त त्यस्तो कारण, कसरि त्यो कारण हो एकछिन महिनावारी विभेदलाइ घोत्लिएर हेरौ |

कुनै पनि बच्चा छोरा होस् कि छोरी करिब तिन बर्षदेखी नै उसले/उनले आफ्नो घरमा कुनै पनि महिलाले महिनावारी गरिएका अभ्यास वा ब्यबहार देखेको हुन्छ र उसलाई थाहा हुन्छ जस्तो रगत चर्पी वा कतै देखिनु, कपडा, टाला वा प्याड छुट्टै धुनु, ब्यबस्थापन गर्नु, भान्सामा नजानु, सधै सुत्ने ठाउमा नसुत्नु वा सधै गर्ने काम नगरेर फरक गर्नु वा छुट्टिनु , वा रेडियो वा टेलिभिजनमा कुनै बिज्ञापन देख्नु आदि | यी कुराहरुले उनीहरु मेरी आमा वा दिदी वा काकी महिनावारी भएको थाहा पाउछन तर आफ्नो जिबनमा तालमेल गर्न सक्दैनन  |   

जब उनीहरु ६ बर्ष देखि माथि लाग्छन तब उनीहरुले भेद छुटाउन थाल्छन | आफ्नो जिबनमा जोडेर हेर्न थाल्छन | जस्तो छोरीहरुले म पनि ठुलो भए पछी महिनावारी हुनुपर्छ | आमाले नगर्नु भएका सबै कुरा मैले पनि गर्नु हुँदैन | महिनावारी हुनु भगवानको पाप हो | यो अशुद र फोहोरी रगत हो | यो महिला भएका कारण यी सब कुराहरु मैले मन परे पनि नपरेपनि गर्नु पर्छ | यो मेरो धर्म हो | सस्कृति हो | मैले चुपचाप सहनु पर्छ | बोल्नु हुँदैन | प्रश्न गर्नु हुँदैन | यदि १२ बर्षको उमेरमा पहिलो महिनावारी भईन भने महिनावारी हुनु पूर्व करिब ६ बर्ष ( ७, ८, ९, १०, ११, १२ ) उनले महिनावारी हुँदा बार्नु पर्ने कुराहरु के के खान हुन्छ/हुँदैन, के के छुन हुन्छ/हुँदैन, कहाँ कहाँ जान हुन्छ/हुँदैन सबै कण्ठ हुन्छ | शुरुमा उनलाई नरमाइलो लाग्छ | दिक्क लाग्छ | अमानबिय लाग्छ | रुन मन लाग्छ | मर्न मन लाग्छ | छोरा भएर जन्मन मन लाग्छ | तर आफु भन्दा ठुला महिला पुरुषबाट देख्दा देख्दा, सुन्दा सुन्दा उनलाई पनि लाग्छ के गर्ने म छोरी भएर जन्मे नि त | छोरी भए पछी यो सब सामान्य हो भन्ने आत्मसात हुँदै जान्छ | भोलि महिनावारी भए पछी कसैले गर नगर भन्नु अघि नै उनि आफै फटाफट गर्न थाल्छिन | कसैले नगर भन्यो भने पनि उनलाई मन पर्दैन | आफु अपराधी महसुस हुन्छ | पापी भएको अनुभूति हुन्छ | घरमा केहि भैहाल्छ कि भन्ने डर लाग्छ | तसर्थ स्वतस्फूर्त आफै गर्दै जान्छिन |  

अर्कोतिर छोराहरुले म कहिल्यै पनि महिनावारी हुँदिन | म शुद | मैले जे गर्नु पनि हुन्छ | जहाँ जान पनि हुन्छ | जे खान पनि हुन्छ | म छोरा शक्तिशाली भन्ने अनुभूतिको सामाजिकीकरण हुँदै जान्छ | उसले घरमा सानो दिदी वा बहिनीहरुलाइ हेप्ने, काम नगर्ने, वा आमाले भनेको नमान्ने, गर्न नहुने कामहरु गर्दै जाने आदि खालका व्यवहार देखाउदै जान्छन | जुन छोरीले घरमा दाई वा भाइ वा बाले छोएको, बोलेको मलाई मन पर्दैन, मलाई नराम्रो लाग्छ भन्न सक्दैन | उनीहरुले स्कुलमा जति नै सुकै `ब्याड टच र गुड टच‘ को तालिम दिए पनि, आत्म रक्षाको प्रमाण पत्र दिए पनि उनीहरुले आफुलाई आबश्यक परेको बेला आफुलाई रक्षा गर्न सक्दैनन् |स्कुलमा कुनै साथीले वा शिक्षकले दुर्ब्यबहार गर्यो भने उसले प्रतिबाद गर्न सक्दैन | भोली आफ्नो साथी वा पार्टनर संग पनि प्रतिबाद गर्न सक्दैनन् | पछी बिबाह भएपछी पनि सहने बानी पर्छ | श्रीमान हिंस्रक छ भने सहने बानी पर्छ | अन्त्यमा केहि गरि भएन भने आत्म हत्याको प्रयास हुन्छ | आत्म हत्या गर्न नसके मात्र रिपोर्ट गर्ने /गरेको अवस्था देखिएको छ | एउटा महिलालाई मृत्यु रोज्न बाध्य बनाउन महिनावारी विभेदले मुख्य भूमिका खेलेको हुन्छ तर अफसोच यसको बारेमा बहस नौ हुँदैन |

जुन छोराले घरमा नराम्रो लागेको कुरा गर्न हुँदैन, `नो’ वा हुँदैन भनेको हुँदैन भन्ने आत्म सात गर्न सक्दैन | उसले स्कुलमा पनि हुँदैन भन्ने मान्यतालाई मान्दैन | किशोरीहरुलाई छुने, के के भन्ने, दुख दिने, दुर्ब्यबहार गर्ने गर्छन | पछी आफ्नो केटि साथी वा पार्टनरलाइ पनि अमानबिय व्यवहार गर्दा राम्रो लाग्ने हुन् जान्छ | चाहेर पनि उसले आफुलाई परिबर्तन गर्न सक्दैन | आज दिनको ६ जना किशोरीहरु बलात्कारमा पर्नुको पछाडी वा घरमा ९३ प्रतिशत हिंसा ८२ आफ्नै चिनजान पुरुषले गर्नुको पछाडिको मूल कारण यहि नै हो |   महिनावारी विभेदले महिलाहरुलाई मात्र हैन पुरुष हरुलाई पनि हानी गर्दछ | बर्बाद गर्छ | पीडक बनाउछ | बलात्कारी करार गरेको छ |

यदि घरमा महिनावारीको बारेमा घरमा कुरा गरेको भए, महिनावारीको महत्वको बारेमा कुरा गरेको भए के यस्तै अवस्था रहन्थ्यो र ? रहदैनथ्यो  | किनभने छोरीहरुले म महिनावारी भएका कारण यो संसार अघि बढेको छ | यो दुनियामा जे विकास भएको छ यो सबैको कारण भनेको महिनावारी हो अन्यथा यो दुनिया शुन्य हुनेथियो, मानब बिहिन हुनेथियो भन्ने बुज्थे, महिनावारीको रगतलाई प्राकृतिक बरदानको रुपमा, शुद रगतको रुपमा लिए, गौरबका साथ स्वीकारे भने उनीहरुलाई आफु मानब भएको अनुभूति हुन्छ | मर्यदित् भएको अनुभूति हुन्छ | उनीहरुमा आत्मबिस्वाश हुन्छ | आफुले आफुलाई बिस्वाश गर्न, माया गर्न, सम्मान गर्न थाल्छन | अर्कोतिर यदि केटाहरुले सानो बेलामा थाहा पाए, उनीहरुको अस्तित्व नै महिनावारिले सम्भब भएको, महिनावारीको रगत शुद्द भन्ने थाहा पाए भने उनीहरुने केटीहरु वा महिलाहरुलाई आफु भन्दा पनि बढी गुण भएको, बिशेषता भएको मानबको रुपमा आत्मसात गर्छन | उनीहरुलाई कदर गर्न थाल्छन | घरमा भएको शक्ति सन्तुलन सानो अवस्था देखि नै अभ्यास गर्न थालेको केटा होस् वा केटि भबिस्यमा पनि मर्यादित, विभेद मुक्त, सम्मान र न्यायामैत्री घर, स्कुल, कार्यक्षेत्र सबैतिर बाच्न सक्छन | त्यसको लागि पैरवी गर्न सक्छन |

शदियौ देखि मानिआएको, गरिआएको महिनावारी बार्ने अभ्यास वा सस्कार माथि विभेदको धावा बोल्दा धेरैलाई मन दुख्छ | हैन रिस नै उठ्दछ | के के लेखु लेखु लाग्छ अनि नानाथरी गाली गरेर सामाजिक संजालमा लेखेको देखिन्छ | त्यसरी रिसको भुमरी उठ्नु स्वाभाविक पनि हो किनभने यसको बारेमा कोहि पनि बोलेको छैन | कसैले जस्तो संचार, स्कुल, विश्व बिद्यालय कोहि कोहि केहि बोल्दैनन |

बास्तबमा नेपालको संबिधान अनुसार हामीले अभ्यास गरिरहेको महिनावारी विभेद सामाजिक अपराध हो | संविधानमा उल्लेख गरिएका दशवटा मौलिक अधिकारको हनन हो | संविधानको धारा १६ मा सम्मंपुर्बक जिउन पाउने अधिकार भनेको छ | झन्डै ४० वटा भन्दा बढी बार्नुपर्ने कुराहरु (भान्सामा जान नपाउने, दुध हरियो सागसब्जी, फलफुल खान नपाउने, अमिलो खानेकुरा खान नपाउनु, कुनै पनि पुरुषलाई छुन नपाउने, कुनै पनि सास्कृतिक क्रियाकलापमा जान नपाउने, सधै सुतेको ठाउमा सुत्न नपाउने, सधै लगाएको लुगा लगाउन नपाउने, सधै गरेको काम गर्न नपाउने, लुगाहरु धुँदा पनि छुटै धुनुपर्ने, छुटै सुकाउनु पर्ने आदि)  बारेर कुनै पनि केटि वा महिला सम्मानपुर्बक  बाचिरहेको हुन्छ ? त्यसैगरी संबिधानमा लेखिएका स्वतन्त्रतापुर्बक बाच्न पाउने अधिकार, शिक्षाको अधिकार, स्वास्थ्यको अधिकार, खानको अधिकार, छुवाछुत बिरुदको अधिकार, महिलाको हकको अधिकार प्राप्त हुन् सक्छ |

यिनै बारिरहेका अभ्यासहरुलाई नेपालको घरेलु हिंसा कसुर एन २०६६ को अनुसार वा सयुक्त रास्ट्र संघको लैंगिक हिंसाको परिभाषा अनुसार पनि महिनाबारी विभेद हिंसा हो | महिनावारी बार्दै गर्दा  यौंन दुर्ब्यबहार, शारीरिक हिंसा, भाबनात्मक हिंसा र स्रोत र अवसरबाट बन्चित हुने   हिंसाहरु भैरहेका हुन्छन तर कसैले पनि हिंसा भयो भन्दैन | भित्रभित्रै पिल्सिन्छ चामलमा घुन पिसीय झैँ  तर कसैले बोल्दैन |

यो परिबेशमा घर, स्कुल वा कार्यक्षेत्रमा हालीमुहाली गर्ने पुरुष, साधन र स्रोतमा पहुच भएको पुरुष, समस्याको मूल जड पुरुष के सधै यसरि नै मौन बसिरहन सुहाउछ | यहि अबस्थामा न्याय संगत घर वा समाज सम्भब छ ? छैन | बिल्कुलै छैन | सबै पुरुष हिंसा गर्दैनन् | माथिको तथ्यांक नै हेर्ने हो भने १८ % पुरुष हरु हिंसा गर्दैनन् | यो संख्या बढाएर वा उल्टाएर ८१ प्रतिशत असल पुरुष बनाउन सम्भब छैन ? के पुरुष जन्मदै हिंस्रक भएर जन्मेको हो ? हैन ? हाम्रो सामाजिकीकरण, महिनावारीमा मौनताका कारण पुरुष हिंस्रक भएको हो | यदि त्यसो हो भने हामीले यो सोच बदल्न कसलाई कुरिरहेका छौ | २१ औ शताब्दीमा बाचिरहेका हामी, न्यानो सेकेन्डमा बाचिरहेका हामी, संबिधान दक्षिण एसियामा नै राम्रो लैंगिक मैत्री संबिधान भएको हामी | अनि कुरिरहेका कसलाई हो ? केलाई हो ?

यो पृष्ठभूमिमा हरेक घर घरमा, कार्यालयमा नेतृत्वमा बसेको, शक्तिको हालीमुहाली गरिरहेको पुरुषको काधमा आइपुगेको छ घरलाई सुरक्षित र मर्यादित बनाउन | यदि अब पनि पुरुष आफुलाई पहिचान गर्न सक्दैन, सुध्रन चाहदैन, मर्यादित महिनावारीको बहसको नेतृत्व गर्दैन भने सबै हिंसाको जड नै पुरुष हो | समस्याको मूल नै पुरुष हो | सम्पूर्ण पुरुषहरुलाई अवसर छ | सम्पूर्ण पुरुषहरुलाई शुभकामना |

 

 

 

 

 

   



[1] राधा पौडेल लेखक र मर्यादित महिनावारीको अध्यता/अभियन्ता हुन्  |  सम्पर्क  rpaudel456@gmail.com      

 

Ministry of Health and Population, Nepal invited for facilitated the session on Dignified Menstruation in Jansewa Secondary School, Kirtipur...