https://ekantipur.com/koseli/2021/12/11/163919057029989811.html?fbclid=IwAR0EwC5uq91G4NKU4Xiazc7L865emT06k6SS1haJ7uP2yAAO8VZ4XPvAAbM
पितृसत्ता बन्छ चाही कसरी
?
केटाकेटी उमेरमा पाका महिलाहरुसँग,आमाका दौतरीहरुसंग,
आमाहरुसंग साथे जानु वा मेलापात गर्नुका अनेक फाइदा हुने क्या | सबै भन्दा
दीर्घकालीन फाइदा भनेको स्पोंजले पानी वा कुनै झोल सोसेजस्तो एकोहोरो उहाँहरुको
कथा सुनिरहन, बुझिरहन, मनन गरिरहन पाउनु | यसरी नै थाहा पाएको हो मेरी आमाले
रिक्सामा भाई बोकेर घर आएको कथा | भाई | हामीले त्यतिखेर भाई पाउदा अहिलेको संसार
जिते जस्तो भएको थियो | भाईको थाग्ना धुन कति हानथाप हुन्थ्यो | वल्तिरपल्तिर
हिडदा पनि बच्चाका नाकै भएपनि टिप्न बिर्सेको घिरौला जत्रै हुन्थ्यो | कसैले सोधोस
कि नसोधोस, के के बहाना बनाएर भाइको कुरा सुनाउने अनि छाती गर्बले चौडा भएको अनुभूति
हुन्थ्यो | खाने, लाउने अनि खान सक्ने नसक्ने सबै सबै कुरा भाइका लागि संचित गर्न हामीले
मात्र हैन आमा बाले पनि थाल्नु भयो | हत्तपत्त हात माथि नपार्ने छिमेकीले पनि
भाइलाई चखाउन केहि केहि दिन थाले | पहिले पहिले नआउने वा नसुनेका/नचिनेका नातागोता
पनि भाईको मुख हेर्न भनेर आउन थाले | छोरी छोरी लर्कन लगाएर हिड्छे भनेर आमालाई गाली
गर्नेहरु, आमाको कुरा काट्नेहरु पनि नातापाता लाएर आउन थाले | भाई पुर्णिमाको
रोशनी लिएर आयो |मखमली फुल फुल्न थाल्यो |घर, गाउँ सबै भाईमय भयो | भाईमय ...|
भाइ भन्दा पहिले जन्मिएका हामी पाँच जना छोरी
कोहि एक्लै, कोहि मकै बारीमा, कोहि गोठमा त कोहि कता जन्मियौ तर भाई अस्पतालमा |त्यसमा
पनि झन्डै ४० बर्ष अघि | न अस्पतालमा सुत्केरी हुन् जाउ भन्थे न गए बापत भत्ता नै
दिन्थे | न मेरी आमालाई दमकी दिर्घ रोगी महिलाले धेरै बच्चा पाउदा खतरा हुन्छ भन्ने थाहा नै थियो न बा आमा
सल्लाह गरेर नै गएको हो | फेरी पनि अर्थात्
छैटौ सन्तान पनि छोरी भयो भने अस्पतालमा नै छोडेर भाग्छु भन्ने कठोर निर्णयका साथ
अस्पताल गएकि थिईन मेरी आमा | छोरी छोरी पाउँदा यो समाजले थोपरेको मानसिक, आर्थिक,
सामाजिक राजनीतिक, तनाब, दबाब, चोट, अपहेलना यति थियो कि आमा धान्न नसक्ने
अबस्थामा पुगेको हुनुपर्छ | अनि हामीले पनि पाएका थियौ नयाँ नाम अपुतालीको खलक |धन्न
म सिकिस्त बिरामी परेर अस्पतालमा बस्दा आमाले सिकेको अक्कल थियो त्यो | अनि बाचा
गरेकी थिइन् आफ्नो मुटुको टुक्रालाई तिलान्जली दिने | धन्न, त्यतिखेर आजभोली जस्तो
भिडियो एक्सरे गर्ने वा अन्य प्रबिधि आइसककेको रहेनछ | आएको भए हामी चार छोरीहरु
जन्मिने सम्भावना हुदैनथ्यो पक्कै पनि |
त्यसो त छोराहरु जन्मदा नै छोरीहरु भन्दा धेरै
जन्मन्छन | प्राकृतिक रुपमा नै सयवटा छोरीहरु जन्मेका छन् भने छोराहरु १०५ जना
जन्मन्छन भन्ने मान्यता सन् १६६२ बाट स्थापित हो | तर मेरो जस्तै छोराहरुलाई धेरै
मान्यता दिने वा छोराहरुको चाहना राख्ने धेरै भएकोले छोराहरुको संख्या अस्वाभाविक
किसिमले धेरै देखिएको दृस्टान्त खोज्न टाढा जानुपर्दैन | बिसेषगरि सन् १९८० वाट जब
मेशिनले गर्भमा नै लिंग पहिचान गर्न थाल्यो त्यतिबेला देखि लुकिछिपी भ्रूणहत्या गर्ने
अभ्यासको थालनी भयो | त्यसका लागि नेपाल अपबादमा पर्न नै कहाँ सक्छ र ? सन् २०१५ -२०१७
मा गरिएको एक अध्ययनले छोरीहरुको संख्या छोराहरुको संख्यामा धेरै नै अन्तर वा १२१ देखाएर थप खतराको संकेत
दिइसकेको छ | पुर्बी, दक्षिण एसिया, मध्य
एसिया, उत्तरी अफ्रीकामा छोराहरुको संख्या धेरै हुने वा छोराहरुलाई मान्यता दिने अभ्यास
अध्यबधि नै छ | बिकसित देशहरुमा झट्ट
हेर्दा छोराछोरी एकै जस्तो देखिए पनि, सामाजिकीकरण समान वा छोरी छोरी हुँदा पनि खेद
नमान्ने देखिएता पनि सारमा छोरीहरु/किशोरीहरु/महिलाहरु माथि परिवार/राज्यले विभेद
गरिरहेको हुन्छ | उदाहरणको लागि सामान कामको सामान ज्याला छैन, पुरुष भन्दा धेरै महिलाहरु
घर, बाटो, स्कुल, वा कुनै सार्बजनिक स्थानमा साथी, आफनै श्रीमान वा अन्य कुनै
पुरुषबाट हिंसामा परेका हुन्छन | यस्तो किन भैरहेको होला ?
लैंगिकतामा आधारित हिंसा न्युकिकरणका नाममा आज संसारभर
नै बिभिन्न कामहरु भएका छन् | तर सोचे जस्तो नतिजा किन हात लागेको छैन | सबैतिर विषाक्त
पुरुषत्व विकास भयो, घरमा छोराहरुलाई शक्तिशाली/राजा बनाएर हुर्काइयो भनिन्छ |
परिणाम पनि त्यस्तै देखिन्छ जस्तो घरमा ९३ प्रतिशत हिंसाका घटना हुन्छ भन्छ जहाँ
८२ प्रतिशत घरका पुरुष सदस्यले हिंसा गरेका हुन्छन (राष्ट्रिय महिला आयोग,२०२०)|
चाहे अनुसन्धान गर्दा होस् वा कार्यक्रम वा
नीतिलाई बिस्लेषण गर्दा होस् सबैले/सबैतिरबाट पितृसत्ता वा पितृसत्तात्मक सोच वा
सामाजिक संरचनालाई लगेर थोपरेको देखिन्छ | घरलाई नै नर्क बनाउने, दाई/भाई/बाउलाई पीडक
बनाउने कुन चाही त्यस्तो तत्व छ जहाँ अनबरत त्यो पितृसत्ता मजबुत भैरहन्छ वा
शक्तिशाली बनेर शक्तिको दुरुपयोग भैरहन्छ | महिलाहरुलाई शक्तिविहीन, निरिह, तल्लो
दर्जामा दर्ज गरिरहन कुन अदृस्य शक्तिले काम गरेको छ ? मैले मेरी आमा हुन् भनेर जान्ने बुझ्ने भएर करीब
२८ बर्ष भोग गर्दैगर्दा उहाँ र उहाँका साथीहरुलाई `छोरी मरी गालै टरी’ भन्ने उखान बारम्बार
प्रयोग गर्न के कुराले बाध्य/उत्प्रेरित पार्यो/गर्यो र त्यो अहिले पनि किन
निरन्तर छ ?
माथि उल्लेख गरिएको परिवेश केवल मेरो व्यक्तिगत
कथा वा मेरो गाउको वा नेपालको कथा होईन | मात्र ४० बर्ष अघिको कथा होइन | यो कथा मानब सभ्यतासंग संगै बिकसित भएर आयो र अहिलेसम्म
अपबादलाई छोडेर उतिक्कै सशक्त, जटिल, र बहुआयामिक रुपमा जकडिएर हामीसंग छ |
सोझो ढंगले बुझ्दा महिलाहरुले बच्चा जन्माए, परिस्थिती
अनुसार बच्चाको स्याहार सुसार गर्दा उनीहरु कहिले कमजोर ठहराइए/ठहरिए | पाठेघरसंग
राजनीति साधियो भनियो र धेरै कामहरु भए पनि | त्यसैले त सन् १९९४ देखि यौन तथा
प्रजनन स्वास्थ्यमा बिशेष गरेर कामहरु हुन् थाले | पाठेघर सग्लग्न भएको केहि अयबयहरु
जस्तो सुरक्षित मातृत्वमा मारेको फड्को नजर अन्दाज गर्न मिल्दैन | तर पनि सोचे
जस्तो नतिजा अझै हात लागेको छैन |
सुरक्षित मातृत्व कै कुरा गर्दा पनि किन अधिकाम्स
महिलाहरु कहिले बिहे गर्ने, कहिले बच्चा पाउने, कतिवटा बच्चा पाउने, कहिले कहिले
बच्चा पाउने जस्ता निर्णय आफैले गर्न सक्दैनन् ? यसको जबाफ आउछ पितृसत्ता |
छोरीहरुलाई कलेज पठाउनुपर्छ, छोरीहरुलाई सम्पतिमा समान अधिकार दिनुपर्छ,
महिलाहरुलाई राजनीतिमा समान हैसियत दिनुपर्छ भन्ने छलफल गर्ने हो भने अधिकाम्सले
कि भुइँ हेर्छन कि मुखामुख गर्छन र मौनतामा
जबाफ दिन्छन कसरी ? महिलाहरु ? सम्भब छ र ? घर, छोराछोरी, सवारीसाधनमा पहुच, रातबेरातको
काम आदि आदि बहानाबाजी हुन्छ, परोक्ष अपरोक्ष रुपमा महिलालाई कमजोर, असक्षम स्थापित
गरिन्छ | यी सबै सन्दर्भमा फेरी पनि लगेर पितृसत्तालाई लगेर जिम्मा लगाइन्छ | यो
जटिल, अदृस्य पितृसत्ताले हावा सरी सबैको
मन मस्तिष्कमा अत्याबश्यक प्रणाली भएर बसेको छ भने अर्कोतिर सबैलाई पितृसत्ताले हो के गर्ने, यस्तै
हो भनेर थकाई मार्ने वा जस लिने अबस्था पनि देखिएको छ | यो पद्दति वा अभ्यास
नेपालमा मात्र नभई संसारभर नै यस्तै छ मात्रै फरक धेरै र थोरै हो |
त्यसैगरी उस्तै सस्कृतिको पनि विकास भएको छ जस्तो
महिलाको सुरक्षा पनि पुरुषले गर्नु पर्ने, महिलाले श्रीमानबाट टिका थाप्नुपर्ने | श्रीमान वा छोराको मनपर्ने खानेकुरा
पाक्नुपर्छ | श्रीमानको मृत्यु भएपछी रातो केहि लगाउन हुँदैन | मृत्यु संस्कारमा
पनि श्रीमान मरेपछि मात्र महिलाहरुको
संगसंगै मिसाएर मात्र श्राद्ध (सोर श्राद) गर्नुपर्छ वा श्रीमान जीवित हुँदा गर्नु हुँदैन | यी उदाहरणहरु
सियोको टुप्पो जति पनि छैनन जहाँ महिलाहरुलाइ समान हैसियतका मानवका रुपमा लिइएको
छैन | यो सोचले महिलाहरुलाई नै समस्या परेको छ भन्न महिलाहरु नै तयार छैनन् | कोहि
कोहि भएका पनि एक सन्दर्भमा हो भने पनि अर्को सन्दर्भमा हैन भन्न पुग्छन भने
अर्कोतिर पुरुषहरुले पितृसत्ताको अहंकारले आफुले भोगेको अप्ठेरो, विभेद, हिंसा स्वीकार्न
तयार छैनन् | उनीहरुलाई यो पितृसत्ता इज्जत, अहंकार अलंकार वा अमुल्य लाग्छन | एक
ठाउमा प्रतिबदता जनाएको मसि सुक्न नपाउदै अर्को ठाउमा अपबाद बाहेक विभेद वा हिंसा
गर्न पुग्छन भलै त्यो ठट्टा गर्ने नै किन
नहोस |
यी सबै कुराहरुको पछाडी, हामी सबैले बिर्सिएको
चुरो कुरा भनेको महिनावारीसंग जोडिएको विभेद हो | चिम्पान्जिको पालादेखि महिनावारी आजसम्म एक अनिबार्य जैविक प्रक्रियाका
रुपमा अस्तित्वमा छ र यसले नै यो विश्वलाई चलायमान बनाएको छ | तर हामीले चाहे
बिकसित होस् विकाशील देश महिनावारीको बारेमा खासमा कुरा गरेनौ | तर पाठेघर र
अन्डाशय लिएर जन्मिएको व्यक्ति उमेर पुगेपछि र महिनावारी नसुकुन्जेल महिनामा एकपटक
होला तर समाजमा महिलाहरु महिनावारी भैरहने कुराले महिलाहरुको हैसियत स्मरण
गरिरहन्छ | यसरी समरण गराउदा महिनावारीको रगत अशुद्ध, फोहोर, कमजोर, शक्तिविहीन जस्ता
बिम्बहरू बोकेर महिलाहरुको दोस्रो दर्जामा स्थापित गरिरहेको हुन्छ | महिलाको
पर्यायवाची महिनावारी जस्तो सबाललाई खुलेर कुरा नगर्दा नगर्दै हुने, नहुने सोच, ब्यबहारहरु
अभ्यासमा आए | धर्म बिशेष गरेर हिन्दु, बौद्ध, इस्लाम, क्रिस्चियनमा महिनावारीलाई
परोक्ष, अपरोक्ष रुपमा अशुद्ध र महिलाको नीजी मामलामा हेरियो |जसको प्रभाब आजसम्म सस्कृति,
परम्पराका रुपमा रहिरहे | परिस्थिती र अज्ञानताका कारण आएका अभ्यासलाई शिक्षा,
आर्थिक अवस्था र प्रबिधिको आगमन संगै परिमार्जनहरु देखिए तर यो संग जोडिएको,
अन्तर्निहित रुपमा रहेको सबाल `शक्ति’ भने परिमार्जन भएन | बाँदरे युगबाट आजसम्म
आइपुगेको कुरा स्वीकार्ने यो समाज महिनावारी `प्राकृतिक’, `शुद्द’ र `पवित्र’ हो
भन्ने स्वीकार्न सक्दैन | आफ्नो आधिपत्य गुम्छ भनेर तर्सिरहन्छ र बहानाबाजी गर्दै
महिनावारी विभेद चुस्तदुरुस्त राख्न चाहन्छ | अझै सजिलोसंग भन्ने हो भने बिकसित
मुलुकमा पनि महिनावारीसंग जोडिएको विभेद (निषेध, दुर्ब्यबहार, लाज, बार्नुपर्ने अभ्यास,
सोच) यसले शक्ति र पितृसत्ता निर्माणमा खेलेको भूमिकाबारे जोडिएन | शक्ति र
पितृसत्ताले आम मानसमा डर पैदा गरेको कुरा खोजिएन | त्यहि डरका कारण समाजमा मौनता,
अस्वीकारोक्ति, अज्ञानता हुँदै सस्कृति, धर्मको आड लिएर समाजमा अनबरत रुपमा असमान
शक्तिको निर्माण भैरहेको कुरा खोजि गरिएन | सन् करीब ७३ बर्षदेखी कहिले बालबालिका,
कहिले महिला, कहिले यौन अल्पसंख्यक, कहिले सामाजिक आर्थिक त कहिले प्रकोप/महामारीका
नाममा थुप्रै अन्तरास्ट्रिय र राष्ट्रिय मानब अधिकारका मापदण्डहरु तयार भए | ती
सबैले पितृसत्तालाई दोषी देखे तर पितृसत्ता बन्छ चाही कसरी भन्ने बारेमा बिर्सिए |
बच्चा पाउने प्रकिर्या भन्दा पहिले हुने कुरा बिर्सिए |अर्थात् महिनावारीका बारेमा
कुरा गर्न लजाए | आफैलाई उधिनेर आफुले अभ्यास गरिरहेको महिनावारी विभेदको बिस्कुन
सुकाउन डराए/लजाए |
देश,काल,परिस्थिती अनुसार महिनावारी अभ्यास फरक
फरक भए तापनि महिनावारी विभेद भने साझा भएको तथ्य अनुसन्धानहरुले देखाई सकेका छन् |
पक्कै पनि नाम, स्वरूप, मात्रा, गम्भीरता फरक छन् एउटा साइज सबैलाई नमिल्ने भए झैँ
फरक रणनीति आबश्यक पर्छन तर अन्तर्निहित कारणलाई नछोइकन अबको समानता र न्यायको
बाटो रुपान्तरण हुने छैन | नेपालकै परिवेशमा हेर्ने हो लैगिक मैत्री, मानब अधिकार
मैत्री संबिधान छ, कानुन छन्, आंशिक नै भए पनि संरचना छन्/बन्ने क्रममा छन् तर
समस्या अपवादमा बाहेक उस्तै छ | घर डरलाग्दो छ | हुनत समाज गतिशील छ, विभेद र
हिंसाका प्रकृति बदलीरहन्छन / बदलिएका छन् तर जे जस्तो, विभेद र हिंसा भए पनि
शक्ति र पितृसत्ता मूल जड हुन् जसलाई महिनावारी विभेदले निर्माण मात्र हैन मलजल गर्दै,
हराभरा बनाईरहेको छ | साच्चिकै लैगिक समानता, र न्यायपूर्ण समाजको ध्येय राख्ने हो, आमाहरुले छोरीहरुलाई निसन्देह जन्माउने दिन
ल्याउने हो, भने महिनावारी विभेदलाई
सम्बोधन गर्न `मर्यादित महिनावारी’ अर्जुनदृस्टी झैँ सबैभन्दा अगाडी र
केन्द्रमा राखेर नीतिगत काम गर्न ढिलो भैसकेको
छ |