Monday, January 1, 2024

Menstrual Leave : A form of Menstrual Discrimination imposed by state

 

महिनावारी बिदा: राज्यले गरेको महिनावारी विभेद

लुम्बिनी प्रदेश सभा सचिवालयले निजामतीले पाउने बिदा अन्तर्गत `महिनावारी बिदा’ घोषणा गरेपछि `महिनावारी बिदा’ राम्रो कि नराम्रो भन्ने बहसले सदियौ देखि लाज मानिएको, सार्बजनिक रुपमा बोल्न नसकिएको  `महिनावारी’ शब्दले सार्बजनिक वृतमा स्थान प्राप्त गरेको छ | तर  `महिनावारी बिदा’ ले `महिनावारी विभेद’लाई झन् बढावा गरेको छ, मलजल गरेको छ | अझ भनौ महिनावारी विभेदलाई राज्यका तर्फबाट सस्थागत गरेको छ | यसो भन्दै गर्दा महिनावारी बिदा चाहिन्छ भन्ने वा महिनावारीका समयमा गाह्रो हुने साथीहरुलाई चित्त दुख्नु, रिस उठ्नु स्वाभाविक नै हो | म बिशेष गरेर महिनावारी हुदै तथा  महिनावारी सुक्दै गर्दा र सुकिसकेपछी गम्भीर समस्या भोग्नेहरू प्रति समानुभुती राख्दै उहाहरु लगायत समष्टिमा `महिनावारी बिदा’  किन र कसरी विभेद हो भन्ने कुरा उल्लेख गर्ने अनुमति चाहन्छु |

सबै भन्दा पहिले हामीले खोजेको के हो ? हाम्रो संविधानले लैगिक समानताका सबालमा के भन्छ ? नेपालले पक्ष राष्ट्र भएर हस्ताक्षर गरेका झन्डै दर्जन भन्दा बढी अन्तर्राष्ट्रिय मानब अधिकार दस्ताबेजको औचित्य के हो ? साझा उतर हो –लैगिक समानता | त्यसो हो भने महिनावारी बिभेदले लैगिक समानता प्राप्त गर्न सहजीकरण गर्छ त ? गर्दैन |

अनुसन्धान अनुसार करीब ५ % महिनावारी हुने व्यक्तिलाई महिनावारी तथा रजनोबृति हुँदा गम्भीर खालका समस्याहरु देखापर्छन जस्तो इन्डोमेट्रोसिस, धेरै रगत बग्ने, उदासिनता, फिब्रोइड, पीसीओस आदि | यी समस्याहरु केवल महिनावारी गराउने हर्मोनका कारण देखा परेका होइनन | व्यक्तिमा पहिले देखि नै यस्ता रोग छ भने महिनावारी हुदै तथा सुक्दै गर्दा यी समस्याहरु गम्भीर रुपमा देखिन्छन | महिनावारी हुनुभन्दा हप्ता पहिले देखिएर महिनावारी भएपछी हप्ता भन्दा धेरै रहन्छन | त्यस्तै रजनोबृतिका समयमा पनि यी रोगहरुको असर फरक फरक समय र अबस्थामा देखा पर्दछन  | यसरी समस्या भएकाहरुलाई उच्चस्तरीय जाच पड्ताल र लामो समय उपचार गर्नुपर्ने हुन्छ | महिनावारी बिदा लिएर घरमा बस्दैमा यी समस्या समाधान हुदैनन् | त्यस्ता समस्याको लागि राज्यले पहिचान गरि उचित उपचार र ब्यबस्थापन गर्न फरक नीति अबलम्बन गर्नुपर्दछ जुन सुरक्षित मातृत्व तथा प्रजनन एन २०१८, मर्यादित काम वा कार्यक्षेत्रमा हुने यौन दुर्ब्यबहार बिरुदको एन २०१५ र  मर्यादित महिनावारी नीति २०७४ ले  कम्तिमा पनि सम्बोधन गर्नुपर्छ | यस्ता गम्भीर महिनावारी स्वास्थ्य समस्यालाई `ए सबै भएको महिनावारी त हो, नाटक धेरै भयो’ भनेर राज्यले नजरअन्दाज गर्न मिल्दैन | एक जना मात्रै भए पनि त्यो गम्भीर मानब अधिकारको हनन हुनेछ | जसरी करिब ५ % आमाहरुले बच्चा जन्माउनको लागि अप्रेशन नै गर्नुपर्छ र सो का लागि पालिका पालिकामा पहिचान र प्रेषण गरेर जिल्ला जिल्लामा अप्रेशन गर्न सकिने अस्पताल बनाइएको हुन्छ |

करिब ८५ जना महिनावारी हुनेहरुलाई  महिनावारीका सामान्य लक्षण थाहा हुन्छ, तर महिनावारी भएको केहि घन्टामा हराएर जान्छ तर यस्ता सामान्य अवस्थालाई पनि महिनावारी भनेको `कमजोर अबस्था हो , गाह्रो हुन्छ भन्ने भास्य निर्माण गरेर बिद्यालय , र काममा नगएका घटना नेपालमा मात्र हैन अन्य देशमा पनि छ | महिनावारी ३ लाख १५ हजार बर्षदेखी यो पृथिबीमा अस्तित्वमा भएता पनि यसको बारेमा बृहतरुपमा बिशेष गरेर यो संग जोडिएको सोच, अभ्यासका बारेमा छलफल नगरेकोले यस्तो भएको हो |  यसर्थ महिनावारी बिदा भित्र पीप जमेको घाउलाई बाहिर सफा पट्टि लगाए जस्तै समस्याग्रस्त अवस्था हो | इतिहासमा क्षम्य नहुने विभेदकारी कदम हो |

यदि तपाइलाई महिनावारी हुँदा रगत धेरै जान्छ त्यसैले बिदा चाहिन्छ भन्ने सोचिरहनु भएको छ भने त्यो पनि गलत हो | किनभने महिनावारी हुँदा कम्तिमा पनि ४०-८० एम एल रगत जानुलाई सामान्य मानिन्छ | यदि यो भन्दा धेरै रगत गएको, धेरै दिन रगत बग्ने वा एक महिना नै दुइ पटक रगत जाने समस्या हो भने तपाइ फेरी ५ % भित्र पर्न सक्नुहुन्छ | तपाइ बिदा लिएर घरमा बसेर समाधान हुदैन | विज्ञको सल्लाह लिनुपर्छ |

महिनावारी हुनु कमजोर हुनु वा रोगी हुनु पनि हैन | महिनावारी, तथा रजनोबृति हुँदा हाम्रो सबै अंगमा सम्बन्धित भए पनि सबैभन्दा धेरै मुटु, मस्तिस्क र हड्डीले राम्रोसंग काम गर्न मद्दत गरिरहेका हुन्छन | माथि उल्लेख गरिएका करिब ५ % बाहेकले आफ्नो काम गर्न सक्छन | त्यसमा अर्को ५ % लाइ केहि घण्टा आराम वा घरेलु उपचारको जरुरत पर्ला |आजको दिनमा पनि किसान महिनावारी हुने व्यक्तिहरु गाह्रो काम जस्तो मल बोक्ने,दाउरा बोक्ने आदि काम गरिरहेका छन् | तसर्थ महिनावारी रोग र कमजोर अबस्था होईन | महिनावारी जैविक प्रक्रिया हो, शक्ति हो र पाठेघर लिएर जन्मिएकाहरुका लागि यो गर्बको बिषय पनि हो |  

यदि तपाइले प्याड वा कट्टु वा टाला वा कुनै महिनावारी सामग्री फेर्न गाह्रो हुन्छ वा महिनावारी ब्यबस्थापन गर्न गाह्रो हुन्छ, लाज लाग्छ त्यसैले महिनावारी  बिदा चाहिन्छ भनेर सोच्नु भएको छ भने पनि गलत सोचीरहनु भएको छ | तपाइको कार्यक्षेत्र मर्यादित महिनावारी मैत्री छैन तपाई मर्यादित महिनावारी मैत्री बनाउन तत्पर हुनु भएको छैन भने त तपाइले महिनावारीका ५ दिन हैन अर्को २५ दिन पनि अमर्यादित, अपमानित कार्यक्षेत्रमा काम गर्न स्वीकार गर्नु भएको छ भन्ने भएनर ? तपाइले तपाइ औपचारिक वा अनौपचारीक कार्यक्षेत्र जहाँ भए पनि मर्यादापुर्बक काम गर्न पाउनु तपाइको संबैधानिक र मानब अधिकार हैन र ? फेरी पनि तपाई समस्याको समाधान खोजिरहनु भएको छैन, हैन र ?

महिनावारी बिदा पाएकोले खुशी भएको टाउको गनी हिड्नु भएको हो भने पनि तपाई फेरी गलत गर्दै त हुनु हुदैन ? महिनावारी भएको समयमा ४ दिन भान्सामा जान नपाउदा आराम गर्न पाएको छु भनेर खुशी हुनु भएजस्तै हो | भान्सामा जान नपाएको कारण भोक, तिर्खा लाग्दा तपाइले पाकेको खाना पानी झिकेर खान पाउनु भएको छैन | यतिखेर मेरो संविधानको सम्मानपुर्बक जिउन पाउने , स्वतन्त्रता पुर्बक जिउन पाउने, समानता पुर्बक जिउन पाउने, खानाको, पानीको, सहभागिताको मौलिक अधिकार हनन भयो, म माथि विभेद भयो भनेर कहाँ गुनासो गर्नु भएको छ र ? संयुक्त रास्ट्र संघको (सन् १९९३) लैगिक हिंसाको परिभाषा अनुसार भावनात्मक, शारीरिक, साधन स्रोतबाट बन्चित हिंसालाई तपाइले कहिल्यै हिंसा देख्नु भयो र ?  अर्थात् महिनावारी विभेद हिंसा हो भनेर तपाइले प्रस्तुत गरिरहेको तथ्यांक वा कुनै प्रहरीले दिएको प्रतिबेदनमा उल्लेख छ र ? छैन | हो हामी महिनावारी विभेदलाई विभेद नै भन्दैनौ किन भने हामी (घर, बिद्यालय, समुदाय, कार्यक्षेत्र, संसद) मौनतामा बाचेका छौ | लाज मानिरहेका छौ | मैले तरकारी मिठो पकाइन त्यसैले श्रीमानले कुटे, त्यो स्वाभाविक हो भन्ने समाज हो | नेपालमा झन्डै ९५ % परिवारले कुनै न कुनै किसिमको महिनावारी विभेदको अभ्यास गर्छ तर विभेद भयो भनेर कुनै उजुरी गर्दैन किन भने सदियौ देखि, सजिलै संस्कार, धर्म, प्रतिष्ठा, डरका कारण स्वीकार्दै आएको छ | त्यसैले खुशी भए भन्ने व्यक्तिहरु प्रति संसय राख्नुस मेरो अनुरोध छ |

संसारभर जस्तै नेपालमा देखिने-नदेखिने, खान हुने कि नहुने, छुन हुने कि नहुने, हिडडुल वा सहभागिता गर्न हुने कि नहुने समुहका दर्जनौ महिनावारी विभेदका अभ्यास छन् जुन काठमाडौँमा पनि छ | यो आफैमा लैगिक हिंसा हो, प्रतिहिंसा हो |  त्यो भन्दा पनि मुख्य कुरा असमान शक्ति सम्बन्ध र पितृसत्ता निमार्ण र सबलीकरण गर्ने कारण हो | यति जटिल, बहुआयामिक र गम्भिर महिनावारी विभेदलाई समुल अन्त्य गर्न तपाइको महिनावारी बिदाले के सहयोग गर्छ ? गर्दैन |     

तपाइको मनमा अझै अबिस्वाश हुनसक्छ – किनभने यो नेपालमा पहिलोपटक कहाँ शुरु गरिएको हो र ? यो त बिकसित मुलुकहरु जस्तो  रसिया (सन् १९२२), जापान (१९४७), स्पेन (२०२३) मा लागु गरिएको छ | हो लागु गरिएको छ | सार्बजनिक खपतका लागि, शक्ति र पहुचको दुरुपयोग गरिएका र असफल अभ्यास हुन् यी | आज म महिनावारी भएर बिदा लिएको छु भन्ने आट छैन किन कि त्यहाँ महिनावारीलाई लाजको रुपमा लिइन्छ, कमजोरीको रुपमा लिइन्छ | जबसम्म असमान शक्ति निर्माण र पितृसत्तालाई धक्का दिदैन तबसम्म यस्ता प्राबधानले फाइदा पुराउदैनन |

नेपालमा आजको दिनमा पनि महिलाहरुको सार्बजनिक वृतमा सहभागिता न्यून छ | बिदा नै लिएर बस्ने व्यवस्थाले अप्रत्यक्षरुपमा महिलाहरु कमजोर, स्थापित गर्छ भने अर्कोतिर बाल मस्तिस्कमा महिलाहरु भनेको कमजोर मानब रहेछन भन्ने बिचारलाई मलजल गर्दै सिंगो लैगिक समानताको बाधक बन्छ महिनावारी बिदा |

साचो अर्थमा लुम्बिनी प्रदेश लैगिक समानताका, समाबेशी प्रजातन्त्र र बिकासका पक्षमा उभिन्छ भने प्रदेश स्तरीय मर्यादित महिनावारी नीति बनाओस | अनुसन्धानमा आधारित भएर वडा वडा, स्कुल स्कुललाई मर्यादित महिनाबारी मैत्री स्कुल बनाओस | प्रदेश सभा नै मर्यादित कार्यक्षेत्र बनाएर विश्वमा नै गौतम बुद्ध जस्तै नाम चम्काओस| शुभकामना |    

 

 

 

 

World Social Forum 2024, Kathmandu- Dignified Menstruation: Decolonized Menstrual Movement and Reimagination of Feminism

 Inaugural Speech, 16 February, World Social Forum Dear Friends,