लोकतन्त्र र महिनावारी विभेद
`पुडो सरेकी छ’ मैले मेरो बाको मुखबाट पहिलो पटक सुनेको महिनावारीलाइ सम्बोधन गर्न प्रयोग भएको शब्द हो | आमाले भने `पन्छिए’ भन्ने शब्द प्रयोग गर्नुहुन्थ्यो | समयचक्रसंगै यसका बिभिन्न नामहरु बिसेषगरी नेपाली भाषामा थाहा पाउदै गईयो जस्तो बाहिर सरेको, पण्डितनि भएको, माइत गएको, महारानी भएको, कमिनी भएको, दमिनी भएको, छुई, छाउ, रजस्वाला, मासिकधर्म, रक्तस्राब, महिनावारी, छाउपडी, छाउ, पड्किएको, फुटेको, फड्केको, कागले ठुगेको, जुकाले टोकेको, बाहुनी भएको आदि | यदि ठाउँ, सम्प्रदाय आदिको आधारमा खोज्दै जाने हो भने यसको सुची लामो हुनेछ | महिलाहरुको योनिबाट प्राकृतिक अनिबार्य प्रक्रियाका रुपमा, निश्चित समय भएपछी आउने शुद्ध रगतलाइ प्रयोग भएका शब्दहरुको आ-आफ्नै सास्कृतिक, भौगोलिक र एतिहासिक परिवेशमा अर्थ र मान्यताहरु भएतापनि साझा कुरा भनेको महिला फोहोरी, अपबित्र, कमजोर हो | अझ गहिरिएर हेर्ने हो भने `शक्तिविहीन’, अबस्था हो | रगत फोहोर हुन्छ नि भन्ने सामान्य तर्क समाजमा देखिएता पनि यो राजनैतिक शक्ति निर्माण गर्ने मुख्य सूचक हो | हाम्रो पहिलो एकाई संसद भान्सामा महिनावारी भएको व्यक्तिको सहभागिता निषेध छ | सहभागिता मात्रै हैन हेर्न, देख्न, पवित्र मानिएका मानिसहरु हिडेको बाटो हिड्न निषेध छ | त्यो निषेध गोरेटो हो भन्ने लाग्छ तर गोरेटो त् हुँदै नै हो गोरेटो जिन्दगीको/ करियरको पनि हो | पुरुष हिडेको हरेक गोरेटो हिड्न बन्देज थियो | बन्देज छ |अप्ठेरो छ | त्यसैले राज्य, नागरिक समाजका सबै संयन्त्र लागेर ती गोरेटाका काँडे तारहरु, उल्झनहरु पन्छाउन लागि परेको छ | यो पहल निरन्तर छ | निरन्तर रहिरहनेछ | यो निरन्तरता सामजिक न्याय तथा सामाजिक रुपान्तरण, बैज्ञानिक, अग्रगमनका पक्षमा, लोकतन्त्रका पक्षमा हुनुपर्छ | हरेक व्यक्ति र संस्था जो लोकतन्त्रमा बिस्वाश गर्छ त्यो उसको दायित्व हो/हुनपर्छ |
गएको चैत्रमा इलामको
यात्रामा थिए | गाउपालिकाका जनप्रतिनिधि, बिद्यार्थी, शिक्षक, अभियानकर्मी,
सर्बसाधारण, धार्मिक गुरु/माता सबैलाई छुट्टाछुट्टै परिबेशमा बार्तालाप गर्दा
उहाहरुको साझा भनाइ थियो – हामीकहा छाउपडी .... छैन | मैले उहाहरुलाई छाउपडी छ कि
छैन भनेर सोधेकी थिइन् | प्रश्न थियो – महिनावारी विभेद छ कि छैन ? उहाहरु मध्य कतिपय
जिल्ला सदरमुकाम वा झापा, केहि काठमाडौँ, केहि दार्जिलिंग पुग्नु भएको व्यक्तिहरु
हुनुहुन्थ्यो | अर्थात् नारायणगढ काटेर पश्चिम जानेहरु पनि हुनुहुन्थेन | हाम्रा
संचार माध्यम, सामाजिक संजालमा आएका चित्रहरु देखेर उहाहरुको सोचको निर्माण भएको
हो भनेर मान्न दुइपटक सोचिरहनु पर्दैन |
अपबादमा बाहेक धेरै फोटो, भिडियो राज्य लगायत अन्य सरोकारवालाहरुलाई खबरदारी गर्न
प्रयोग भएका या राम्रो मनसायका लागि थिए भन्नेमा खोट देख्नु पर्दैन | तर सोचे
जस्तो भएन | बिसेष गरि फोटो, भिडियो, गीतको प्रभाब छिटो, व्यापक र दीर्घकालीन
रुपमा रहन्छ | सन् २०१७ मा मर्यादित महिनावारी निती (मस्यौदा) ल्याएर मर्यादित
महिनावारीमा बिभिन्न क्रियाकलापहरु राज्य स्तरबाट भएका छन् | पश्चिम नेपालकै हकमा भन्ने
हो भने पनि गएको चार बर्षमा कर्णालीमा धेरै पानी बगिसकेको छ | सरकारको अभियान
पूर्व पनि स्थानीय अभियानकर्मी, पत्रकार, जनप्रतिनिधिहरुले स्वतःस्फुर्त रुपमा संरचना भत्काउने, घरमा आएर
बस्ने शुरु गरिसकेका थिए भने तिनै तहको राज्यको निकायको नेतृत्वमा छाउगोठ अन्त्य
गर्दै मर्यादित महिनावारी प्रबधन गर्न पातलो नै भएपनि राज्यको तर्फबाट भएको
प्रयासलाई सहयोग गर्नु हरेक नागरिकको दायित्व हुनेछ |
पक्कै पनि इलाममा मैले
पश्चिम नेपालमा देखेको जस्तो संरचना खोजेको थिइन् नै | मैले तपाइले महिनावारी भएको
समयदेखि कम्तिमा ५ दिन, २४ घण्टा के के गर्नुहुन्छ, के के खानुहुन्छ, के के
छुनुहुन्छ भनिसकेपछिको जबाफले तपाइलाई एकछिन झंनन बनाउँछ भन्ने लाग्छ | मेरो
श्रीमती, मेरो आमा, मेरो बहिनि महिनावारी भएका बेला सुत्ने छुटै कोठा छ | मेरो
घरमा मेरो श्रीमती भुइमा ओछ्यान लगाएर छुटै सुत्नुहुन्छ | मेरो आमाले कम्तिमा पनि
४ दिन खाना पकाउनु हुन्न | महिनावारीका लुगाहरु छुटै धुने, /लुकाएर सुकाइन्छ आदि
आदि | यसरि आउदै गरेको जबाफ पश्चिम नेपालमा महिनावारी हुँदा अभ्यासमा आएका सुची
भन्दा फरक थिएनन | फरक थियो शब्द `पन्छिने’ अनि `गोठ’| गोठ वा संरचना कति बलियो
हुन्छ आम मानिसको विचार बनाउन | इलाम त केवल प्रतिनिधि जिल्ला वा घटना मात्र हो | स्कुलमा
पढाउने बेला पनि पनि यहि गोठको कुरा हुन्छ | नेपालमा मात्रै हैन बिदेशमा बस्ने
नेपालीमा पनि यहि नै छ | आखाले देखेको वा मस्तिस्कमा बसेको गोठ वा किताबको पानाको
गोठ | गोठ गोठ नै हुन्छ | गोठ गाइबस्तुका
लागि गोठ अनि संगै त्यहि अनुपातको फोहोरको
सचित्र |
छाउपडी भन्ने शब्द पश्चिम
नेपालमा सबै ठाउमा प्रयोग हुदैनथ्यो र हुँदैन पनि | सुदूरपश्चिमका केहि जिल्लाहरु जस्तो
आछाम, बाजुरा, बझ्यांग, दार्चुलातिर प्रयोग हुन्छ तर यसको अर्थ र प्रयोग पनि फरक छ
| महिनावारी भएका बेला महिलालाई बस्न बनाइएको गोठ हुन्छ | बैतडी र बझ्यांगको महिनावारी अभ्यास र कारण फरक
छ | कर्णालीका केहि जिल्ला जस्तो जुम्लामा महिनावारीलाई छुइ भनिन्छ | जाडो मौसममा धेरै
नै हिउ पर्ने भएकोले घरको भुइँतलामा छुइ कोठा वा केहि भाग महिनावारीलाई छुटाईएको हुन्छ | दैलेख जुन आछामको छिमेकी गाउ छ
त्यहाँ छाउपडी नै भनिन्छ भने कतै छुइ र कतै पाखा सरेको भनेर भनिन्छ | कतै घर
पिच्छे छुट्टै गोठ वा कोठा वा छुइकुल्ला हुन्छन कतै सामुहिक हुन्छन| धनगढिको
महिनावारी हुँदा बस्ने ठाउँ गर्मि भएर आगनको छेउमा झुल हालेर सुतेको जस्तो
अबस्थामा भेट्न सकिन्छ | यसको प्रकृति कस्तो हुने/रहने भन्ने कुरा आर्थिक, भौगोलिक,
सामाजिक/राजनैतिक अवस्था/चेतनाले प्रभाब परेको देखिन्छ |
विभेदको प्रकृती देखिने/नदेखिने,धेरै/थोरै,
जे जे भए पनि शब्द र संरचना बाहेक अधिकाम्स ठाउको महिनावारीसंग जोडिएको
अन्तर्निहित कारण र छुट्टिने अभ्यास एउतै नै हो | पोखरामा सन् २०१९ मा महानगरपालिका
भित्रका ४ वटा बिद्यालय र अन्य ब्यकिहरुसंग गरिएको ४ वटा अन्तरक्रियाले पोखरा
महिनावारी विभेदको अभ्यास गर्छ तर त्यहाँ छुटै देखिने गोठ छैनन् | उनीहरुले महिनावारी
बारिरहेका छन्, विभेद भैरहेको छ भन्ने महिला वा समाज कसैले पनि महसुस गरेको थिएन |
महिनावारीको रगत अशुद्ध भन्ने सोचले बिभिन्न कुराहरु यसरी बार्न अभ्यस्त बनाएको
हुन्छ कि सबैलाई यो प्राकृतिक वा अनिबार्य जस्तो लाग्छ | त्यसैले सबैले महिनावारी
विभेद वा अमर्यादाको बारेमा कल्पना सम्म पनि गरेको हुँदैन | अझ यो लैगिक हिंसा हो,
मानब अधिकारको हनन हो, यसले पितृसत्ता निर्माण र सामाजिकीकरण गर्छ भनेर सोच्नु र
यसलाई सम्बोधन गर्न खोज्ने कुरा धेरै टाढाको कुरा हो | आज हाम्रो समाज यहि
बिन्दुमा छ |
काठमाडौँ वा पोखरा वा
आछाममा स्वरूप फरक जस्तो एउटा गोठ, कोठा, कुनो, भुइँ खाट, भुइँ तर कारण एकै छ |
अशुद वा फोहोर | अनि परिणाम एकै अमर्यादित
अवस्था | यो सबैको साझा समस्या हो | मानब अधिकारको हनन हो | राजनीतिक सबाल हो |
संबिधानमा उल्लेख गरिएका दश भन्दा बढी मौलिक अधिकारको बिरुद्दमा छ | यसरी नेपालकै
समस्यामा रहेको महिनावारी विभेदलाई सम्बोधन गर्न किन घरि घरि छाउपडीको, गोठको सहायता
लिईन्छ ? महिनावारी बार्ने अभ्यास वा महिनावारी विभेद वा महिनावारी मात्र भनेर
सबैलाई सम्बोधन गर्दा आबाज मात्र हैन मानबता र सामाजिक न्यायको गहिराई पनि बढछ |
छिटो र सजिलोसंग गन्तब्यमा पुग्न सकिन्छ |
हामीले जान्दा जान्दै
धेरै शब्द (आइमाई), अभ्यास वा सस्कृति (सती )लाई इतिहासमा ठेगान लगाएका छौ |
त्यस्तै एकांगी, सिमित भूगोललाई हिनताबोध गराउने विभेदकारी शब्द र अभ्यास पनि पार
लगाउन सकिन्छ भन्नेमा दुइ मत छैन | जसको लागि राज्यका तर्फबाट थोरै/ढिलो नै भएपनि सन्
२०१९ को डिसेम्बर ८ का दिन मर्यादित महिनावारी शुरुवात भएको छ | नेपाल छाउपडीको
देश हैन मर्यादित महिनावारीको देश भन्ने अभियानले देशको सिमाना पार गरिसकेको
अबस्थामा केहि व्यक्ति/ समूह/संस्था संबिधानमा छाउपडीको प्रयोग गरिएको हवाला दिएर प्रचारप्रसारमा
लाग्नु दुखद छ |
संबिधान (२०७२)मा छाउपडी
शब्द लेख्दै गर्दा राज्यले महिनावारी विभेदले संबिधानमा लेखिएका मौलिक अधिकारहरु
हनन भैरहेको छ भन्ने थाहा पाइसकेको थिएन | थाहा पाएको हुँदो हो त संबिधानमा नेपाल
भर नै हुने महिनावारी विभेदलाई समेटेर नया परिभाषा /शब्दको लेखिन्थ्यो होला जस्तो
छाउपडी वा महिनावारी विभेद वा महिनावारी अभ्यास वा कुनै शब्द | त्यसैगरी संबिधान
गतिशील दस्ताबेस्ज हो | यसलाई कार्यन्वयन गर्दैगर्दा असहज वा अबैज्ञानिक लागेका
सबालहरु राज्यले बिभिन्न माध्यमद्वारा अघि बढ्ने बाटो खुला गर्दै जान्छ | छोरीले
अंश पाउने कुरा एकैचोटी संबिधानमा लेखिएको हैन भन्ने कुरा भनिरहन पर्दैन |अथवा छाउपडी
शब्द र अभ्यासमा कुनै वैज्ञानिकता छ भने, जोगाउनुपर्ने सस्कृति हो भनेर केहि
अनुसन्धानले प्रमाणित गर्छन वा राज्यले छाउपडीको पुन ब्याख्या गरेर नेपाल भरको
महिनावारी विभेद छाउपडी हो भन्छ भने सोच्नु वा स्विकार्नु पर्ने हुनसक्ला | तर
अहिलेकै अबस्थामा छाउपडी शब्दको प्रयोग योसंग जोडिएको बिम्बहरूको प्रयोग गरेर
अग्रगमन हुन्छ, समुदायको मुक्ति हुन्छ भनेर सोच्नु नब सामन्तबादको उदय मान्नु
पर्ने हुन्छ | म संग तागत छ त्यसैले मैले सोचे झैँ, सोच र गर |
मैले सात बर्षमा बुझेको
महिनावारी १६ बर्ष हुँदा फड्को मरिसकेको थियो | बिज्ञान साथमा थियो | साथमा थिए परिवार
र केहि साथी| मैले २६ बर्षमा आएर मात्र गोठ वा छाउगोठ/छाउपडी जानेको थिए | तर मेरो
घर (चितवन) मा गोठमा नै गएर बस्ने अभ्यास थियो
अनुभब र अनुसन्धानले चुरोको कुरोको पोयो खोलिदै गयो | चाहे भान्सामा मात्र
नजाने होस् वा गोठमा वा भुइँ खाटमा टेलिभिजनसंगै बसेको होस् त्यो महिनावारी
विभेदको एक हिस्सा हो जसको सांकेतिक र राजनैतिक अर्थ गहिरो छ र संसद्सम्म पुगेको
हुन्छ जुन हामीले अनुभब गरिरहेका छौ | | जानेर नजानेर मैले वा अरु कसैले २०७४ अघि गरिएको
छाउपडीको प्रयोग जति सान्दर्भिक हुन्थ्यो त्यसपछि हुदैन भन्ने लाग्छ | किनभने हामी
माथि उल्लेख गरिएका महिनावारी विभेदको न्यारेशन नै बदल्ने कोर्षमा छौ | संसार पनि
हामीसंग मर्यादित महिनावारीमा केहि सिक्ने प्रयास गरिरहेको देखिन्छ |
पक्कै पनि महिनावारी भएका
बेला बलात्कारमा पर्नु, निस्सासिएर वा सर्पले टोकेर मर्नुपर्ने अबस्थाका लागि जति
नै निन्दा गरे पनि कम हुन्छ | तर यसलाई सोलोड़ोलो गरेर बुझ्न हुँदैन | यस्ता घटना चाहे
चितवन होस् वा पर्सा वा दैलेख (२०७४ मा घटना घटेको आधारमा उदाहरण) मा घटिरहेका
हुन्छन | महिलामा बिध्यमान सामाजिकिकरण कारण सबै आत्म सम्मान/निर्णय गर्ने क्षमता र
प्रतिकुल बाताबरण त छदैछ, महिनावारी भएकीले/भएकालाई छुन नहुने कारणले उपचार प्रक्रियाको निर्णय पनि
ढिलो र झन्झटिलो बन्न जान्छ | महिनावारी भएकी अर्काकी छोरी बुहारी कसले काध थापेर
अस्पताल पुराउछ | अर्कोतिर असजिलो भौगोलिक स्थिति र राज्यको स्वास्थ्य प्रणालीका
कारण मृत्यु बहन गर्न पुग्छन | छोटकरीमा गोठमा बसेर सर्पले टोकर मरेको हैन राज्यले
महिनावारी विभेद र स्वास्थ्य प्रणालीलाई प्राथमिकतामा नपारेकोले मृत्यु भएको हो |
बिगतमा महिनावारी विभेदलाइ बैज्ञानिक ढंगबाट
बिस्लेषण र सम्बोधन गर्न ढिलो सबै तिरबाट भएको नै हो | अझै आफुलाई सभ्य घोषित गरेर
अरुहरुलाई देखाउन, गरीब, अशिक्षित देखाएर वा आफुले अभ्यास गरिरहेको महिनावारी
विभेदलाई नजर अन्दाज गर्दै अरुहरुलाई देखाउन सजिलो माध्यम हो | जहाँ जागिर पाक्छ |
पैसा आउछ | सम्मान पाइन्छ | प्रशंशा पाइन्छ त्यसैले बिभिन्न बहानामा कहिले गीत, कहिले
फिल्म, कहिले पाच तारे होटलमा नाटक, कहिले संबिधान, कहिले समाजसेबी बनेर देखा
परिरहन्छन | एकातिर समाजलाई यसरी मन्त्रमुक्त बनाइएको हुन्छ कि उ आफै त्यो विभेद
स्वीकार्न सक्दैन वा माथि उल्लेख गरिएका महिनावारीका नामहरु समाजमा स्वीकार
भैरहेका हुन्छन | कतिपयलाई बैज्ञानिक लाग्न सक्छन भने कतिपय समाजमा स्वभाविक बनाउन
बिभिन्न तर्कहरु सार्छन | कसैले धर्म भन्नसक्छ, कसैले सस्कृति, कसैले मेरो भूगोलको
परिचय, कसैले शोषण, कसैले के भन्न सक्छ भने अर्कोतिर सदियौदेखि सुनी/गरि आएको कुरा
छोड्न पर्दा डीनायल बन्न पुग्छ | समाज रुपान्तरणको कोर्षमा यस्ता घटना परिघटना अपेक्षित नै हुन् |
तसर्थ सबै मान्यताहरुको
बिचमा छिरेर चिरफार गर्ने भनेको मर्यादा हो | मानब अधिकार हो | एकांगी अबधारानाबाट
बाहिर निस्केर आम मानिसहरुमा दीर्घकालीन रुपमा यसको प्रभाब के हुन्छ, समाज कता जान
खोजिरहेको छ भन्ने कुराको आधारमा समाजमा बिध्यमान रहेका नीति होस् वा अभ्यासहरु परिमार्जन/हटाउदै
लैजानु पर्छ | सामाजिक न्यायमा बिस्वाश गर्ने जो कोहि राज्य वा संबिधानलाइ
आलोचनात्मक चेतले बिस्लेषण गर्दै समाजलाई अग्रगमनको गोरेटोमा प्रोत्साहन गर्नु
पर्छ तब मात्र लोकतन्त्र बलियो हुन्छ | महिनावारिका सबै सांग्लाहरु जिबन चक्रीय
अबधारणामा रहेर यसको राजनीतिक, आर्थिक, सामाजिक,सांस्कृतिक आदि पक्षहरु छिचोल्दै जान सके मात्र लोकतन्त्र शशक्त र दिगो हुन्छ |